ठूला सरकारी र निजी अस्पताललाई अब कोरोना अस्पताल बनाइने – Nepal Press

ठूला सरकारी र निजी अस्पताललाई अब कोरोना अस्पताल बनाइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै शैय्या भएका उपत्यकाका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गरिने बताएका छन् ।

नेपाली सेनालाई प्रदेश तथा राजधानीमा १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताउँदै ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि-चन्द्र मिलिटरी अस्पतालसहित ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गरिने बताए।

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भाइरसको दोस्रो लहर फैलिएको अवस्थामा जनतालाई स्वास्थ्य उपचारको प्रत्याभूति दिन यस्तो तयारी थालिएको बताए । कोरोनाविरुद्धको खोप प्रदान गर्नेमा नेपाल दक्षिण एसियामा भारतपछि रहेको भन्दै उनले यसलाई निरन्तरता दिइने बताए।

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको भन्दै उनले कोभिड १९ विरुद्धको लडाइँमा समन्वय गरेर काम गर्ने बताए ।

सबै स्थानीय तहमा ५ देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण र प्रदेश र केन्द्रमा संक्रामक अस्पताल निर्माणलाई तीव्रता दिइएको प्रधानमन्त्रीले बताए ।

प्रदेश सरकारले पनि प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन-कोभिड अस्पतालको रूपमा संचालन गर्ने उनले जनाए ।

सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गरिने प्रधानमन्त्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर