भोटेकोशीको सेयर भर्न गाडी रिजर्भ गरेर सर्वसाधारण बजारमा – Nepal Press

भोटेकोशीको सेयर भर्न गाडी रिजर्भ गरेर सर्वसाधारण बजारमा

भीड रोकिदिन आग्रहसहित बैकका कर्मचारी नगरपालिका पुगे

सिन्धुपाल्चोक । मध्य भोटेकोशीको सेयर भर्न बाह्रविसे नगरपालिकाका दुर्गम गाउँबस्तीहरुबाट सर्वसाधारणहरु बजारमा झरेका छन् ।
एउटा गाडीको ८ देखि १० हजारसम्म भाडा तिरेर सेयर भर्न गाउँबाट बजार झर्न थालेका हुन् ।

स्थानीय प्रशासन र नगरपालिकाको आग्रहलाई बेवास्ता गदै निर्माणधिन १०२ मेगावाटको मध्यभोटेकोशीले सिन्धुबासीका लागि साधारण सेयर निष्कासन गरेपछि सेयर भर्नका लागि बैंकहरुमा सर्वसाधरणहरुको भीड लागेको छ ।

आयोजना प्रभावित बाह्रविसे र नगरपालिकाका गाउँ गाउँबाट सेयर भर्न स्थानीय बजारमा झरेपछि बैकहरुलाई भीड नियन्त्रण गर्न हम्मे हम्मे परेको छ ।

बैंकहरुमा स्थानीयको भीड बढेपछि त्यसलाई नियन्त्रण गर्न र समन्वय गरिदिन आग्रह गर्दै बाह्रविसे बजार क्षेत्रमा रहेका बैंकका कर्मचारीहरु नगरपालिकामा पुगेका छन् ।

‘बैकहरुमा भीड बढेको छ,भीड नियन्त्रण गर्न सहयोग गरिदिन आग्रह गर्दे बैंकका कर्मचारीहरु नगरपालिकामा आउनु भएको छ,’बाह्रविसे नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रिनले भनिन् ।

गाउँ गाउँबाट बलेरो रिर्जभ गरेर स्थानीय सेयर भर्नका लागि बाह्रविसे बजारमा आएको पाख्रिनले जानकारी दिइन । ‘अहिलेसम्म त गाउँ सुरक्षित नै थियो, सेयर भर्ने कामले गर्दा अब गाउँ असुरक्षित भएको छ,’ पाख्रिनले भनिन्,‘ हामीले लिखित पत्रचार गर्दा पनि आयोजनाले अटेर गर्‍यो ।’

मध्यभोटेकोशी जलविद्युत आयोजनाले विद्युतीयमाध्यम इसेवाबाट सेयर भर्न मिल्ने बताएपनि गाउँका मान्छेहरुले यो सुविधा प्रयोग गर्न नजान्ने भएकाले प्रभावकारी नभएको पाख्रिन बताउँछिन् ।

आयोजना प्रभावित भोटेकोशी गाउँपालिकाले कोरोना संक्रमित बढ्दै गएपछि गाउँपालिकाभर निषेधाज्ञा जारी गरेपनि त्यसको पर्वाह नगरी सेयर भर्नका लागि स्थानीय बजारमा आएका छन् । एउटै घरबाट सबै परिवार सेयर भर्न बजार आएका छन् ।

ग्लोबल आइएमइ बैक बाह्रविसेका शाखा प्रमुख कृष्णप्रसाद सापकोटा गाउँ गाउँबाट मान्छेहरु सयौको संख्यामा आउदा सेवा नै प्रदान गर्न नसकेको गुनासो गर्छन् ।

अहिलेसम्म बैंकमा कनेक्ट नै नभएकाहरु सेयर भर्न आएकाले नयाँ खाता खोल्ने लगायतका कामहरु एकैपटक गर्नुपर्दा धेरै समस्या भएको उनी बताउँछन् ।

‘गाउँ गाउँमा डिम्याट खाता नहुदा सम्म सेयर भर्न मिल्दैन भने हल्ला चलेको रहेछ,हामीले भन्दा पनि उहाँहरुले पत्याउनु नै हुन्छ,’ शाखा प्रमुख सापकोटाले भने ।

कोरोना रोकथाम र नियन्त्रणमा आफुहरुले निश्चित सेवाग्राहीहरुका लागि स्वास्थ्य मापदण्डका सामग्रीहरु प्रदान गरेपनि धेरै संख्या भएकाले त्यो उपलब्ध गराउन पनि समस्या भएको उनले बताए । बाह्रविसे क्षेत्रमा रहेका नौ बैकहरुबाटै सेयर भर्न मिल्ने व्यवस्था गरेको छ ।

सबै बैकहरुमा यस्तै भिड लागेको सापकोटाले बताए । बैकहरुमा बिहान १० देखि २ बजेसम्म मात्रै सेयर भर्न पाउने व्यवस्था गरिएको छ ।

गाउँबाट गाडी रिर्जभ गरेर आएकाहरु त्यो समयमा सकिएन भने अबेरसम्म भएपनि भर्नलाई बैकहरुलाहरुलाइृ दबाब दिने गरेको गुनासो बैकका कर्मचारीहरु गर्छन ।

सापकोटाले थपे,‘सेयर भर्ने जनतालाई पनि सास्ती,अनि हामीलाई पनि समस्या । कि त यो बेला रोक्नुपर्छ होइन भने समय थप गर्नुपर्छ ।

‘जिल्लाबासीको लागि सेयर खुला गर्ने, घरमै सुरक्षितसँग बसेकाहरुलाई बजारमा झार्ने जर्बजस्ती कोरोना संक्रमणको जोखिम बढाएको आयोजनाको यो रवैया माफीयोग्य छैन बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले आक्रोशित हुदै भने भोली केही भयो र कोरोना संक्रमण फैलियो भने यसको जिम्मेवारी मध्यभोटेकोशीले लिनुपर्छ ।’

सेयर भर्ने काम तत्काल रोक्नका लागि प्रमुख जिल्ला अधिकारी लगायत डीसीसीएमसीले आग्रह गरेपनि आयोजनाले अटेर गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । ‘हामीले आग्रह गरेका थियौ तर आयोजनाले धितोपत्र बोर्डको कुरा उठाएर अटेर गरेको छ,’ पोखरेलले भने ।

२०१७ मा सम्पन्न हुने पर्ने मध्यभोटेकोशी जलविद्युत आयोजना भुकम्प,नाकाबन्दी लगायत कारणले पटक पटक समय थप हुदा समेत अहिलेसम्म ५० प्रतिशत काम पनि पुरा भएको छैन ।

आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीसँग आयोजनाका यस अघिका प्रमुख मणिकुमार काफ्लेले करोडौ रुपियाँ माग गरेको टेप सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको थियो ।

आयोजनाका कर्मचारीहरुका कारण मध्यभोटेकोशी निर्माणमा ढिलाई भइरहेको छ ।

याे  पनि पढ्नुहाेस् ।

लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *