खोप आपूर्तिका लागि सरकारले बढायो कूटनीतिक सक्रियता, कुन-कुन देशबाट ल्याइँदैछ ? – Nepal Press

खोप आपूर्तिका लागि सरकारले बढायो कूटनीतिक सक्रियता, कुन-कुन देशबाट ल्याइँदैछ ?

काठमाडौं । मंगलबार कोभिड-१९ महामारीको परिस्थितीबारे देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खोप आपूर्तिको जिम्मा परराष्ट्र मन्त्रालयलाई सुम्पिएको बताए ।

प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको परराष्ट्र मन्त्रालयको आन्तरिक बैठकले खोप आपूर्ति गर्न सबै कूटनीतिक नियोगलाई परिचालन गर्ने निर्णय गर्‍यो । प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्रले विदेशबाट खोप आपूर्ति गर्न केही मुलुकसँग ‘एप्रोच’ र ‘प्रोसेस’ सुरु गरेको छ ।

भारतबाट तत्काल खोप नआउने र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाबाट पनि आउन ढिलाइ हुने देखेपछि सरकारले रुस, चीन, अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकबाट खोप ल्याउन सक्रियता बढाएको हो । भारतबाट तत्काल खोप नआउने सम्भावना देखेपछि सरकारले अन्य मुलुकबाट स्वास्थ्य सामाग्री र खोप आपूर्ति गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले सम्बोधनमा चीन र रुसबाट खोप खरिद प्रक्रिया सुरु भएको उल्लेख गरेका थिए । रुसले डिसेम्बरसम्म ८० लाख डोज स्पुतनिक-५ खोप दिने प्रतिबद्धता जनाएको छ । तर, सरकारले चाहिँ तत्काल ४० लाख डोज उपलब्ध गराउन भनेको छ । यद्यपी, मूल्यमा कुरा नमिल्दा अहिले दुईपक्षबीच खरिदको विषयमा सम्झौता हुन सकेको छैन ।

मंगलबार नेपालमा खोप निर्यातका लागि रुसको एक कम्पनीले परराष्ट्र मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । गतसाता प्रधानमन्त्री ओलीले रुसी राजदूतसहितको टोलीलाई बालुवाटारमा भेट गर्दै तत्काल खोप आपूर्ति गर्न आग्रह गरे । त्यसको दुई दिनअघि रुसी दूतावासमा टोलीलाई भेट गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप खरिद गर्नेबारेमा टुंगो लगाएका थिए ।

प्रधानमन्त्रीले मंगलबार देशबासीलाई गरेको सम्बोधनमा पनि खोप, अक्सिजन लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए । प्रधानमन्त्रीको आग्रह लगत्तै परराष्ट्रले अमेरिका, चीन, रुससँग यसबारे कूटनीतिक सक्रियता पुनः बढाएको छ ।

‘हामीले राजनीतिक आग्रहमा खोप बाँड्दैनौं । जीवन जोगाउने सवाल मुख्य कुरा हो । सम्मानका साथ हाम्रा साझेदार मुलुकसँग व्यवहार गर्छौ । हामीले अनावश्यक प्रतिबद्धता गर्दैनौं । सुरक्षित र प्रभावकारी भएको पुष्टि गरेर मात्रै हामीले खोप सहयोगका लागि मद्दत गर्छौ’ अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

‘अहिले हाम्रो प्राथमिकता र ध्यान खोप आपूर्तिका लागि कूटनीतिक नियोगहरुलाई सक्रिय तुल्याउनु हो’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले नेपाल प्रेससँग भनिन्, ‘खोप आपूर्ति गर्ने जिम्मा आइसकेपछि हामीले आन्तरिक बैठक बसेरै नियोगहरुलाई अधिकतम परिचालन गर्ने निधो गरेका छौं ।’ उनले सम्बन्धित मुलुकहरुसँग खरिद प्रक्रिया र आपूर्तिका लागि निरन्तर पहल गरिरहेको बताइन् ।

उनका अनुसार अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले आफ्नो देशले वितरण गर्ने भनेको अस्ट्राजेनेका खोप वितरणमा नेपाललाई उच्च प्राथमिकतामा राखेको र आफूले वातावरण बनाइरहेको बताएका छन् ।

अमेरिकी राजदूत बेरीले गतसाता स्वास्थ्यमन्त्री त्रिपाठीलाई पनि खोप आपूर्ति गर्नेबारे वातावरण बनाएको बताएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि अमेरिकाबाट खोप खरिदका लागि प्रक्रियाको थालनी गरिएको जनाएका छन् ।

अमेरिकी दूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै उसले महामारीविरुद्ध लड्न नेपाललाई थप ८५ लाख डलर अमेरिकी नियोगमार्फत प्रदान गर्ने जनाएको छ । विज्ञप्तीमा उसले वितरण गर्ने भनेको अस्ट्राजेनेको खोप वितरणमा नेपाललाई प्राथमिकतामा राखेको र यो कठिन परिस्थितीमा अमेरिका नेपालसँगै उभिएको उल्लेख छ ।

राष्ट्रसंघीय खोप कार्यक्रम कोभ्याक्समा अमेरिकाले यसअघि २ बिलियन डलर उपलब्ध गराएको र थप २ बिलियन डलर सहयोग गर्ने समेत जनाइएको छ ।

आगामी दुई महिनाभित्र ६० मिलियन डोज अस्ट्राजेनेका खोप वितरण गर्ने तयारी अमेरिकाको छ । ‘कुन देशलाई खोप दिने भन्ने मापदण्ड हामीले तयार गरिसकेका छैनौं र जसलाई तत्काल आवश्यक छ, सोही देशलाई दिने हाम्रो योजना छ’ दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ । राजनीतिक आग्रहमा नभएर प्रभावकारिता र आवश्यकताको आधारमा अमेरिकाले खोप आपूर्ति गर्ने समेत जनाइएको छ ।

‘हामीले राजनीतिक आग्रहमा खोप बाँड्दैनौं । जीवन जोगाउने सवाल मुख्य कुरा हो । सम्मानका साथ हाम्रा साझेदार मुलुकसँग व्यवहार गर्छौ । हामीले अनावश्यक प्रतिबद्धता गर्दैनौं । सुरक्षित र प्रभावकारी भएको पुष्टि गरेर मात्रै हामीले खोप सहयोगका लागि मद्दत गर्छौ’ अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

धेरै मुलुकहरुले अमेरिकासँग खोप मागिरहेको जनाउँदै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले कोभिड आपतकालले ती मुलुकमा खोपको व्यग्रता बढाएको समेत उल्लेख गरको दूतावासले जनाएको छ ।

‘हामीले तिमीलाई सुनेका छौं । म प्रतिबद्धता गर्छुु कि चाँडोभन्दा चाँडो खोप आपूर्ति गर्न हामी तयार छौं’ ब्लिंकेनको भनाई उध्दृत गर्दै दूतावासले विज्ञप्तीमा उल्लेख गरेको छ ।

भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले भुक्तानी लिइसकेर पनि थप १० लाख डोज निर्यात गर्न बाँकी छ । घरभित्रै खोप आपूर्तिको अत्याधिक दबाब परेपछि भारतीय विदेश मन्त्रालयले विदेश निर्यात गर्न अस्थायी रोक लगाइरहेको छ ।

केही अन्तर्राष्ट्रिय संचारमाध्यमले अमेरिकाले खोप स्टकमा राखेको र आपूर्तिको माध्यमबाट उसले खोप कूटनीति संचालनमा मद्दत पुग्ने विश्वास लिएको जनाएका छन् ।

औषधी व्यवस्था विभागका अनुसार अमेरिकी खोपहरु फाइजर, मोर्डना र जोन्सन एन्ड जोन्सनले आपतिकालीन प्रयोगका लागि नेपालसँग अनुमति मागेका छन् तर, विभागले अहिलेसम्म अनुमति दिएको छैन । प्रवक्ता सन्तोष केसीले ती खोप उत्पादक कम्पनीसँग आवश्यक कागजपत्र मागिएको र अध्ययन भैरहेको जानकारी दिए । विभागले अहिलेसम्म चिनियाँ खोप भेरोसेल, भारतीय खोपहरु कोभिसिल्ड र कोभ्याक्सिन तथा रुसी खोप स्पुतनिक-५ लाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

बेलायतले पनि विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत ५५० मिलियन पाउन्ड राशीको अस्ट्राजेनेका खोप प्रदान गर्दैैछ । बेलायतले प्रदान गर्ने उक्त मूल्यको खोपको केही हिस्सा समेत नेपालले प्राप्त गर्दैछ । राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री त्रिपाठीलाई गतसाता भेट गर्दै यसबारे जानकारी दिएकी छिन् । तर, कोभ्याक्समार्फत आउनु पर्ने खोप कहिले आउँछ भन्नेबारेमा केही टुंगो लागेको छैन । उत्पादक कम्पनी र मुलुकले प्रतिबद्धताअनुसारको खोप उपलब्ध नगराउँदा कोभ्याक्स अहिले आफै समस्यामा छ ।

गत फागुन २३ गते कोभ्याक्समार्फत आएको ३ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप नेपालले प्राप्त गरेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले आंकलन गरेको छ । कोभ्याक्समार्फत आउने खोप सुरुमा ३० प्रतिशत जनसंख्यालाई दिने र बाँकी ३० प्रतिशत खरिद प्रक्रियामार्फत ल्याइने जानकारी स्वास्थ्य मन्त्री त्रिपाठीले दिए । मन्त्री त्रिपाठीले संयुक्त अरब इमिरेट्सका राजदूतसँग पनि खोप आपूर्तिबारे कुरा गरेका थिए । युएईले पनि अस्ट्राजेनेका खोप उत्पादन गरिरहेको छ ।

परराष्ट्रको सक्रियताबीच, खाडीसहित करिब एक दर्जन मुलुकमा रहेका राजदूतले नेपाली कामदारको सुरक्षा र हेरचाहमा सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् । ओमानकी राजदूत शर्मिला पराजुलीले  गरेको वेविनारमा राजदूतले कोरोनाले पार्ने समस्या र त्यसको रोकथाममा दूतावासको भूमिका र सहकार्यबारे छलफल भएको थियो ।

गतसाता नेपालले दक्षिण कोरियासँग अस्ट्राजेनेका खोप र केही स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गर्दैै कूटनीतिक नोट लेखिसकेको छ । अस्ट्राजेनेकाबाट लाइसेन्स लिएर दक्षिण कोरियाको बायोसाइन्स कम्पनीले खोप उत्पादन गरिरहेको छ । सरकारले ती मुलुकसँग खोप आपूर्तिका लागि पहल गरेपनि कुनैपनि मुलुकले अहिलेसम्म खोप निर्यातका लागि ठोस निधो दिइसकेका छैनन् । यस्तो अवस्थामा सरकारले कूटनीतिक सक्रियता बढाएको हो ।

भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले भुक्तानी लिइसकेर पनि थप १० लाख डोज निर्यात गर्न बाँकी छ । घरभित्रै खोप आपूर्तिको अत्याधिक दबाब परेपछि भारतीय विदेश मन्त्रालयले विदेश निर्यात गर्न अस्थायी रोक लगाइरहेको छ । यतिसम्मकी भारतबाट अहिले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री आपूर्तिमा रोक छ । यसबारे परराष्ट्रमन्त्री ज्ञवाली र स्वास्थ्य मन्त्री त्रिपाठीले भारतीय समकक्षीसँग पटक–पटक कुरा गरिसकेका छन् । तर, भारत ‘सकारात्मक रहेको’ आशयको जवाफसहित पन्छिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले पनि पटक-पटक कूटनीतिक नोट त पठाएको छ तर, त्यसबारे ठोस जवाफ आएको छैन । पटक-पटक ताकेता गर्दा पनि खोप आपूर्ति नहुने नदेखेपछि नेपालले अन्य मुलुकसँग कूटनीतिक सक्रियता बढाएको हो ।

परराष्ट्रको सक्रियताबीच, खाडीसहित करिब एक दर्जन मुलुकमा रहेका राजदूतले नेपाली कामदारको सुरक्षा र हेरचाहमा सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् । ओमानकी राजदूत शर्मिला पराजुलीले मंगलबार दिउँसो गरेको वेविनारमा राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द भएकाले नेपाली कामदारलाई पर्ने समस्या, कोरोनाले पार्ने समस्या र त्यसको रोकथाममा दूतावासको भूमिका र सहकार्यबारे छलफल भएको थियो ।

उक्त छलफलमा राजदूतहरु बहराइनका पदम सुन्दास, साउदीका महेन्द्रप्रसाद सिंह, कतारका नारदनाथ भारद्धाज, कुवेतका दुर्गाप्रसाद भण्डारी, यूएईका कृष्णप्रसाद ढकाल, इजरायलका अञ्जान शाक्य, मलेसियाका उदयराज पाण्डे, दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्मा र पाकिस्तानका तापस अधिकारी सम्मिलित थियो ।

महामारीको दोस्रो लहर सुरु भएपछि विज्ञहरुले सरकारमाथि खोप अभियानलाई निरन्तरता दिन दबाब बढाएका थिए । लकडाउन सुरु भएपछि सरकारले चिनियाँ खोप लगाउने अभियान अहिले स्थगित गरेको अवस्था छ भने जेष्ठ नागरिकका लागि कोभिसिल्डको दोस्रो डोज लगाउने कार्य पनि रोकिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख ९१ हजार ५११ जनाले पहिलो डोज र ३ लाख ६२ हजार १ जनाले दोस्रो डोज खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर