बुढानिलकण्ठ बैठक : वैशाख २७ पछि एमाले कांग्रेस सहकार्यको ढोका खुल्यो – Nepal Press

बुढानिलकण्ठ बैठक : वैशाख २७ पछि एमाले कांग्रेस सहकार्यको ढोका खुल्यो

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको मंगलबारको बैठकले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको थियो । विश्वासको मत नदिने मात्रै नभई सो प्रस्ताव असफल बनाउन प्रयास गर्ने कांग्रेसको निर्णयबारे प्रधानमन्त्री ओली बेखबर थिएनन् । यद्यपि आफूलाई असहयोग गर्ने औपचारिक घोषणा गरिसकेको कांग्रेससंग बुधबार प्रधानमन्त्री ओलीले औपचारिक वार्ता गरे । वार्तामा प्रधानमन्त्रीले विश्वासको मत मागे तर देउवाले त्यसलाई अस्वीकार गरे ।

सतहमा बुधबारको वार्ता यत्तिमा सीमित देखिएपनि यसले एमाले कांग्रेस सहकार्यको ढोका खुलेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय त्यस्तो बेला लिएका थिए जतिबेला उनीविरुद्ध जुनसुकै बेला बहुमतले अविश्वास प्रस्ताव पारित गर्नसक्थ्यो । सहजरुपमा विश्वासको मत हासिल हुने नदेखेपनि प्रधानमन्त्री ओलीले दीर्घकालीन राजनीति हेरेका थिए । प्रतिनिधिसभाबाट आफूले विश्वासको मत नपाए अरुलाई पनि बहुमत पुर्याउन नदिने र मुलुकलाई ‘अर्ली इलेक्सन’ मा लैजाने प्रधानमन्त्रीको ‘ओपन इन्ट्रेष्ट’ हो । आफ्नो यही दीर्घकालीन रणनीतिको ढोका बुढानिलकण्ठ बैठकबाट ओलीले खोलेका छन् ।

प्रधानमन्त्री ओलीले विगतमा कांग्रेस सभापति देउवासंग मात्रै छलफल गर्दै आएका थिए । यसपटक कांग्रेसको सबै पक्ष समेट्ने नेताहरुसंग ओलीले भेटे । आफ्ना तर्फबाट पनि प्रभावशाली नेताहरुलाई छलफलमा सहभागि गराए । ओलीसंगै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल वार्तामा सहभागि थिए । कांग्रेसबाट देउवाबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला वार्तामा थिए ।

ओलीको प्रस्ताव देउवाको ईन्कारी

वार्ताको सुरुमै प्रधानमन्त्री ओलीले लामो भूमिका बाँधेर आफ्ना कुरा राखेका थिए । कांग्रेस र एमालेबीच वषौंदेखि प्रतिष्पर्धासहितको सहकार्य हुँदै आएको र दुवै लोकतान्त्रिक शक्ति भएको प्रधानमन्त्री ओलीले बारम्बार दोहोर्याएका थिए । संसदमा विश्वासको मत लिने प्रक्रियामा आफू पुगेको भन्दै ओलीले कांग्रेससंग विश्वासको मतको अपेक्षा गरेको बताएका थिए ।

जवाफमा कांग्रेस सभापति देउवाले आफ्नो पार्टीले निर्णय गरिसकेकोले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । भेटघाटको उद्देश्य विश्वासको मत लिनुमात्रै नभएकोले ओली यत्तिकैमा रोकिएनन् । उनले आफूलाई विश्वासको मत नदिएपनि बैशाख २७ पछि मुलुकको राजनीति कता लैजाने ? भन्नेमा कांग्रेसले विचार पुर्याउनुपर्ने बताए । ‘यो सरकारले विश्वासको मत पनि नपाउने र संसदबाट अर्को सरकार पनि नपाउने अवस्था आएमा मुलुक कता जान्छ ? कांग्रेसले पनि केही विचार गरेको होला’, प्रधानमन्त्री ओलीको भनाई थियो ।

ओलीले प्रष्ट शब्दमा कांग्रेस नेताहरुलाई ताजा जनादेश अपरिहार्य देखिएको बताएका थिए । ‘यो संसदले निकास दिन सक्दैन । कांग्रेसले साथ दिने हो भने अर्ली इलेक्सन गराउँछु भनेर उहाँले भन्नुभयो’, ओलीलाई उधृत गर्दै बैठकमा सहभागि एक नेताले भने । ती नेताका अनुसार निर्वाचनमा जाने विषयमा नकरात्मक नभएपनि कांग्रेस सभापति देउवाले पार्टीले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको बताए । बारम्बार पार्टीको निर्णय भन्दै धारणा राखेका देउवाले बैशाख २७ पछि पुनः छलफल हुनसक्ने बताए ।

भेटमा सहभागि एक एमाले नेताका अनुसार कांग्रेससंगको भेट विश्वासको मतका लागि मात्रै थिए । ‘यो नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव राख्ने वार्ता हो । यसको उद्देश्य बैशाख २७ र विश्वासको मत मात्रै होइन’, ती नेताले नेपाल प्रेससंग भने ।

वैशाख २७ पछि होला त सहकार्य ?

प्रधानमन्त्री ओलीले विश्वासको मत नदिएपनि वैशाख २७ पछिको राजनीतिबारे सोच्न गरेको आग्रहले कांग्रेस नेतृत्वलाई सोच्न बाध्य बनाएको छ । बैठक लगत्तै सञ्चारकर्मीसंग प्रतिक्रिया दिने क्रममै कांग्रेस सहमहामन्त्री डा. महतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तर सच्चिएर आए त्यसपछि सहकार्य हुनसक्ने बताएका छन् । ‘अहिलेलाई विश्वासको मत दिने अवस्था छैन तर लोकतान्त्रिक संस्था, मूल्य र मान्यताप्रति व्यवहारिक रुपमा आउने कुरामा प्रतिबद्ध हुनुहुन्छ भने ती विषयमा सहकार्य हुनसक्छ’, महतले पत्रकारहरुसंग भने । एमाले कांग्रेस सम्भावित सहकार्यबारे बैशाख २७ को परिणामपछि कुरा हुने महतको भनाई छ । ‘पहिला विश्वासको मतको परिणाम आओस् । बाँकी विषयमा पछि कुरा गरौला भनेका छौ’, महतले भने ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा संवैधानिक कोर्सबाटै मुलुकलाई निर्वाचनमा लैजाने प्रयत्न गर्ने निश्चित छ । निर्वाचनबाट निकास खोज्ने विषयमा कांग्रेस सकरात्मक रहने ओलीको विश्वास छ । किनकी कांग्रेस सभपाति देउवा पनि तत्काल निर्वाचनको पक्षमा उभिदै आएका छन् ।

चुनावी सरकारबारे विवाद

बुधबारको छलफलमा प्रधानमन्त्री ओलीले बारम्बार चुनावका लागि सहकार्य प्रस्ताव गरेका थिए । लोकतन्त्रका लागि संघर्ष गरेका दुई दलबीच सहमति भए निर्वाचनबाट मुलुकलाई निकास दिएर लोकतान्त्रिक व्यवस्था जोगाउन सकिने ओलीको भनाई थियो ।

ओलीलाई कांग्रेस नेता रामचन्द्र पौडेलले ‘लोकतन्त्रको कुरा गर्नेले सर्वोच्चको आदेशपछि राजीनामा दिएको भए हुन्थ्यो’ भनेका थिए । जवाफमा ओलीले विश्वासको मत लिनुपनि लोकतान्त्रिक प्रक्रिया भएको जवाफ दिए । प्रधानमन्त्री ओलीसहितका एमाले नेताहरु बुढानिलकण्ठबाट बाहिरिएपछि कांग्रेस नेताहरु केहीबेर आन्तरिक छलफलमै रहे । सो छलफलमा देउवाले बैशाख २७ मा परिणाम जे आएपनि मुलुक निर्वाचनतर्फ जाने सम्भावना बताएका थिए ।

आन्तरिक छलफलमा नेताहरुले ओलीको नेतृत्वमा निर्वाचनमा जाने बाहेकको विकल्पमा जानुपर्ने बताएका थिए । अविश्वासको प्रस्ताव दर्ता संसदमा बहुमतको सुनिश्चितता खोजेका सभापति देउवाले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन पहल गर्ने तयारी गरेका छन् । त्यस्तो चुनावी सरकारका लागि बैशाख २७ पछि ओलीकै समर्थन लिनुपर्ने अवस्थापनि हुनसक्ने निकटस्थहरुसंग देउवाले बताएका छन् ।

यो पनि पढ्नुस् :

कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत, देउवाले भने- दिंदैनौँ (भिडियो)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर