उडान बन्द हुँदा अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक एक करोड घाटा – Nepal Press

उडान बन्द हुँदा अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक एक करोड घाटा

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले आन्तरिक तथा बाह्यक हवाई सेवा बन्दको निर्णय गरेको छ ।

आन्तरिक उडान सोमबार रातिबाट बन्द भइसकेको छ भने अन्तर्राष्ट्रिय उडान आज रातिबाट बन्द हुँदैछ । नियमित उडान बन्द हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) लाई दैनिक एक करोड रूपैयाँ घाटा हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् ।

सरकारको निर्णय अनुसार टीआईएबाट उद्धार तथा अत्यावश्यक सेवाबाहेक केही समय राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान हुने छैनन् । हेलिकप्टर पनि अति आवश्यक अवस्थामा मात्र प्रयोग हुनेछ ।

गत वर्ष महामारी फैलनुअघि टीआईएबाट दैनिक तीन करोड राजश्व उठ्दै आएको थियो । लकडाउनमा आम्दानी शून्य प्रायः भयो । पछि संक्रमण दर कम भएसँगै राजश्व संकलन पुरानै लयमा फर्कन थालेकोमा कोभिड-१९ को दोस्रो वेभले पुन: प्रभावित बनाएको प्रवक्ता क्षेत्रीले बताए ।

‘गत वर्ष कोरोना महामारीअघि टीआईएको आम्दानी प्रति महिना ९० करोड थियो । लकडाउनपछि विमानस्थल खुल्ला भएसँगै बल्लतल्ल ३० करोड पुगेको थियो । अब फेरि शून्यमा झर्‍यो,’उनले भने ।

टीआईए आम्दानीको मुख्य स्रोत सेड्यूल फ्लाइट, आन्तरिक/ अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर चार्टरलगायत हो ।

उडान रोक्ने निर्णयअघिसम्म दैनिक करिब १५ हजार यात्रुले आन्तरिक र अन्तराष्ट्रिय उडानको यात्रा गरेका थिए । निषेधाज्ञासँगै दुवै उडान रोक्न सरकारले निर्णय गरेपछि यो चाप बढेर १६ हजारसम्म पुगेको प्राधिकरणको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णयले मात्र पहिलेको २४ सयबाट बढेर यात्रुकको संख्या ३ हजार पुगेको छ । यो समयमा विशेष गरी वैदेशिक रोजगारीमा जाने नेपाली, कूटनीति नियोगका कर्मचारी र नेपाल घुम्न आएका पर्यटक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर