संक्रमित सांसदले २७ गते विश्वासको मत दिन पाउलान् ? – Nepal Press

संक्रमित सांसदले २७ गते विश्वासको मत दिन पाउलान् ?

सचिवालय के भन्छ ?

काठमाडौं । वैशाख २७ गते तय गरिएको संसद बैठकको संघारमा पीसीआर परीक्षण गरिएकामध्ये चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।

कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ ।

उक्त दिन संक्रमितले मतदानमा भाग लिन पाउने या नपाउने भन्ने विषय अझैं टुंगिसेको छैन् । यसबारे अहिले छलफल चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुखले यसबारे निर्णय लिने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

‘हामी त्यही छलफल गर्दै छौं,’ उनले नेपाल प्रेससँग भने, ‘अहिले कुनै निर्णय भइसकेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठकले केही सल्लाह दिन्छ होला । त्यसपछि सभामुखले निर्णय लिनु होला ।’

कार्यव्यवस्था परामर्श समितिको बैठक भने अझैं निर्धारण भैसकेको छैन । २७ गते बैठक बस्न लागेकाले त्यसअघि कार्यव्यवस्था समितिको बैठक बोलाउने तयारी सभामुखको छ ।

गण्डकी प्रदेशमा भने संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने निर्णय भएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे निर्णय लिन बस्ने प्रदेशसभा बैठकमा संक्रमित सांसदलाई बोल्न नदिने तर मतदानमा भाग लिन दिने सहमति त्यहाँ भएको थियो ।

यसअघि लोक सेवाले लिने परीक्षामा कोरोना संक्रमितलाई वञ्चित गरेपछि त्यसको व्यापक विरोध भएको थियो । परीक्षा दिन पाउने मौलिक हक कुनै रोगबाट संक्रमित भएकै आधारमा खोस्न नपाइने भन्दै विरोध भएपछि लोकसेवा आयोग उक्त निर्णयबाट पछाडि हटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *