कोरोना विरुद्ध लडाइँमा के गर्दैछन् कर्णालीका स्थानीय तह ? – Nepal Press

कोरोना विरुद्ध लडाइँमा के गर्दैछन् कर्णालीका स्थानीय तह ?

सुर्खेत । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका स्थानीय तहले ढीलै भएपनि स्वास्थ्य पूर्वाधारको तयारीलाई तीव्र बनाएका छन् ।

एम्बुलेन्स नभएको कर्णालीका स्थानीय तहले एम्बुलेन्स खरिद देखि अक्सिजनसहितका आइसोलेसन सेन्टरहरु बनाउने काममा जुटेका हुन् ।

स्थानीय सरकारलएम्बुलेन्स तथा अक्सिजनसहितका आइसोलेसन सेन्टरहरु बनाउने काम गरेर आफ्ना नागरिकलाई कोरोना जित्न सकिन्छ भन्ने भरोसा बाँडन थालेका छन् ।

सल्यानको वनगाडकुभिण्डे नगरपालिकाले केही दिन अघि मात्रै एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ ।

पहिलो चरणको कोरोना संक्रमणको समयमा कोरोनाको इपिसेन्टर नै बनेको नगरपालिकाले आफ्ना पालिकाका नागरिकले एम्बलेन्स नपाएर मर्नुपर्ने दिन नआओस भनेर नै एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरप्रमुख गोविन्द पुन बताउँछन् ।

उनले हाल पालिकाले १६ वेड तयारी अवस्थामा राखेको बताए । ‘अटोमेटिक रुपमा विद्युतमार्फत अक्सिजन उत्पादान हुने पाँच वटा मेसिन पनि जडान गरेका छौं । अक्सिजनले धान्न सकेको खण्डमा एकै दिनमा हामी पचासौं बेड पनि राख्न सक्छौं ।’

यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिकाले पनि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । ‘अहिले हामीले २५ वेड बनाई सकेका छौं । हामीसँग १४ वटा मात्रै अीक्सजन सिलिण्डर छ ।’ नगरप्रमुख हस्त पुन भन्छन्, ‘अक्सिजन पाइएको खण्डमा हामी एक सय बेड पनि तयार गर्न सक्छौं । सबैभन्दा ठूलो समस्या भनेको अक्सिजन नै हो ।’

सुर्खेतकै चौकुने गाउँपालिकाले अक्सिजनसहितको १२ वेड भएको आइसोलेसन सञ्चालन गरिसकेको छ भने अन्य वेड थप गर्ने योजना बनाइरहेको छ ।

‘अहिलेलाई केहि सिलिण्डरमार्फत सेवा प्रवाह गररहेका छौं । अक्सिजन सिलिण्डर थप भएको खण्डमा हामीलाई बेड थप्न कुनै समस्या छैन ।’ अध्यक्ष धीरबहादुर शाही भन्छन्, ‘अक्सिजन नै चढाउनुपर्ने अवस्थामा अहिलेसम्म पालिकामा कोही पनि विरामी आएका छैनन् ।’

कालिकोटको तिलागुफा नगरपालिकाले पनि २५ वेड अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । कर्णालीका अधिकांश पालिकाले आइसोलेसन वेडहरु राखिसकेका छन् । कालिकोटको विकट क्षेत्रमा पनि अक्सिजनसहितका बेडहरु राखिएपछि स्थानीयहरु हर्षित बनेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्स खरिद गर्नुका साथै कटकुवा अस्पतालमा आइसोलेसन सेन्टर स्थापना गरि सञ्चालनमा ल्याएको छ ।

‘हाम्रो मुख्य काम भनेको जनताको सेवा गर्ने हो । जनतालाई परेको समस्यामा सहयोग गर्ने हो । यस्तो कोभिड महामारीको समयमा अन्य भन्दा पनि नागरिकको ज्यान जोगाउन आवश्यक छ भनेर नै हामीले आइसोलेसन सेन्टरहरु स्थापना गरेका हौं ।’

वीरेन्द्रनगर नगर उपप्रमुख मोहनमाया ढकाल भन्छिन्, ‘पालिकामा भएको सीमित स्रोत र साधनको भरपुर प्रयोग गरेर कोरोना महामारी विरुद्धको लडाईमा हामी होमिएका छौं । जनताको नजिकको सरकार हामी नै भएका कारण हाम्रो सबैभन्दा बढी भूमिका हुने भएका कारण अहोरात्र हामी खटिरहेका छौं ।’

कर्णाली प्रदेशमा ७९ वटा पालिका छन् । ती मध्ये अधिकांश पालिकाले आइसोलेसन सेन्टरहरु निर्माण गरि सञ्चालनमा ल्याइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर