चितवनमा बढ्दो संक्रमणबारे के भन्छ स्वास्थ्य कार्यालय ? – Nepal Press

चितवनमा बढ्दो संक्रमणबारे के भन्छ स्वास्थ्य कार्यालय ?

चितवन । जिल्लामा कोरोना संक्रमण भएका अधिकांशले आफूलाई भोजभतेरबाट संक्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु संक्रमित भेटिएका हुन् ।

गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजा-आजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी संक्रमित भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी गीतागञ्जली ढकालका अनुसार कार्यालयमा दुई कर्मचारीले यही वैशाख १६ गतेबाट संक्रमितलाई फोन गरिरहेका छन् । दैनिक ५० जना हाराहारीलाई फोन गर्दा अधिकांशले विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रमबाट फर्किएपछि आफू संक्रमित भएको बताएको जानकारी दिए । उनले भने, ‘गत वर्ष धेरैले अस्पताल आएर फर्किएपछि संक्रमण भएको भन्थे, यस वर्ष भोजभतेरमा गएपछि संक्रमण भएको भनेका छन् ।’ टेलिफोनबाट सर्वेक्षण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क भने आउन नसकेको उनको भनाइ थियो ।

वैशाखयता मात्रै जिल्लामा १ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । पछिल्ला दिनमा दैनिक २०० भन्दा बढी संक्रमित देखिएका छन् । महानगरपालिकाका कोभिड-१९ सम्पर्क व्यक्ति केशव भट्टले महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा पनि अधिकांशले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि संक्रमणमा परेको बताएको जानकारी दिए ।

कतिपयले जिल्ला बाहिर गएर आएपछि संक्रमणमा परेको पनि जनाएको उनले बताए । भट्टले भने, ‘अधिकांश भोजभतेरबाटै संक्रमण फैलिएको पाइयो ।’ महानगरपालिकाले पाँच समूह बनाएर वडा छुट्याएर संक्रमितसँग सम्पर्क गरिरहेको छ । दुई दिनदेखि महानगरले सम्पर्क कार्य थालेको हो ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले विवाह, व्रतबन्ध, पूजापाठसँगै दलका कार्यक्रम पनि सङ्क्रमण समुदायमा पुर्‍याउनमा जिम्मेवार रहेको देखिएको बताए । उनका अनुसार सरकारले गरेको निर्देशनलाई अवज्ञा गरेकै कारण यो अवस्था आएको हो । विवाहको लगन अघि सत्तापक्ष र विपक्षी सबै दलले आआफ्नो शक्ति प्रदर्शन गरेर देशैभर सभासम्मेलन गरेका थिए । ती कार्यक्रम पनि समुदायमा कोरोना पुर्‍याउन सहयोगी बनेको फिजिसियन समेत रहेका डा. अधिकारीको बुझाइ छ । आम सर्वसाधारणले कोरोनालाई हल्का रूपमा लिँदा यो अवस्था सिर्जना भएको उनले बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी गएको फागुनदेखि नै सन्देश प्रवाह गरेर भोजभतेर, सभासम्मेलनमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको भए पनि अटेर गरिएका कारण संक्रमण धेरै फैलिएको बताउछन् । उनले भने, ‘पच्चिस जनालाई भन्दा मानिसले विभिन्न अर्थमा व्याख्या गरे, अहिले यो अवस्था सिर्जना भयो ।’ विवाहमा २५ जनाभन्दा बेहुलापट्टीका २५ र बेहुलीपट्टीका २५ भन्दै फरक-फरक व्याख्या गरेर सरकारले गरेको निर्देशन अधिकांशले अटेर गरेका थिए । गत वर्ष पनि यस्ता कार्य हुन नसकेकाले कोरोना सक्किइहाल्यो नि भन्दै धेरैले मन फुकाएर आफन्त डाक्ने गरेको तिवारीको भनाइ छ ।

पछिल्लो समयमा विगतकै तुलनामा विवाह, व्रतबन्ध धुमधामका साथ हुने गरेका थिए । यस्ता कार्यक्रममा विभिन्न जिल्ला र विदेशबाट आउनेसमेत सहभागी हुने गर्दथे । कतिपय भारतबाट समेत यस्ता कार्यक्रममा सहभागी हुन आएका थिए । जुन आज कोरोना फैलाउने माध्यम बनेको विज्ञहरु बताउँछन् । सङ्क्रमण भयावह हुँदासमेत हिजोआज पनि लुकीछिपी यस्ता कार्यक्रम हुँदै आएका छन् । प्रशासनले घरमा परिवार मात्रै बसेर यस्ता कार्य गर्न भने पनि अटेर गरेर आफन्त बोलाउँदै कार्यक्रम गरिरहेको पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर