लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै – Nepal Press

लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै

जिल्ला प्रशासन र नगरपालिकाको लिखित आग्रहलाई समेत बेवास्ता

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले निषेधाज्ञाको बेवास्ता गर्दै स्थानीय र आयोजना प्रभावितका लागि साधारण सेयर निष्कासन गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा दैनिक ७ हजारको हाराहारीमा संक्रमित र ३५ जनाभन्दा बढीको मृत्युको तथ्यांक सार्वजनिक भइरहेको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न हालसम्म हाल ४८ भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेका छन् । कतिपय जिल्लामा निषेधाज्ञा लागूको तयारी छ ।

तर, मध्य भोटेकोशी जलविद्युत आयोजना र ग्लोबल आईएमई क्यपिटल लिमिटेडले यो जोखिमलाई पूर्णरूपमा बेवास्ता गरेका छन् ।

अटेरी आयोजना

मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थानीय र आयोजना प्रभावित बासिन्दाका लागि भन्दै ६० लाख कित्ता साधारण सेयर जारी गरेको छ । आयोजनाले कूल जारी पुँजीको १० प्रतिशत स्थानीय जिल्लाबासीका लागि सेयर निष्कासन गर्नुपर्ने ‘धितोपत्र सम्वन्धी ऐन २०६३’ मा व्यवस्था बमोजिम सिन्धुपाल्चोकबासीका लागि आईपीओ जारी गरेको हो ।

जसमध्ये मध्यभोटेकोशी आयोजना प्रभावितका सिन्धुपाल्चोक बासिन्दाका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक बासिन्दाका लागि निष्कासन गरिएको छ । १०० रूपैयाँप्रति कित्ताका दरले कम्तीमा ५० कित्ता र बढीमा ४०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रभावित स्थानहरूमा भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स), बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक घुम्थाङ्क र मानेश्वरा गा.वि.स ) रहेका छन् ।

वैशाख ५ गते आईपीओ निष्कासनका लागि नियामक धितोपत्र बोर्डबाट अनुमति पाएको आयोजनाले वैशाख २१ गते सेयर निष्कासनको मिति तोकेको थियो । तर , कोभिड १९ को नयाँ भेरियन्ट तिव्ररूपमा फैलिँदै गएको भन्दै सरकारले वैशाख १६ गतेदेखी नै काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्‍यो ।

आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन गर्नका लागि तोकिएको मिति निषेधाज्ञाभित्र परेको छ । सेयर निष्कासन तथा कारोवारलाई सरकारले अतिआवश्यक बस्तु तथा सेवाको सूचीभित्र समेत राखेको छैन । तर, आयोजनाले भने बलमिच्याइ गर्दै सेयर जारी गरेको छ ।

सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदले गरेको निर्णयनुसार सेयर कारोबारलाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा नराखेकाले मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर निष्कासन मिति स्वतः स्थगित हुने देखिन्छ ।

आयोजनाले निषेधाज्ञापछि मात्रै सेयर जारी गर्नका लागि अर्को मिति तय गर्नुपर्नेमा जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको छ । आयोजनाले संक्रमणको जोखिमलाई प्रवाह नगरी सर्वसाधारणलाई लाइन लगाएर सेयर भराइरहेको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी सिन्धुपाल्चोक धमाधम सेयर बिक्री भइरहेकाले फारम अपुग भएको प्रतिकृया दिन्छन् ।

‘जिल्लाबासीहरु लाइन लागेर सेयरको फारम लिइरहेका छन् । फारम अपुग भएकाले हामीले काठमाडौंबाट मगाएका छौ । कोभिडको चिन्ता नगरे हुन्छ सबैले सावधानीका उपाय अपनाएका छन्’, उनको दावी छ ।

सेयर भर्ने भीडका कारण सिन्धुपाल्चोकमा कोभिडको संक्रमित बढ्न सक्ने जोखिम देखिएको छ । बिक्री प्रवन्धकको जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलले भने सिन्धुपाल्चोकका ३७ स्थानमा र काठमाडौं उपत्यकाभित्र ७ अन्य बिक्री प्रवन्धकलाई यसको बिक्री अधिकार दिएको छ ।

आयोजनासँग असार ५ गतेसम्म आईपीओ जारी गर्न पाउने समय बाँकी छ । धितोपत्र सम्वन्धी ऐनले बोर्डले अनुमति दिएको २ महिनाभित्र निष्कासन गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

नियामकको कमजोर भूमिका

महामारीका कारण देशैभरका अस्पतालमा संक्रमितहरू तीव्ररूपमा बढिरहेको र अस्पतालसमेत नपाउने अवस्था रहेको भन्दै सरकारले आफैं सचेतना अपनाउन नागरिकलाई अपिल गरिसकेको छ । यो जोखिममा भने मध्यभोटे कोशीजलविद्युत आयोजना भने लाइन लगाएर सर्वसाधारणलाई सेयर भर्न लगाउदा समेत नियामक धितोपत्र बोर्ड मुकदर्शक भएर बसेको छ ।

हामीले यस विषयमा सम्पर्क गर्दा बोर्डका अध्यक्ष र प्रवक्ताबीचमै कुरा बाझिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना अनलाइनमार्फत सेयर भर्ने व्यवस्था गरिएको भन्दै आईपी‌ओ जारी हुँदा खासै ठूलो असर नगर्ने बताउँछन् । यसको म्याद जेठ २० गतेसम्म रहेकाले हतार गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ । ‘अनलाइनमार्फत आईपीओ भर्न पाउने व्यवस्था भएकाले आत्तिनुपर्ने अवस्था छैन फेरि जेठ २० गतेसम्म भर्न पाउने व्यवस्था छ नी’, उनले भने ।

तर, बोर्डका अध्यक्ष ढुङ्गानाको भनाइ र वास्तविकताबीच भने आकाश-जमिनको फरक पाइन्छ । मेरो सेयर मार्फत स्थानीयबासीका लागि सेयर जारी गर्न सक्ने आफूसँग प्रणाली नै नभएको सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् ।

‘स्थानीय बासिन्दाका लागि सेयर जारी गर्दा सोही स्थानमा बसेको प्रमाण आवश्यक पर्छ त्यससम्वन्धी जानकारी दिने हामीसँग प्रणाली नै छैन्’, उनले भने ‘फेरि स्थानीयलाई सेयर बाँडफाँड गर्दा सम्वन्धित स्थानमा नै जानुपर्ने कानूनी व्यवस्था समेत छ ।’

कोभिडको समयमा एकातर्फ आयोजना प्रभावित तथा स्थानीयबासिन्दा सेयर भर्ने अवस्था रहेको देखिँदैन भने अर्कोतर्फ सबै सर्वसाधारणको अनलाइनमा पहुँच पुगेको पनि देखिँदैन । त्यस्तै यसले संक्रमणको उच्च जोखिमसमेत बढाएको छ ।

त्यस्तै स्थानीय बासिन्दालाई आयोजनाले अनलाइनमार्फत नभइ लाइन लगाएर सेयरको आवेदन बिक्री गरिरहेको आयोजनाका सीईओले बताइसकेका छन् ।

यो विषयलाई लिएर धितोपत्र बोर्डका अध्यक्ष र प्रवक्ता नीरज गिरी बिचमा समेत नै फरक मत पाइन्छ ।

धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरी कम्पनीले सेयर जारी गर्न हतार गरेको बताउँछन् । ‘अहिले कोभिड संक्रमणबाट सुरक्षित रहनु मूख्य प्राथमिकता हो । नियामकले हरेक ठाउँमा हस्तक्षेप गर्नेभन्दा पनि उहाँहरू नै सचेत भएर सेयर जारी गरेको भए हुने थियो’, उनले भने ।

आयोजना र बिक्री प्रवन्धकले लापरवाही गरिरहेको भन्दै प्रवक्ता गिरीले भने ‘ अहिलेको परिस्थिति निकै संवेदनशील रहेकाले संक्रमणको अवस्थालाई हेरर असार ५ गते पछी पनि सेयर निष्कासनका लागि म्याद थप गर्न सकिने अवस्था थियो।‘

आवश्यक परे बन्द गर्ने

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर बिक्रीको मुख्य जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले पाएको छ । उसले एनआईबीएल, प्रभु क्यापिटल , लक्ष्मी क्यापिटल , सिभिल क्यापिटल , सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल गरी अन्य ६ वटा सहायक बिक्री प्रवन्धकलाई बिक्रीको जिम्मेवारी तोकेको छ । सँगै सिन्धुपाल्चोकका ३७ स्थानमा बिक्रीका लागि केन्द्रहरू तोकिएको छ ।

आफ्नो वेवसाइटमा अनलाइन प्रणालीको व्यवस्था गरिसकेको ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल बताउँछन् । ४ वर्षअघि नै गरिएको सम्झौता भएकाले भरसक काम सम्पन्न गर्न पाएको भए हुने जस्तो लागेर आयोजनाको अनुमतिमा नै काम अगाडि बढाएको उनी बताउँछन् ।

तर, धितोपत्र बोर्डले रोक्न आदेश दिएमा काम अगाडी नबढाउने उनको भनाइ छ । ‘धितोपत्र बोर्ड र आयोजनाले केही भनेको छैन त्यस सम्वन्धी आवश्यक निर्देशन आएमा हामी काम रोक्छौं । तपाईंहरूले पनि चासो राख्नु भएकाले म कम्पनीमा पनि छलफल गर्छु’, उनले भने ।

यता मर्चेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा एनआईबीएल क्यापिटल प्रमुख कार्यकारी अधिकृत समेत रहेका मेघबहादुर थापा अहिलेको अवस्थमा सेयर निष्कासन नगर्दा नै उचित रहेको बताउँछन् । ‘हामीले ग्लोबल आईएमई क्यापिटलसँग कुरा त गरेको हो तर , आयोजनाले नमानेको भन्ने जानकारी पाएका छौं । कोभिडको जोखिम उच्च भएकाले केहि समय पछाडि धकेल्दा नै उचित हुन्छ’, उनले भने ।

ईसेवा आईपीओमा कसरी जोडियो ?

मध्य भोटेकोशीको आईपीओमा सिन्धुपाल्चोकबासीले ईसेवाबाट समेत आवेदन दिइरहेका छन् । जबकी ईसेवा एक भुक्तानी सेवा प्रदायक मात्रै हो । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल ईसेवाले आईपीओको आवेदन लिन नमिल्ने बताउँछन् ।

‘ईसेवाले भुक्तानी सम्बन्धी काम गर्नका लागि मात्रै इजाजत लिएको हो त्यसैले उसले सेयर सम्बन्धी काम गर्न पाउँदैन,’ कँडेलले बताए । दोस्रो कारोबारको भुक्तानी , मेरो सेयरको नवीकरण र लांभाश भुक्तानी गर्न पाउने भए पनि फारम भराएरै आईवफओको रकम लिन नपाउने कँडेलको भनाइ छ ।

ईसेवाले भने सिन्धुपाल्चोकका स्थानीय र आयोजना प्रभावित आफ्ना ग्राहकहरुलाई नि:शुल्क सेवा मात्रै दिएको बताउँछ । ईसेवाका चिफ अपरेटिङ अफिसर रोशन लामिछानेले ग्लोबल आईएमई क्यापिटलको अनुरोधमा आफूहरूले सेवा मात्रै दिएको बताए ।

‘हामीले यो काम गरे बापत कुनै शुल्क वा लाभ लिएका छैनौं । ग्लोबल आइएमई क्यापिटलले अनुरोध गरेकाले हामीले उसलाई सहयोग र हाम्रा ग्राहकलाई सुविधामात्रै दिएको हो’, उनले भने । ‘वीओ आईडी’र हितग्राही खाता भएका ईसेवाका ग्राहकलाई मात्रै मध्यभोटेकोशी आयोजनाको सेयर भर्न सक्ने व्यवस्था गरेको इसेवाले जनाएको छ । उसले ग्लोबल आईएमई क्यापिटललाई समेत एक्सेस दिएकाले सिन्धुपाच्लोकका स्थानीय बासिन्दा भए/ नभएको भेरिफाइ गर्न मिल्ने गरी आवश्यक कागजपत्र राख्न माग गरेको छ ।

सर्वसाधारणले ईसेवामार्फत वा अन्य कुनै पनि बैंकमार्फत आफूले आवेदन दिएको सेयरका लागि रकम जम्मा गर्न सक्नेछन् । शंकास्पद र प्रमाणीकरण हुन नसकेका आवेदनहरुलाई रद्ध गरी सोही माध्यम मार्फत रकम फिर्ता गर्ने व्यवस्था गरिएको समेत ईसेवा र बिक्री प्रवन्धक आईएमई क्यापिटलले जनाएको छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पत्र लेखेरै आफ्नो नगर क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यस्तो बेलामा आईपीओ भराउने काम रोक्न आग्रह गरेका थिए । तर, प्रशासन र नगरपालिकाको आग्रहलाई समेत आयोजनाले बेवास्ता गरेको छ ।

ग्लोबल आईएमई क्यापिटलका अनुसार हालसम्म आयोजना प्रभावितको तर्फबाट ६४ वटा आवेदनमार्फत २० हजार ३०० कित्ताका लागि २० लाख ३० हजार बराबरको आवेदन परेको छ । त्यस्तै सिन्धुपाल्चोक जिल्लाका तर्फबाट ५ सय ३७ वटा आवेदन मार्फत १ लाख ९ हजार ९ सय ८० कित्ताका लागि १ करोड ९ लाख बराबरको आवेदन परेको छ ।

गैरसिन्धुपाल्चोकबासीले पाउने चिन्ता

१०२ मेवावाट क्षमता भएको यस परियोजना करिब ६ अर्ब पुँजी भएको कम्पनी हो । ६० लाख कित्ता सर्वसाधारणका लागि जारी गरेपनि निकट भविष्यमा यस कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता सर्वसाधारणका लागि आईपीओ जारी बताएको छ । अहिले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर पुँजीमा निकै नै चलखेल भइरहेको छ । ठूलो आयोजना भएकाले यसको सेयर मूल्य उच्च हुने कारोबारीहरू बताउँछन् । त्यसैका लागि अहिले देखि नै धमिलो पानीमा माछा मार्ने काम भइरहेको उनीहरूको आशंका छ ।

धितोपत्र कारोबार सम्बन्धी ऐनले आयोजना प्रभावित तथा स्थानीय बासिन्दाका लागि सेयर बिक्री गर्दा सम्बन्धित स्थानमा नै बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ । वास्तविक स्थानीय बासिन्दा र आयोजना प्रभावितहरूले सेयर पाउन् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । तर, कोभिडको समयमा यसरी जथाभावी अनलाइनमार्फत सेयर खरिद विक्री गर्दा वास्तविक सर्वसाधारणले नपाइ अरु व्यक्तिको पहुँचमा सेयर पुग्ने जोखिम समेत बढेको छ ।

कोभिडको समयमा एकातर्फ आयोजना प्रभावित तथा स्थानीयबासिन्दा सेयर भर्ने अवस्था रहेको देखिँदैन भने अर्कोतर्फ सबै सर्वसाधारणको अनलाइनमा पहुँच पुगेको पनि देखिँदैन । त्यस्तै यसले संक्रमणको उच्च जोखिमसमेत बढाएको छ ।

प्रशासन र नगरपालिकाको आग्रह बेवास्ता

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, प्रहरी प्रमुख राजन अधिकारीले पनि आयोजना प्रमुखलाई महामारीको जोखिमका बेला भीडभाड नगराउन आग्रह गरेको थियो ।

त्यस्तै बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पत्र लेखेरै आफ्नो नगर क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यस्तो बेलामा आईपीओ भराउने काम रोक्न आग्रह गरेका थिए । तर, प्रशासन र नगरपालिकाको आग्रहलाई समेत आयोजनाले बेवास्ता गरेको छ ।

बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिन भन्छिन्, ‘हामीले आग्रह गरेपनि मध्य भोटेकोशी आयोजनाले टेरेको छैन । जनतालाई ढोका थुनेर राख्ने अिन सेयर बैंकमा गएर सेयर भर्नु भन्ने यो ठीक भएन ।’

उममेयर सुशीला पाख्रिन

भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाभित्र पर्ने आयोजनालाई यस्तो बेलामा आईपीओ नभराउन सम्बन्धित निकायले आग्रह गरिएको थियो ।

भोटेकोशी गाउँपालिकाले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सबैभन्दा जोखिममा बैंकका कर्मचारी छन् ।


प्रतिक्रिया

One thought on “लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै

  1. ग्लोबल आईएमई क्यापिटल र मध्य भोटेकोशी जलविधुत कम्पनीले online बाट शेयर भर्न दिएको तरिकाको बारे पनि बिस्तृत जानकारीको समाचार पनि सम्प्रेसन गरेर जनताको पहुच पुर्याउने सहयोग गर्नु हुनेछ भने आश गर्दै
    शेयर भर्ने वेबसाइट http://onlinedemat.globalimecapital.com/shareapply यो हो । तथा भर्ने प्रक्रियाको सम्पूर्ण बिस्तृत जानकारीको videoको वेबसाइट https://www.youtube.com/watch?v=KsnVXKgtdeE&t=142s मा रहेको पनि जानकारी गराउछु । प्रबिधि सिकेर सबै सुरक्षितरूपमा शेयर भर्न सकिन्छ ।

Leave a Reply to Binod Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर