हेटौँडा-काठमाडौं सुरुङमार्ग प्राथमिकताका साथ अघि बढेको छ: मुख्यमन्त्री पौडेल – Nepal Press

हेटौँडा-काठमाडौं सुरुङमार्ग प्राथमिकताका साथ अघि बढेको छ: मुख्यमन्त्री पौडेल

काठमाडौं । हेटौँडा र काठमाडौंलाई जोड्न सुरुङमार्गको निर्माणलाई प्राथमिकता दिइएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।

सुरुङमार्ग आयोजना सम्बन्धि छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले सुरुङमार्गले दुई जिल्लालाई सुरुङमार्फत जोड्नुको साथै देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने,‘नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको छ ।’
उनका अनुसार मार्ग कुन ढाँचामा निर्माण गरिने भन्ने प्राविधिक तयारी सकिएको छ ।

हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौँडा–भीमफेदी सडक र सिस्नेरी काठमाडौंलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए ।

सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौंको झञ्झटिलो र घण्टौंको यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौंसम्मको यात्रा अवधि तथा आर्थिक बचतसमेत गराउने उनले विश्वास व्यक्त गरे।

सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रदेश सरकारको परियोजनामध्य सबैभन्दा महत्वपूर्ण परियोजनाको रूपमा रहेको सुरुङमार्ग निर्माण पूर्वको सम्पूर्ण काम लगभग सकिएको र अब १ महिनाभित्र बोलपत्र प्रक्रियामा जाने भौतिक पूवाधार विकास मन्त्रालयका सचिव बरालले जानकारी दिए ।

भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौं पुर्याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना रहेको जनाइएको छ ।

७२ किलोमिटरमा अमलेखगञ्ज काठमाडौं पाइपलाइन विस्तार गर्न सकिने र पाइपलाइनले पनि देशको ठूलो ढुवानी खर्च बचत गर्ने उनको भनाइ छ ।

सन्जिव बरालका अनुसार सो मार्गको सञ्चालनपछि देशको इन्धन र स्पेयरपाट्र्समार्फत खर्च हुने वार्षिक एक अर्बभन्दा बढी रकम बचत हुने, समय र ऊर्जा यात्राको अवधिसमेत बचत हुने तथा सडक मर्मत लागतमा कटौती हुने, राजधानी काठमाडौंको जनघनत्व विस्तार भइ सन्तुलन कायम हुने, काठमाडौंका उद्योगधन्दामा कम ढुवानीमा कच्चा पदार्थ पुर्याउन सकिने हुँदा उत्पादन लागत कम हुनेलगायतका फाइदा रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर