भारतीय गाडीमा बालकको मृत्यु प्रकरण : अनुसन्धान जटिल – Nepal Press

भारतीय गाडीमा बालकको मृत्यु प्रकरण : अनुसन्धान जटिल

दाङ । पाकिङमा राखेको लक लागेको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीनजना बालकको शव फेला परेको घटनाको अनुसन्धान गर्न झन् जटिल भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान गर्न झन जटिल भएको छ । उनका अनुसार पोष्टमार्टम रिपोर्टमा चोटपटक पनि नदेखिएको र गाडीमा निसास्सिएर मृत्यु भएको भन्न नसकिने उल्लेख छ ।

जसका कारण प्रहरीलाई अनुसन्धान गर्न समस्या भएको हो । शव फेला परेको समयभन्दा कम्तिमा २४ घन्टा अघि मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।

पोष्टमार्टम रिपोर्टमा कुटपिटबाट मृत्यु भएको नखुलेपछि प्रहरीले अब विष सेवन गराएको हुन सक्नेतर्फ अनुसन्धान शुरु गरेको छ ।

जसकालागि प्रहरीले आज विष सेवन भएरनभएको पत्ता लगाउन भिसेरा काठमाडौ पठाएको छ । गाडी मालिक यादव गैरे र चालक पदम बस्नेतलाई कर्तव्य ज्यानमा मुद्दा चलाइएको छ ।

गत शनिबार बेलुकी तुलसीपुर ६ गाइडरका भिमबहादुर परियारका १० वर्षीया छोरा सन्देश,सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण लक गरेर राखिएको गाडीमा मृत भेटिएका थिए ।

मृतकका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने अडान राख्दै शव बुझ्न मानेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर