अस्पताल चाहर्दा चाहर्दै जनकपुरमा एकको मृत्यु – Nepal Press

अस्पताल चाहर्दा चाहर्दै जनकपुरमा एकको मृत्यु

जनकपुरधाम । जनकपुरमा अस्पताल चाहर्दै गर्दा मिथिला नगरपालिकास्थित तुलसी पाटो टोलका अन्दाजी ४० वर्षीय लोकबहादुर परियारले ज्यान गुमाएका छन् । उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

बेड खाली नभएको भन्दै उनलाई अस्पतालहरूले उपचार नगरी फर्काएको थियो । केही दिनयता बटेश्वर गाउँपालिका-४ ससुरालीमा बसेका परियारलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्य बिग्रिएपछि सोमवार साँझ करिब ७ बजे आफन्तले स्थानीय क्लिनिकमा लगे । तर, क्लिनिकका स्वास्थ्यकर्मीले यहाँ उपचार सम्भव नहुने भन्दै जनकपुर लग्न सुझाए ।

लगत्तै उनलाई जानकी देवी स्मृति प्रतिष्ठानको एम्बुलेन्स भाडा गरेर जनकपुर लग्यो । करिब ८ बजे प्रादेशिक अस्पतालमा पुर्‍याइएकोमा आईसियू बेड खाली नभएको जवाफपछि फर्काइयो । कोभिडका बिरामी उपचार गरिरहेको बताउने सो अस्पतालमा चिकित्सकले बिरामी भर्ना भने लिन नमानेको आफन्तको गुनासो छ ।

प्रादेशिक अस्पतालले भर्ना नलिएपछि बिरामीलाई जानकी हेल्थ केयर र रामजानकी अस्पताल लगियो । त्यहाँ अस्पतालको मूल गेटभित्र पनि पस्न पाएनन् ।

एम्बुलेन्स चालक रामबाबु महतो भन्छन्, ‘जनकपुरमा कुनै अस्पतालले भर्ना लिन नमानेपछि आफ्न्तले घर नै लगिदिनु भने । त्यसपछि बटेश्वरको आरपी मेडिकल हल (क्लिनिक) मा बिरामीलाई उतारिदिएँ । म अर्को विरामी बोकेर काठमाडौं आएँ । अहिले थाहा भयो उनको मृत्यु भइसकेछ ।’

उनका अनुसार एम्बुलेन्समा राख्ने बेला ठीकै थियो । तर, ५/७ मिनेटपछि सास फेर्न गाह्रो भयो भनेपछि अक्सिजन पनि लगाइयो । अक्सिजनकै अभावका कारण उनको मृत्यू भएको हुनसक्छ ।

आज बिहान करिब ७ बजे परियारको मृत्यु भएको आरपी मेडिकल हलका संचालक सुवोध साहले जानकारी दिए । उनले भने, ‘राति ल्याएपछि बाहिर लग्नुस् भनेर फर्काइदिएको थिएँ । बिहान क्लिनिक खोल्न पुनः अर्को व्यक्ति लिएर आइपुग्यो । यहाँ उपचार सम्भव छैन, बाहिर लग्नुस् भनेर राति फर्काएको थिएँ, फेरी किन ल्याउनुभयो भन्दै गर्दा मृत्यु भयो ।’

क्लिनिकको सिँढीमै परियारको मृत्यु भएपछि आफन्तले समेत शव छाडेर हिँडेका छन् । शव व्यवस्थापनको लागि प्रहरी गुहारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर