एम्बुलेन्स अभाव भएपछि तिलोत्तमामा मेयर र उपमेयरले दिए आफ्नो गाडी – Nepal Press

एम्बुलेन्स अभाव भएपछि तिलोत्तमामा मेयर र उपमेयरले दिए आफ्नो गाडी

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।

नगरपालिकामा कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

‘नागरिक एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहांहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिड्न हामीलाई नैतिकताले दिएन,’ उनले भने– ‘नगरवासीहरु उपचारका लागि अस्पताल पुग्न नसक्ने अवस्थामा हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढने गाडी एम्वुलेन्स बनायौंं ।’

प्रमुख घिमिरेले लु १ झ ३६० नम्बर र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए । यी दुवै गाडीहरु आजबाट तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुनेछन् ।

गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको घिमिरेले जानकारी दिए । नगरपालिकाले यसअघि वडा नं. १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरी अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा संचालनमा ल्याइसकेको छ ।

तिलोत्तमा नगरपालिका रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित भेटिएको पालिका हो । तिलोत्तमामा १ हजार ६ सय सक्रिय संक्रमित छन् । अहिले ४० शय्याको आएसोलेसन अस्पताल रहेको तर त्यसले नथेगेपछि केही दिनमा ६० शय्याको बनाउन लागिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर