रौतहटमा शुक्रवार रातिदेखि र सप्तरीमा शनिवार रातिदेखि निषेधाज्ञा – Nepal Press

रौतहटमा शुक्रवार रातिदेखि र सप्तरीमा शनिवार रातिदेखि निषेधाज्ञा

जनकपुरधाम । कोरोना संक्रमण भयावह बन्दै गएपछि प्रदेश २ को रौतहट र सप्तरीमा पनि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । रौतहटमा वैशाख २४ गते शुक्रवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि र सप्तरीमा २५ गते शनिवार राति १२ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने दुवै जिल्ला स्तरीय काेभिड-१९ स‌कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेका हुन् ।

कोरोना संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रण गर्न बाध्य भएर निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले निषेधाज्ञाबारे खुल्ने व्यवसाय-नखुल्ने सेवा लगायतका विषयबारे सूचना जारी गरेको र अवज्ञा गर्नेलाई कानून बमोजिम कारबाही हुने बताए ।

उनका अनुसार औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प, उद्योग कलकारखाना, सैलुन लगायतका व्यवसायहरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिनेछ । होटल तथा रेष्टुरेन्ट, व्यूटी पार्लर, कपडा पसल, जिमखाना, शैक्षिक संस्था, ट्यूशन सेन्टर र हाटबजारमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

यस्तै बिना अत्यावश्यक कामको हिड्डुलमा पूर्ण प्रतिबन्ध लगाइएको छ । सार्वजनिक र निजी सवारी साधन पनि चल्ने छैन । वैवाहिक कार्यक्रममा दुलहा–दुलही सवार सवारी बढीमा १५ जना जन्तीलाई छुट दिने निर्णय भएको प्रजिअ यादवको भनाई छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सरकारी चिकित्सकलाई नीजि क्लिनिक बन्द गर्न आग्रह गरिएकाे जनाएका छन् । निजी क्लिनिक सञ्चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्चालन गर्न बैठकले निर्णय गरेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर