आईसीसी महिनाको उत्कृष्ट खेलाडीमा कुशल भुर्तेल मनोनयन – Nepal Press

आईसीसी महिनाको उत्कृष्ट खेलाडीमा कुशल भुर्तेल मनोनयन

काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उनलाई मनोनयन गरेको हो ।

पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा परेका हुन् । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसीसीले जनाएको छ । यही वैशाख पहिलो साता नेपालमा भएको त्रिदेशीय टी-२० सिरिजमा नेपालका लागि २४ वर्षीय भुर्तेलले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

नेपाल, मलेसिया र नेदरल्याण्डस सम्मिलित सो सिरिजको उपाधि नेपालले जितेको थियो । सिरिज जिताउनमा उनको ठूलो योगदान थियो । भुर्तेलले टी २० क्रिकेटको डेब्यू खेलमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाएका थिए ।

उनले सो प्रतियोगिताभर ५ अर्धशतकसहित सर्वाधिक २७८ रन बनाएका थिए । भुर्तेल प्लेअर अफ दी सिरिज घोषित भएका थिए । उनले नेदरल्याण्डसविरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्धको खेलमा ६१, नेदरल्याण्डसविरुद्धको दोस्रो खेलमा ६२ तथा नेदरल्याण्डससितको फाइनल खेलमा ७७ रन बनाएका थिए ।

सिरिजमा गरिएको प्रदर्शनका आधारमा उनी पहिलो पटक आइसीसीको टी–२० वरियतामा ९३ औँ स्थानमा पर्न सफल भएका थिए । आइसीसीले जारी गरेको अर्को वरियतामा भुर्तेल ६१औँ स्थानमा उक्लेका थिए। यसैगरी पुरस्कारका लागि मनोनीत पाकिस्तानका जमानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा ३०२ रन बनाएका थिए ।

सोक्रममा उनले दुई शतकसमेत बनाएका थिए । मनोनयनमा परेका आजमले दक्षिण अफ्रिकाविरुद्ध सोही एकदिवसीय सिरिजमा २२८ रन बनाएका थिए । पुरस्कारको घोषणा यही वैशाख २७ गते गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *