गण्डकी प्रदेश : प्रदेशसभाबारे सर्वदलीय बैठक पनि अनिर्णित – Nepal Press

गण्डकी प्रदेश : प्रदेशसभाबारे सर्वदलीय बैठक पनि अनिर्णित

पोखरा । गण्डकी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कुनै निष्कर्ष दिन नसकेपछि बैठक झन अन्योल बनेको छ ।

वैशाख १५ गते सदन अनिश्चितकालका लागि स्थगन भएपछि अर्को बैठक अनिश्चित बनेको हो । सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठक अनिर्णित बनेपछि सर्वदलीय बैठकलाई जिम्मा दिइएको थियो ।

तर, मंगलबार करिब २ घण्टाको सर्वदलीय बैठकले पनि निर्णय गर्न नसकेपछि पुन: बिहीबार कार्य परामर्श समितिको बैठक बस्ने तय भएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन छ । सत्तारुढ दल उक्त प्रस्तावलाई केही समय पर धेकेल्न चाहन्छ भने विपक्षी दलहरू चाँडै टुंगो लगाउनुपर्ने पक्षमा छन् ।

‘बैठकमा मुख्यमन्त्री ज्यूले कोभिडको लकडाउन पनि भएकाले वैशाखपछिमात्रै सदन शुरू हुने आफ्नो भनाइ राख्नुभयो,’ जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले भने, ‘तर, त्यतिञ्जेलसम्म हामी प्रदेशसभालाई बन्धक बनाएर राख्न चाहँदैनौं । सकेसम्म यही हप्ताभित्र टुंग्याउनुपर्ने भनाइ राख्यौं ।’

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले अब सदन कहिले शुरू हुन्छ भन्नेबारे बिहीबारको बैठकले मात्रै निर्णय दिन सक्ने बताए । ‘बिहीबारको कार्य व्यवस्था समितिको बैठकले एउटा निकासमा पुर्‍याउला ! नसके फेरि सर्वदलीय बैठक बस्छ,’ उनले भने ।

सभामा पेस भएको मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि वैशाख १५ गते मतदान गर्ने कार्यसूची थियो । तर, जनमोर्चा सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि सदन स्थगन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर