भगवान भरोसामा सिन्धुपाल्चोक ! जिल्लाभर एउटा पनि आईसीयू शय्या छैन – Nepal Press

भगवान भरोसामा सिन्धुपाल्चोक ! जिल्लाभर एउटा पनि आईसीयू शय्या छैन

चाैतारा । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका चौतारा साँगाचोकगढी नगरपालिका-४ कुभिण्डेका ५२ वर्षीया एक पुरुषलाई सोमबार बिहान सदरमुकाम चौतारा अस्पतालमा ल्याइयो ।

चिकित्सकहरुले अवस्था जटिल रहेको भन्दै तुरुन्तै आईसीयू शय्या भएको अस्पतालमा लैजान भने । गम्भीर अवस्थाका विरामीलाई करिव ५० किलोमिटर टाढा धुलिखेल अस्पताल लानुपर्ने भयो । एम्बुलेन्सबाट साँगाचोक नपुग्दै उनको निधन भयो । मृत्युपछि उनमा कोरोना संक्रमण देखियो ।

केही दिनअघि पनि सोही वडाका एक जनाको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि उपचारको लागि धुलिखेलमा लगिए पनि त्यहाँ आईसीयू शय्या नपाएरै प्राण गयो ।

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले अहिले सिन्धुपाल्चोकलाई आक्रान्त बनाउँदै लगेको छ । तर, सदरमुकाम चौतारामा रहेको अस्पतालमा आईसीयू र भेन्टिलेटरको सुविधा छैन । जिल्लाको वाह्रविसे, मेलम्ची र जलवीरेमा डाक्टर सहितको स्वास्थ्य केन्द्रहरु छन् तर त्यहाँ अक्सिजन सिलिण्डरसमेत छैन ।

सदरमुकाममा रहेको चौतारा अस्पताल र जिल्लाका अन्य क्षेत्रमा डाक्टरसहित रहेका अस्पताल अहिले वागमती प्रदेश अन्र्तगत छन् । चौतारा अस्पतालका तत्कालीन प्रमुख डाक्टर सागरकुमार राजभण्डारीले अस्पतालको सेवामा केही सुधारको प्रयास गरे पनि त्यसयता लामो समयदेखि चौतारा अस्पताल स्वयम ‘कोमामा’ नै रहेको सर्वसाधरणले मात्रै होइन जनप्रतिनिधिहरुले समेत आरोप लगाउने गरेको छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिंह तामाङले त केही दिन अघि सार्वजनिक रुपमा नै चौतारा अस्पतालको सेवाप्रति तीव्र आक्रोश पोखेका थिए ।

चौतारा अस्पताल मात्रै होइन डाक्टरहरु नै रहेको मेलम्ची, वाह्रविसे र जलवीरेको स्वास्थ्य संस्थाहरुको अवस्था सदरमुकाम चौताराको अस्पतालभन्दा अझै नाजुक नै छ, सिटामोल र ब्यान्डेजसमेत नभएका यी स्वास्थ्य संस्थाहरुका कोरोनाका बिरामीहरुलाई उपचार गर्न सकिन्छ भन्ने त कल्पना भन्दा बहिरकै विषय भयो ।

एक वर्ष अघि कोरोना महामारी सुरु हुँदा वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल थिए । उनी सिन्धुपाल्चोकको चौतारा क्षेत्रकै जनप्रतिनिधि हुन् । उनको कार्यकालमा पनि अस्पतालको अवस्था सुध्रिएन । अहिले उनका क्षेत्रका मतदाता उपचार नपाएर बाटो बाटोमा नै मृत्युवरण गरिरहेका छन् ।

वागमती प्रदेश सरकारले बरु धुलिखेलको अस्पतालालाई मोटो रकम दियो तर चौतारा अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरु सुधारका लागि केही पनि गरेन ।

सामाजिक विकास मन्त्री मात्रै होइन वागमती प्रदेशमा अर्का शक्तिशाली मन्त्री पनि सिन्धुपाल्चोककै थिए- अरुण नेपाल । उनको क्षेत्रमा रहेको वाह्रविसे प्रथामिक स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ ।

सभामुख अग्निप्रसाद सापकोटाको गृह गाउँ अहिले कोरोनाको ‘हटस्पट’ बनेको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने तीन दिनको बीचमा संक्रमितको संख्या ३२ पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले कुभिण्डे र कदमबासलाई शिल गरेको छ ।

सामाजिक सञ्जालमा ‘शिघ्र स्वास्थ्य’ लाभको कामना गर्ने र मृत्युपछि ‘हार्दिक श्रदाञ्जली’ दिने भन्दा बाहेक राजनीतिक नेतृत्व र सरकारमा रहेकाहरुले यतिबेलासम्म केही गरेका छैनन् ।

अघिल्ला वर्षको संक्रमणमा स्थानीय सरकारहरुले पनि कोरोना रोकथाम र नियन्त्रणका लागि लिएको सक्रियता लोभलाग्दो थियो, क्वारेन्टाइन निर्माण देखि स्वास्थ्य सामग्री वितरणमा समेत स्थानीय सरकारको सक्रियता थियो तर अहिले स्थानीय सरकार समेत आफै अलमलमा परेको देखिन्छ ।

जिल्लाका सबै स्थानीय सरकारले गत वर्ष कम्तीमा पनि ५० लाख रुपैयाँ कोरोना रोकथाम र नियन्त्रण शीर्षकमा खर्च गरेका थिए त्यो रकम सबै स्वास्थ्य सामग्री वितरणमा नै सकिएको थियो ।

स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा केही सुविधा राखेर आपत्तमा जनतालाई सेवा दिन सकिन्छ भनेर योजना बनाएर काम गरेका थिए । अहिलेको महामारीमा कम्तिमा अक्सिजन दिन सकिने अवस्था हुने थियो तर त्यो कुनै पनि स्थानीय सरकारले गर्न सकेनन् ।

स्वास्थ्य कार्यालयको तथ्यांक हेर्ने हो भने सिन्धुपाल्चोकमा जम्मा ३० जना क्षमता रहेको केही आइसोलेसन कक्षहरु मात्रै रहेका छन् । स्थानीय सरकार, राजनीतिक दलका नेताहरु मात्रै होइन संघीय सरकारको प्रतिनिधिका रुपमा रहेका कर्मचारीहरुले पनि निषेधज्ञा लगाउने भन्दा बाहेक ठोस कार्यक्रमहरु अघि सारेको देखिँदैन ।

सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या १ सय ५० पुगिसकेको छ । संक्रमितहरु प्राय सबै होम क्वारेन्टाइनमा नै बसिरहेका छन् तर उनीहरुको अवस्था कस्तो छ, कसरी बसिरहेका छन्, गाह्रो भए के गर्ने कुनै पनि निकायसँग यसको जवाफ छैन अहिले । भगवना भरोसा बाहेक सिन्धुवासीसँग अहिले कोरोनासँग जुध्न सक्ने विकल्प छैन ।

 बल्ल जाग्दैछन् स्थानीय तह

कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय सरकारहरु आफूसँग भएको सीमित स्रोत र साधनलाई उपयोग गरेर जनातालाई सेवा दिनका लागि योजना बनाएर कार्यन्वयन सुरु गरेका छन् ।

बलेफी र जुगल गाउँपालिकाले सयुक्त रुपमा जुगल गाउँपालिकाको चनौटेमा रहेको रत्नराज्य मावि भवनमा अक्सिजनसहितकाे आइसोलसन बनाउन सुरु गरेका छन् । त्यस्तै लिसंखुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले पनि सयुक्त रुपमा आइसोलेसन निर्माणका लागि पहल गरेका छन् ।

वाह्रविसे, चौतारा-साँगाचोकगढी नगरपालिका लगायतका स्थानीय सरकारले आफ्नो क्षेत्रमा अक्सिजन सहितका बेडहरु निर्माण गरेर तयारी हालतमा राख्न सुरु गरेका छन् ।


प्रतिक्रिया

One thought on “भगवान भरोसामा सिन्धुपाल्चोक ! जिल्लाभर एउटा पनि आईसीयू शय्या छैन

  1. Bichara mero si pa kathibara mero si pa ktm najik vayara pani besahara bannu pareako ma kina ki si pa lai bikasit banaune aajhi samman testo kunai kamred haru ko janma nai vayeako chhinan ra durdristi rakhne kohi manche ko janma nai vako chhinan teshile thankx for news

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर