निषेधाज्ञामा पनि रोकिएन काष्ठमण्डपको पुनर्निर्माण – Nepal Press

निषेधाज्ञामा पनि रोकिएन काष्ठमण्डपको पुनर्निर्माण

काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माण को काम नियमित भइरहेको छ ।

हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने सहमतिअनुरुप काम भइरहेको हो ।

यही वैशाखभित्र पुनर्निर्माणको काम सकी उद्घाटन गर्ने तयारी रहे पनि छानो छाउने काठ समयमै उपलब्ध नहुँदा पुनर्निर्माणको काम सक्न अझै केही समय लाग्ने भएको छ ।

पुनर्निर्माणको कामअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । छानोकै लागि रौतहटबाट ल्याइएका काठ हेटौंडामा आइपुगेको छ । आठसय क्युफिट (घनफिट) काठ चिरेर ल्याउनुपर्ने भएकाले सोहीअनुरुप ल्याउने तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।

उक्त सम्पदाको हालसम्म पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ ।

२०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप तीन वर्षअघि पुनर्निर्माणका लागि क्षमापूजा गरिएको थियो ।

उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको छ । सातौँ शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको हो । केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर