बाँकेमा होम आइसोलेसनका संक्रमितलाई स्वास्थ्य किट – Nepal Press

बाँकेमा होम आइसोलेसनका संक्रमितलाई स्वास्थ्य किट

रूपन्देही । कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरक्षेत्रभित्र होम आइसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन अनूगमन समितिको बैठकले निर्णय गरेको छ ।

स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगञ्जमा हाल दुई हजार ४०० जना होम आईसोलेसनमा बसेका छन् ।

बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो । बैठकमा वडास्तरीय फोकल पर्सनहरुले रिपोर्टिङ गरेका थिए ।

स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको स्वास्थ्यशाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मीलाई मनोवल बढाउन आग्रह

उपमहानगरपालिकाले कोभिड –१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेको छ ।

कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरुको अनुगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवलशम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंसा गरे।

बैठकमा उपप्रमुख उमा थापा मगरले स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारी र जनप्रतिनिधिहरुले उच्च जोखिमका बीचमा पनि कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी वहन गरेको भन्दै आगामी दिनमा झन उच्च मनोवलका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरिन् ।

कार्यक्षेत्रमा कुनै समस्या वा कठिनाई भएमा तत्काल जनप्रतिनिधिहरुको सम्पर्कमा आउनुहोला, उपप्रमुख मगरले भनिन्,– तपाईहरुको कामको उच्च मुल्यांकन भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरेको छ । सीमानाकामा हेल्थडेस्क सञ्चालन गरिरहेको छ ।

आइसोलेसन र हेल्थडेस्कसँगै होम आईसोलेसनमा बसेका कोभिड संक्रमितको परामर्शका लागि पनि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । आईसोलेसनमा बसेकाहरुको खाना र नास्ताको व्यवस्था उपमहानगरपालिकाले गरिरहेको छ ।

यसैबीच नेपालगञ्ज उप–महानगरपालिकाभित्र रहेका संक्रमितहरुलाई निशुल्क औषधी वितरणका सम्बन्धमा मंगलबार वडास्थित स्वास्थ्य संस्थाका प्रमुखहरुको बैठक उपमहानगरपालिकामा बसेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *