नारायणीदेखि महाकालीसम्मको डिजिटल नापी शुरु – Nepal Press

नारायणीदेखि महाकालीसम्मको डिजिटल नापी शुरु

रुपन्देही । नारायणीदेखि महाकालीसम्मको डिजिटल नापी मंगलबारबाट शुरु भएको छ । नापी विभागले त्रिआयामिक भौगोलिक स्वरुप र अर्थोफोटो (फोटो नक्सा) तयार पार्नका लागि यस्तो प्रविधिको लाइडर सर्वेक्षण शुरु गरिएको हो ।

पश्चिम तराईका जिल्लाको लाइडर सर्वेक्षण सुरु गरिएको विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए । हवाई फोटोग्राफबाट डाटा संकलन गर्ने कार्यलाई लाइडर सर्वेक्षण भनिने र यसरी तयार पारिएका फोटा डिजिटल टेरैन मोडलका हुने उनको भनाइ छ ।

अर्थोफोटो हवाई जहाजबाट खिचिएको हवाई फोटोको प्रशोधित स्वरुप हो, जसमा नापिएको दूरी, जमिनका सम्बन्धित विन्दु बीचका दूरीसँग समानुपातिक हुन्छन् । यी डाटा विकास निर्माण कार्यका लागि उपयोगी साधान हुन्छन् ।

लाइडर सर्वेक्षणबाट डाटा उपलब्ध भएपश्चात् विकास निर्माणका कार्य जलविद्युत्, सडक, खानेपानी, सिंचाई, दैवीप्रकोप पूर्वानुमान, सुरक्षा रणनीतिलगायतका काममा फिल्डमा गएर सर्वेक्षण गर्न पर्दैन भने यसले समय र आर्थिक लगानी बचतसमेत हुन्छ ।

विभागका निर्देशक दामोदर ढकालका अनुसार जटल टेरैन मोडेल भन्नाले सो क्षेत्रको प्रत्येक विन्दुको समुन्द्री सतहबाट जमिनको सतहको विन्दुसम्मको उचाइको अवस्था हो । लाइडर सर्वेक्षण ठूला मापनमा आधारभूत नक्सा तयार गर्न उपयोगी हुनुका साथै योजना निर्माणका लागि अझ बढी शुक्ष्मताका साथ अध्ययन गर्ने आधारशीला तयार हुन्छ ।

योजनाको प्रभावकारिता समेत अभिबृद्धि हुन गई विकास निर्माणका लागि आवश्यक प्रारम्भिक सर्वेक्षण कार्य गर्न पर्दैन् । मंगलबार रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध रुविमानस्थलमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले लाइडर सर्वेक्षणको शुभारम्भ गर्दै डिजिटल नेपाल निर्माणमा सर्वेक्षणले प्रभावकारिता ल्याउने बताइन् ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले भैरहवा, नेपालगंज र धनगढी गरी ३ वटा प्वाइन्टबाट पहिलोचरण सर्वेक्षण गरिने बताए । नापी विभागकाअनुसार यसअघि फिल्ड सर्वेक्षण गरिसकिएको छ ।

हवाई जहाजबाट भने पहिलोचरणमा कञ्चनपुरदेखि चितवनसम्मको २० हजार वर्गकिलोमिटर क्षेत्रको लाइडर सर्वेक्षण गरिनेछ । चालु आर्थिक वर्षमा पहिलो चरणको सर्वेक्षण सक्ने योजना बनाइएको छ ।

आउने वर्ष दोस्रो चरणमा पूर्वी तराईका जिल्लाको सर्वेक्षण गरिनेछ । पहिलो चरणको सर्वेक्षणका लागि फ्रान्सबाट जहाजसहितको विशेषज्ञ टोली आएको छ भने आर्थिक सहयोग पनि गरेको छ । जहाजमा स्याटेलाइट क्यामेरा जडान गरि फोटो खिचेर डाटा संकलन गरिने छ । दोस्रो चरणको लाइडर सर्वेक्षणका लागि जापानको जाइकाले सहयोग गर्ने जनाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *