लुम्बिनीमा मुख्यमन्त्रीलाई विपक्षी चार दलले बहिष्कार गर्ने – Nepal Press

लुम्बिनीमा मुख्यमन्त्रीलाई विपक्षी चार दलले बहिष्कार गर्ने

दीर्घनारायणलाई साझा उम्मेदवारको ललीपप !

रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्रीलाई बहिष्कार गर्ने घोषणा गरेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएको दावी गर्दै ‘अवैधानिक सरकार’लाई प्रदेशभर बहिष्कार गर्ने घोषणा गरेको हो ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रदेशसभाको बहुमतले अल्पमतका मुख्यमन्त्रीलाई खारेजको घोषणा समेत गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले माओवादीमा प्रवेश गरेकी सांसद विमला वलीको कीर्ते हस्ताक्षर गरेर संसदीय दलको निर्णय गरेकाले त्यसको कुनै औचित्य नरहेको भन्दै कीर्ते हस्ताक्षरको विरोध गर्दै आन्दोलकका कार्यक्रमसमेत घोषणा गरिएको जानकारी दिए ।

कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले गठबन्धनको बहुमत सदस्यले मुख्यमन्त्रीको सपथ रोक्न निवेदन दिएको स्थितिमा प्रहरी दमन गरेर मुख्यमन्त्री नियुक्त गरी संविधानविपरीत सपथ ग्रहण गराउनु बहुमतको सरकारको मूल्य मान्यता र विधिको शासन तथा संविधानविपरीत भएको बताए । उनले विशेष अधिवेशन अन्त्य गरिनुले प्रदेशसभाको विशेषाधिकार हनन भएको समेत बताए ।

गठबन्धनले प्रदेश प्रमुख कार्यालयमा सांसदहरु निर्मला क्षेत्री, पुमर्ती ढेगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गिता थापा र दिपेश थारुलाई प्रहरीले धरपकट गरेको भन्दै कारबाहीको माग गरेको छ ।

दीर्घनारायणलाई साझा उम्मेदवारको ललीपप !

आइतबार आकस्मिक रुपमा नेकपा एमाले तथा लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई ४ दलको गठबन्धनले साझा उम्मेदवार बनाउने आश्वासन दिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट पाण्डेलाई साझा उम्मेदवार बनाउने सहमति भएको बताए ।

आइतबार बिहान एमालेको संसदीय दलको बैठकमा सहभागी पाण्डेले दिउँसो मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि राजीनामा दिएका थिए ।

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेको राजीनामा स्वीकृत भइसकेको छ ।

आइतबार सांसदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डेले सुविधा पाएको सरकारी गाडी फिर्ता चढिरहेका छन् ।

सामाजिक विकास समितिको जिम्मेवारीमा रहेका पाण्डेले आफू चढ्ने लु १ झ ४४५ नम्बरको गाडी अहिलेसम्म फिर्ता नगरेका हुन् । आज चार गठबन्धनको विरोध कार्यक्रमा सहभागी पाण्डेले सोही गाडी प्रयोग गरेका थिए ।

प्रदेशसभा सचिबालयका सूचना अधिकारी दिनेश अधिकारीले पाण्डेले सुविधाको गाडि फिर्ता नगरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर