उपेन्द्र निवासमा प्रचण्ड-माधवसहितको छलफल, संसदमा ओलीलाई असफल बनाउने – Nepal Press

उपेन्द्र निवासमा प्रचण्ड-माधवसहितको छलफल, संसदमा ओलीलाई असफल बनाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु सघन छलफलमा जुटेका छन् । यो गठबन्धनमा एमालेको माधव नेपाल पक्ष पनि समेटिएको छ ।
मंगलवार देउवासहित छलफल गरेका नेताहरु बुधवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा छलफल गरेका छन् ।

जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै परेका माधव नेपाल सहित प्रचण्डले छलफल गरेका हुन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल छलफलका लागि जुटेको बताइएको छ ।

तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको यादवनिकट स्रोतले बताएको छ । एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम-उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषय छलफलमा रहेको छ । त्यस्तै जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको छ ।

यसअघि हिजो साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा यी तीन नेता र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन ओलीइतरका नेताहरूले भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।


प्रतिक्रिया

One thought on “उपेन्द्र निवासमा प्रचण्ड-माधवसहितको छलफल, संसदमा ओलीलाई असफल बनाउने

  1. उमेर पुगेका खराब माझहरू विपक्षीसँग मिलेर कथित विद्रोहको धम्की दिदै तयारी पनि गर्दैछन् तर राजनैतिक उमेर अझै भएकाहरूले विवेक पुर्‍याएर एकता जोगाउन उपयोगितावादको जालमा नपरी फ्याँकेर कुण्ठाको टपरी अनि त्यागसँगै समझदारी गरेर पार्टी एकताको पक्षमा उभिदै प्रम ओलीलाई विश्वासको मत दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर