बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, मृत्यु हुनेको संख्या घट्दै – Nepal Press

बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, मृत्यु हुनेको संख्या घट्दै

रुपन्देही । कोरोनाको हटस्पट मानीएको बाँकेमा आज बुधबार एकै दिन २ सय ९३ कोरोना संक्रमणमुक्त भएका छन् । ७६ वर्षका जेष्ठ नागरिकसहित १ सय ७० पुरुष र १ सय २३ महिला गरी आज २ सय ९३ जना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।

बुधबार मृतकको संख्या घटेपछि र र संक्रमणमुक्त हुनेको संख्या बढेपछि यसको व्यवस्थापनमा खटेका स्वास्थ्यकर्मीले खुसी भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार हिजो मंगलबार मात्र ३ सय ४२ जना संक्रमणमुक्त भएका थिए । वलीका अनुसार बुधबार ४ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।

बुधबार मृत्यु भएका ४ जनासहित बाँकेमा अहिलेसम्म जिल्ला भित्रका १ सय ४६ र जिल्ला बाहिरका १ सय २६ गरी जम्मा २ सय ७२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा बुधबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय २२ रहेको छ भने १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका ३ पीसीआर परिक्षण प्रयोगशालामध्ये २ वटा पिसिआर प्रयोगशालाबाट प्राप्त विवरणमा १ सय ८२ महिला र १ सय ९८ पुरुष गरि थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । वलीले संक्रमण पुष्टि भएको १० दिन पुगेपछि संक्रमितलाई पीसीआर परीक्षण नगरी डिस्चार्ज गर्न थालेको जानकारी दिए ।

मेडिकल कलेजले थप भर्ना रोक्यो
अस्पतालमा अक्सिजनको अभाव भएकाले थप बिरामीको भर्ना लिन नसकिने भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना लिन रोकेको छ । बुधबार कलेजले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शैयासम्मको कोभिड अस्पताल तयार गरिएको भए पनि अक्सिजनको अभावमा १ सय ३५ शैया मात्रै सञ्चालनमा ल्याउने जनाएको हो । अस्पतालमा हाल १ सय ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाइएको छ ।

अस्पतालका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक ५ दिनमा एउटा लिक्विड ट्याङ्क वा दैनिक ८ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्छ । कोरोनाका बिरामीको उपचार गर्न यथाशीघ्र उक्त परिमाणको अक्सिजन उपलब्ध गराइदिन अस्पतालले सरकारसँग माग गरेको छ ।

‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं,’ अस्पतालले विज्ञप्तिमा भनेको छ ।
महामारीको विषम परिस्थितिमा अक्सिजनको समस्या दर्शाउँदै आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउनसक्ने जानकारी गराइसकेको पनि अस्पतालले प्रशासनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *