बंगालमा ह्याट्रिकपछि दिदीको सपथ, केरलामा कम्युनिस्टको दुई तिहाई – Nepal Press

बंगालमा ह्याट्रिकपछि दिदीको सपथ, केरलामा कम्युनिस्टको दुई तिहाई

काठमाडौं । पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा ममता बेनर्जीले बुधबार तेस्रोपटक सपथ ग्रहण गरेकी छिन् । तृणमूल कंग्रेस नेतृले राज भवनमा आयोजित एक संक्षिप्त समारोहमा सपथ लिएकी हुन् ।

कोभिड-१९ महामारीको कारण सीमित व्यक्तिलाई मात्र सपथ समारोहमा आमन्त्रित गरिएको थियो । गभर्नर जगदीप धंकरले बेनर्जीलाई सपथ ग्रहण गराए ।

सपथ ग्रहणपछि बोल्दै बेनर्जीले पार्टीलाई जिताउन योगदान दिने कार्यकर्तालाई धन्यवाद दिइन् । उनले मुख्यमन्त्री भएपछि आफ्नो पहिलो प्राथमिकता कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्नु रहेको समेत बताइन् ।

कोरोनाको परिस्थितीबारे छलफल गर्न उनले आजै आपतकालिन बैठक बोलाउने समेत जानकारी दिइन् । भारी बहुमतसाथ तृणमूल कंग्रेस पुनः पश्चिम बंगालको सत्तामा फर्किएको छ ।

आफ्नो निर्वाचन क्षेत्र नन्दीग्रामबाट पराजित भएपनि ममताले टीएमसीको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । ६ महिनामा उनले संसदबाट विश्वासको मत लिनुपर्छ । लिन नसके उनले मुख्यमन्त्री छाड्नुपर्नेछ ।

बीजेपीका शुभेन्दु अधिकारीले नन्दीग्रामबाट बेनर्जीलाई हराएका थिए । नरेन्द्र मोदीको बीजेपी दोस्रो दल बनेपनि बंगालको राजनीतिमा उसले राजनीतिक हैसियत आर्जन गरेको छ । पाँचवर्षअघि ३ सिट जितेको बीजेपीले २०२१ को चुनावमा झन्डै ८० सिट प्राप्त गरेको छ ।

चुनाव पछिको हिंसामा १२ को मृत्यु

चुनावी मत परिणाम आएपछि भड्किएको हिंसामा पश्चिम बंगालमा मंगलबार बेलुकासम्म १२ जनाको मृत्यु भएको छ । हिंसात्मक परिस्थितीलाई लिएर मुख्यमन्त्री बेनर्जीले मंगलबार मुख्य सचिव र सुरक्षा अधिकारीसँग छलफल गरेकी छिन् ।

पूर्वी बार्धमन जिल्लामा ५५ वर्षे टीएमसी कार्यकर्ता श्रीनिवास घोषको मंगलबार बेलुका बीजेपी कार्यकर्ताको आक्रमणमा हत्या भएको भन्दै हिंसा मच्चिएको हो । घर फर्किँदै गर्दा आक्रमणमा परेका उनलाई अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हिंसामा थप दुई टीएमसी कार्यकर्ता र एक बीजेपी कार्यकर्ताको समेत मृत्यु भएको छ ।

केरलामा कम्युनिष्ट पार्टीले जित्यो ९९ सिट

सन् १९७७ पछि एकल बहुमतसाथ बामपन्थी दलले केरलामा सरकार बनाउँदैछ । लेफ्टको बहुमतसँगै यसअघि केरलामा हुने आलोपालो सरकार र अस्थिर राजनीतिको अध्याय टुंगिएको छ ।

कूल १४० सिटमध्ये कम्युनिष्ट गठबन्धनले ९९ सिट जितेको हो । जसमध्ये कम्युनिष्ट पार्टी अफ इन्डियाले ६२ सिट जितेको छ । रोचक कुरा के छ भने, सत्तारुढ भारतीय जनता पार्टीले केरलामा एक सिट पनि जित्न सकेन । सन् २०१६ मा बीजेपी एक सिट जितेको थियो ।

बामपन्थी गठबन्धनबाट पिनाराय बिजयनन मुख्यमन्त्री बन्दैछन् । बाढी, कोभिड–१९ र निपाह जस्ता महामारी र आपतकालको बीचमा कम्युनिष्ट सत्तामा फर्किएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *