माधव नेपाल समूहमा छलफल- वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा ! – Nepal Press

माधव नेपाल समूहमा छलफल- वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा !

कांग्रेस-माओवादी गठबन्धनलाई बहुमतमा पुर्‍याउने अन्तिम विकल्प

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेको अवस्थामा राजनीतिक रूपमा विभाजित रहेको नेकपा एमाले सग्लो रहला ?

यो प्रश्नमा केन्द्रित रहेर दुई विकल्पमा चर्चा भइरहेको बेला एकाएक तेस्रो तर राजनीतिक रूपमा उथलपुथल ल्याउन सक्ने नयाँ विकल्पबारे समेत छलफल शुरू भएको छ ।

अहिलेसम्म माधव नेपाल पक्षका सम्भावित दुई विकल्प थिए ।

पहिलो, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने र पार्टी एकताको पक्षमा आफूहरू रहेको सन्देश स्थापित गर्ने ।

अनि दोस्रो, ओलीले यसबीचमा आफूहरूसँग संवाद र सहयोगको याचना नगर्ने र पार्टी एक बनाउन पहल नगर्ने हो भने संसदमै उपस्थित भएर विपक्षमा मतदान गर्ने वा अनुपस्थित हुने ।

तर माधव नेपाल समूहमा अब तेस्रो विकल्पमाथि समेत छलफल शुरू भएको छ । त्यो भनेको, ओलीलाई सत्ताच्यूत गर्न र उनकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पुर्‍याइदिने ।

अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए ।

त्यसका लागि माधव नेपाल समूहका कम्तीमा २१ जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि सघन छलफल शुरू भएको एमालेका एक प्रभावशाली नेताले बताए । त्यो विकल्पमा जानुअघि ओलीसँग निर्णायक संवाद र शेरबहादुर देउवा तथा प्रचण्डसँग पनि छलफल हुने बताइन्छ ।

आफूहरूले विश्वासको मत दिए ओली सरकार जोगिने र नदिए पनि जसपाको एउटा पक्षको साथ पाएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि माधव पक्षले तेस्रो विकल्पमाथि छलफल थालेको हो । त्यसो भयो भने वैशाख २७ अघि नै एमाले विभाजनको प्रक्रिया टुंगिनेछ ।

राजीनामाको विकल्प किन ?

प्रतिनिधिसभाको गणितलाई केपी ओलीको प्रतिकूल बनाउन र माधव नपाल पक्षकै नेताहरूका भनाइमा ‘ओलीको दम्भलाई ओराल्न’ सांसद पदबाट सामूहिक राजीनामा राजनीतिक निर्णय हुनसक्छ । नेपाल पक्षका सांसदले राजीनामा दिएपछि प्रतिनिधिसभामा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र बाबुराम पक्षको बहुमत पुग्छ ।

हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ ।

त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ । ओलीविरुद्ध अविश्वास प्रस्ताव आएको भए माधव पक्षले फ्लोर क्रस गरेर मत दिँदा सरकार ढल्थ्यो । माधव पक्षका सांसदहरूमाथि त्यसपछिमात्र कारवाही हुँदा कम्तीमा ओलीको साटो शेरबहादुर देउवाको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो ।

अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘केपी ओलीले हामीलाई एमाले भएर बस्न नदिने नै भएपछि सीमित विकल्प छन् । अविश्वास प्रस्ताव आएको भए हामीलाई अप्ठेरो पर्थ्यो । ओली आफैं विश्वासको मत लिन गएपछि फ्लोर क्रस गरेर ढाल्नुभन्दा सामूहिक राजीनामा दिनु राजनीतिक निर्णय हुने देखियो ।’

आफ्नै पार्टीविरुद्ध फ्लोर क्रस गरेको सन्देश राम्रो नजाने भएकाले राजनीतिक निर्णयका आधारमा सांसदहरूले राजीनामा दिएर हिडेपछि संसदमा विपक्षीको बहुमत पुग्ने र ओलीको सरकार ढल्ने बुझाइ माधव नेपाल पक्षको छ । सामूहिक राजीनामा राजनीतिक नैतिकताको हिसाबले पनि उपयुक्त विकल्प परहेको बुझाइ नेताहरूको छ ।

राजीनामा दिँदा वैशाख २६ को अबेर वा २७ गते प्रतिनिधिसभाको बैठकअघि सभामुखसमक्ष दिने सम्भावना छ । त्यसो भयो भने समानुपातिक सांसदको पदपूर्ति गर्ने मौका केपी ओलीले पाउँदैनन् भन्ने बुझाइ नेपाल पक्षका नेताहरूको छ ।

ती नेताले भने, ‘ओलीले हामीबिनाको एमाले बनाएर हिडिसकेपछि हामीले ओलीलाई विश्वासको मत दिएर जोगाउनु जरुरी छैन । यसबीचमा उनले जेठ २ मा फर्किने कुरालाई कुनै न कुनै रूपमा सम्बोधन गरे भने अझै पनि मौका छ । जे-जे निर्णय गर्ने हो त्यही बैठकबाट गरे हुन्छ । नत्र अब राजीनामा दिएर विभाजनलाई पूर्णता दिने विकल्पमात्र बाँकी रह्यो ।

कर्णालीका ४ सांसदको फ्लोर क्रस र लुम्बिनीका एक सांसदको राजीनामाले एमालेको दिशा तय गरिसकेको छ । अब प्रतिनिधिसभाका माधव पक्षका सांसदहरूले सामूहिक राजीनामा दिए भने त्यो सिलसिला सबै प्रदेशमा चल्नेछ । एकैसाथ केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार ढाल्नका लागि सामूहिक राजीनामाको विकल्पमा छलफल भएको नेताहरूले बताएका छन् ।

कति जनाले राजीनामा दिन्छन् ?

आजको मितिमा माधव नेपाल पक्षसँग कम्तीमा ३० जना सांसद छन् । सर्वोच्च अदालतबाट एमाले ब्युँतिएको दिनसम्म नेपाल पक्षमा ४१ जना सांसद थिए । अदालतको फैसला लगत्तै लालबाबु पण्डित, माया न्यौपाने र विष्णु शर्माले संस्थापन पक्ष रोजे ।

त्यसपछि कृष्णभक्त पोखरेल र गोपाल बमले माधव नेपालको साथ छाडेका थिए । शेरबहादुर तामाङले प्रतिनिधिसभा पुनःस्थापनाअघिनै ओलीलाई साथ दिएका थिए ।

पछिल्लो समय ध्रुव शाही, पार्वती बिशुंखे, गंगा चौधरी सतगौंवा र बिना बुढाथोकीलगायतले संस्थापन पक्षमा झुकाव राखेका छन ।

राजीनामा दिँदा प्रत्यक्ष निर्वाचित सांसदहरूले दिनेछन् । समानुपातिकले दिए पनि उनीहरूको ठाउँमा बन्दसूचीबाट अरु निर्वाचित गराउने प्रक्रिया शुरू हुने भएकाले प्रत्यक्ष निर्वाचित २१ जनाले राजीनामा दिने गरी छलफल भएको बताइएको छ ।

यदि २१ जनाले राजीनामा दिए भने एमालेको प्रतिनिधिसभामा १०० सिट हुनेछ । २१ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभाको संख्या २४६ हुन्छ । त्यसको सामान्य बहुमत भनेको १२४ हो ।

कांग्रेस, माओवादीको ११० हुने भएकाले जसपाको उपेन्द्र बाबुराम पक्षले १४ जनामात्र सांसद आफ्नो पक्षमा राख्न सक्दा पनि बहुमत पुग्ने हिसाब गरेरै राजीनामाको चर्चा चलेको हो ।

सामूहिक राजीनामा दिन माधव पक्षका २२ जना नै प्रत्यक्ष निर्वाचित सांसद तयार हुन्छन् कि हुँदैनन् ? प्रष्ट भइसकेको छैन । अहिले राजीनामा दिने भनेको २ वर्ष बाहिर रहने हो र राजनीतिक भविष्य पनि दाउमा राख्ने नै हो । जे भए पनि ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्या आफूहरूसँग तयार रहेको नेपाल पक्षका नेताहरू बताउँछन् ।

राजीनामा दिँदा वैशाख २६ को अबेर वा २७ गते प्रतिनिधिसभाको बैठकअघि सभामुखसमक्ष दिने सम्भावना छ । त्यसो भयो भने समानुपातिक सांसदको पदपूर्ति गर्ने मौका केपी ओलीले पाउँदैनन् भन्ने बुझाइ नेपाल पक्षका नेताहरूको छ ।

के ओलीले माधव पक्षलाई समेट्न कुनै लचिलो कदम चाल्छन् ? निकटस्थहरूका अनुसार त्यो सम्भावना कम छ । उनी गुटगत डिल नगर्ने र सांसदहरूसँग एक्ला एक्लै संवाद गर्ने लाइनमै यथावत छन् । तर, सामूहिक राजीनामाको कुरा ओलीमाथि माधव पक्षको अन्तिम र निर्णायक दबाब भने हुनेछ ।

माधव पक्षका प्रत्यक्ष निर्वाचित सांसद

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. हिराचन्द्र केसी

१८. झपट रावल

१९. भीमवहादुर रावल

२०. दिपकप्रकाश भट्ट

२१. राजबहादुर बुढा

२२‍. सुरेन्द्र पाण्डे

यो पनि पढ्नुहोस्:

 


प्रतिक्रिया

3 thoughts on “माधव नेपाल समूहमा छलफल- वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा !

  1. यो खालको आत्मघाती खेल त पक्कै नखेल्लान है!
    यतिखेर आएर देउवालाई प्रम बनाउन जोखिम मोल्ने कुरा मूर्ख्याई हुनेछ।

  2. साभासद पदबाट राजिनामा भनेकाे मतदाताकाे हत्या गर्नु सरह नै हाे । आवेग र घमण्डबाट हाेइन कि विवेक र विश्वासबाट निर्देशित हुन सिक्नु हाेस्
    ऐमालेबाट निर्वाचित जनप्रतिनिधिहरु
    आफ्नाे जीवन त्यागेर अरुका लागि किन मलामि जादै छाै ?

  3. नेकाका सभापति शेरबहादुर देउवालाई प्रम बनाउने प्रचण्डको सपना कुनैपनि वामपन्थीले ठीक भन्न सक्दैन् तिनीहरू ओलीका विरोधी नै किन नहुन अहिले एमालेमा माझहरूले विद्रोह गरेर ओली सरकार ढलाउँछन भन्ने हल्ला जसपालाई अलमल्याउन र माओवादी केन्द्रभित्रको विद्रोह रोक्न गरिएको सुनियोजित प्रचार हो।

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर