केरलामा कम्युनिष्ट करिश्मा : चार कारणले सम्भव भयो विजयनको लोभलाग्दो विजय

काठमाडौं । पछिल्लो ४० वर्षमा केरलामा यस्तो परम्परा थियो- सत्तारुढ दल पाँच वर्षपछि सत्ताबाट बाहिरिन्थ्यो । त्यहाँका जनताले नयाँ कार्यकालमा विपक्षीहरूलाई सत्तामा ल्याउँथे । अर्कोपल्ट फेरि सत्ताबाट पन्छाउँथे । यसपालिबाट त्यो परम्परा तोडिएको छ ।

केरलाले पुनः पिनरई विजयनको नेतृत्वमा लेफ्ट डेमोक्र्याटिक फ्रन्ट (एलडीएफ) लाई लगातार दोस्रो पटक सरकारका गठनका निम्ति निर्वाचित गरेको छ ।

२०१६ को विधानसभा चुनावमा एलडीएफले १ सय ४० सदस्यीय सदनमा ९१ सिट सिट जित्दै सरकार गठन गरेको थियो । यस पटक पार्टी ९३ सिट जितेर फेरि सरकार बनाउँदै छ । पश्चिम बंगालबाट बढारिएको कम्युनिस्ट पार्टीले केरलामा के त्यस्तो करिश्मा देखायो ? जसले उसको सानदार बिजय सम्भव भयो ?

केरलामा के भयो, जसको कारण त्यहाँको चुनावी गणितमा फेरबदल भयो ? बीबीसीले केरलाका केही राजनीतिक विश्लेषकहरूसँग कुराकानी गरेर यसको रहस्य पत्ता लगाउने प्रयास गरेको छ ।

पिनरई विजयनको छवि

जे प्रभाष एक राजनीतिक विश्लेषक र केरला विश्वविद्यालयका राजनीति विज्ञानका पूर्व प्रोफेसर हुन् । यसबारे उनी भन्छन्, ‘यो पिनरई विजयनको पक्षमा जनादेश हो । उनले आफैंलाई आपतकालीन व्यवस्थापक र एक सबल नेताको रूपमा स्थापित गरेका छन् । जनताले विजयनलाई राज्यमा संकट आउँदा नेतृत्व गर्न सक्षम नेताका रुपमा देखे ।’

प्रभाषका अनुसार कांग्रेसले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक मोर्चा वा भारतीय जनता पार्टीसँग पिनरई जस्ता शक्तिशाली नेता थिएनन् । उनका अनुसार विजयनले एक्लै चुनावी अभियान चलाए । प्रभाष भन्छन्, ‘यूडीएफलाई थाहा थिएन ऊ जनतालाई के बताउन चाहान्छ, न उसको सामु बताउन केही थियो । एलडीएफको (कम्युनिष्ट गठबन्धन) बारेमा जनतालाई बताउने काम केवल एक व्यक्ति गर्दै थियो, र त्यो विजयन थियो ।’

राजनीतिक टिप्पणीकार तथा स्तम्भकार जी प्रमोद कुमारका अनुसार विजयन केरलाका सबैभन्दा शक्तिशाली नेता हुन् । उनी भन्छन्, ‘उनलाई सीपीएमको एकल आवाजका रूपमा प्रस्तुत गर्न समग्र प्रयास गरिएको छ । उनी पार्टीको अनुहार र आवाज हुन् । यो विजयनको जित हो । किनकि उनले अभियानको नेतृत्व गरेका थिए ।’

‘विजयन सरकारले प्रशासनिक हिसाबले राम्रो गर्‍यो कि नराम्रो भन्ने फरक सवाल हो । तर धारणा यस्तो बनिदियो कि उनीहरू केरलाको नेतृत्व गर्न सक्षम छन्,’ कुमार थप्छन् । पिनारई विजयनको प्रस्तुतिले पनि निकै प्रभाव पारेको कुमारको विश्वास छ । उनी भन्छन्, ‘यो धेरै हदसम्म विजयनको कार्यक्रम हो । उनले आफैंले सबै उम्मेदवार छनोट गरे । यो धेरै हदसम्म विजयनको विचार हो , जबकि लगातार दुई पटक जित्नेलाई टिकट दिइएन । यो विजयनको डिजाइन हो ।’

दक्षिण भारतको राजनीतिमा नजर राख्ने वरिष्ठ पत्रकार इमरान कुरेशीका अनुसार राज्यमा जुनसुकै घोटाला भयो, विजयनलाई कहिल्यै आरोप लगाइएन र उनको छवि स्वच्छ थियो । उनका अनुसार, विजयन सरकारको राम्रो प्रदर्शन र उनका प्रतीज्ञाहरू पूरा गर्न काम आए ।

विपत्ति व्यवस्थापनमा राम्रो कदम

विश्लेषकहरूको बुझाइ छ- विजयन सरकारले जन-कल्याणकारी नीतिहरू र प्रकोप व्यवस्थापनको कौशिलताका कारण जनताको हृदय जित्यो । प्रमोद कुमार भन्छन्, ‘कोभिड महामाारीको दौरान उनको सरकारले सामाजिक सुरक्षा निवृत्तिभरण बढायो । उनले जनताहरूलाई नयाँ तरिकाले रासन दिए । नीतिअनुरुप महामारीको समयमा पनि गरिबहरूसँग केही पैसा र खाना थियो, त्यसकारण कठिन समयमा उनीहरूले धेरै संघर्ष गर्नुपर्दैनथ्यो ।’

कुमारका अनुसार विजयन सरकार सामान्यतया एक सक्रिय सरकारको रूपमा देखा पर्‍यो । विश्लेषकहरूका अनुसार राम्रोसँग काम गर्ने सरकार भएको कारण त्यहाँ जनतामा सत्ताविरोधी भावना थिएन । कुमार भन्छन्, ‘समग्रमा यो व्यापक विजय हो । सत्ता पल्टाउन कांग्रेसले केही गर्न सक्ने ल्याकत थिएन ।’

प्रभाष भन्छन्, ‘कल्याणकारी उपायहरू जस्तै पेन्सन र रासन किटले सरकारका लागि सकारात्मक छवि बनायो र जनताले घोटाला र भ्रष्टाचार सम्बन्धी आरोपहरूको परवाह गरेनन् । वरिष्ठ पत्रकार इमरान कुरेशीका अनुसार विपत् व्यवस्थापनमा विजयन सरकारको कदमको निकै तारिफ भयो ।

उनी भन्छन्, ‘जब केरलामा कुनै संकट आयो, तब एउटा बलियो सन्देश नागरिकलाई दिइयो कि एक व्यक्तिले राज्यको नेतृत्व लिइरहेको छ । चाहे दुई पटकको बाढी प्रकोप वा कोरोना महामारी होस्, विजयन सरकार सक्रियताका साथ खटेको देखिएको थियो । जबदेखि कोभिड केस सुरु भयो, विजयन प्रत्येक च्यानलमा नागरिकहरूका निम्ति संवाद गरिरहेको देखिन्थ्यो । उनले परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिएका थिए र जनतालाई आश्वस्त गर्दै थिए ।’

को हुन् विजयनन्

७५ वर्षीय विजयनन् भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का पोलिटव्यूरो सदस्य र केरला राज्य कमिटीका सेक्रेटरी हुन् । १८ वर्षको उमेरमै कम्युनिस्ट पार्टीमा आबद्ध भएका विजयनन् विद्यार्थी र युवा संगठनको सेक्रेटरी हुँदै सन् १९७० देखि विधानसभा सदस्य बनेका हुन् ।

सन् २००२ मा चदायन गोविन्दन्को निधनपछि केरलाको सिपिआइएम स्टेट सेक्रेटरी बनेका विजयनन्लाई २००७ मा पार्टीले एउटा विवादस्पद भाषणका कारण पोलिटव्यूरोबाट निलम्बन गरेको थियो । उनी केही समयपछि पुनः पोलिटव्युरोमै पुनःस्थापित भए ।

अल्पसंख्यकको एकीकरण

प्रमोद कुमारको बुझाइमा मुस्लिम मतदान एलडीएफलाई दिनुपथ्र्यो किनकि त्यस समुदायको मुख्य असुरक्षा भाजपाको उदय हो । उनी भन्छन्, ‘यूडीएफ र एलडीएफबी मुसलमानहरूले सोचेको हुनुपर्छ कि बीजेपीसँग प्रतिस्पर्धा गर्न र उनीहरूको हितको रक्षा गर्न एलडीएफ एक उत्तम पार्टी हो ।’

कुमार पनि भन्छन्- राज्यमा इसाई भोटलाई पनि ध्रुवीकरण गरिएको छ । केन्द्रीय त्रावणकोर क्षेत्रमा केरला कांग्रेस, जुन धेरै वर्षदेखि कांग्रेसकोे कट्टर सहयोगी रहेको छ र जसले उक्त क्षेत्रमा सिट जित्न यूडीएफ र कांग्रेसलाई मद्दत गरेको थियो ।

कुमार भन्छन्, ‘यहाँ अल्पसंख्यक समुदायबीच कांग्रेस र यूडीएफको परम्परागत मतदान एलडीएफले ठूलो मात्रामा फेला पारेको छ । २७ प्रतिशत मुसलमानसँगै क्रिष्चियनहरू १७ प्रतिशत छन् । यस्तो लाग्छ कि ४४ प्रतिशत अल्पसंख्यक आवादीले एलडीएफको समर्थन गरे । मुस्लिम र इसाई यूडीएएफको परम्परागत चुनावी रीढ़ थिए, उनीहरूको समर्थन बिना यूडीएएफले चुनाव जित्न सक्दैन थियो ।’

कुमारका बुझाइअनुसार सीपीएम परम्परागत रूपमा केरलामा हिन्दु पार्टी भएको छ र यसका अधिकांश मतदाता हिन्दु नै थिए । उनी भन्छन्, ‘यूडीएफका उच्च जातिका धेरै मानिस भाजपामा सरेका छन् र अल्पसंख्यकहरू एलडीएफमा सरेका छन्, त्यसैले यूडीएएफको लागि केही बाँकी छैन ।’

कांग्रेसको आन्तरिक कलह

प्रभाषका अनुसार केरलाका अधिकांश क्षेत्रमा, विशेषगरी गाउँहरूमा कांग्रेसको संगठनात्मक संरचना बलियो छैन र पार्टीले यसको नतिजा सहनुपर्‍यो ।

उनी भन्छन्, ‘स्रोतका हिसाबले पनि कांग्रेस राम्रो स्थितिमा छैन । केरलामा पाँच वर्ष र केन्द्रमा सात वर्ष सत्ताबाट बाहिर भएपछि पनि कांग्रेस पार्टीले चुनाव लड्न आवश्यक स्रोत जुटाउन सकेको छैन ।’

उनी थप्छन्, ‘यूडीएफमा अब कांग्रेस र मुस्लिम लिग बचेका छन् । बाँकी सबै त्यसबाट टुक्रेर बनेका समूह हुन् । अर्कोतर्फ, एलडीएफ एघार दलको गठबन्धन हो जसमा तीनदेखि पाँच दलको ठूलो हिस्सा केरलामा मौजूद छ । त्यसैले यो प्रतिस्पर्धा सुरूदेखि नै एकतर्फी देखिएको थियो ।’

इमरान कुरेशीका विचरामा एलडीएफले पनि कांग्रेसको आपसी मतभेदबाट फाइदा उठायो । उनी भन्छन्, ‘कांग्रेसको आपसी मतभेद यति बढी भयो कि उनीहरूले चुनाव हारे । ओमन चण्डी र रमेश चेन्नीथलाको गुटबन्दीको कारण हार व्यहोर्नुपर्‍यो । विधानसभाको चुनावको बेला एकजुट भएर काम गर्ने प्रयास भएको थियो । तर फेरि पनि जित्न पाएन ।’

(यो सामग्री बीबीसी हिन्दीबाट नेपाल प्रेसले भावानुवाद गरेको हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *