मध्यभोटेकोशीको आईपिओ भोलिदेखि खुला, स्थानीयलाई फराम भर्ने केन्द्रसम्म पुग्ने चिन्ता – Nepal Press

मध्यभोटेकोशीको आईपिओ भोलिदेखि खुला, स्थानीयलाई फराम भर्ने केन्द्रसम्म पुग्ने चिन्ता

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि मंगलबारबाट आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीको आयोजनास्थल सिन्धुपाल्चोकका स्थानीयका लागि आईपीओ जारी गर्न लागेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्र्रबन्धक पारसमणि ढकालले जानकारी दिए । मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो ।

कोरोना महामारीका कारण आईपिओ भर्न भने स्थानीयलाई सकस हुने भएको छ ।

कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखिएको छ ।

सरकारले निषेधाज्ञा गरेकाले काठमाडौंका शेयर भर्ने केन्द्रमा जान स्थानीयलाई सहज छैन ।

यसैगरी, सिन्धुपाल्चोकमा पनि टाढा–टाढाबाट स्थानीय शेयर भर्ने ठाउँमा आउनुपर्ने भएकालेसहज नभएको बताउँछन्, स्थानीयबासी सिताराम थापा । ‘यो महामारीमा मध्यभोटेकोशीको शेयर निष्कासन नगरेको भए ठीक हुने थियो । जिल्ला बाहिर बस्नेलाई त झन् समस्या छ । यो त मन नलागी नलगी दिन खोजेजस्तो मात्रै भयो ।’

बिक्री प्रवन्धकका सिईओ ढकाल भने निशेषाज्ञाले शेयर निष्कासनमा कुनै प्रभाव नपार्ने बताउँछन् । उनका अनुसार निष्काशन अवधि छिटोमा १५ दिन र ढिलोमा १ महिना राखिएकाले छ । सो अवधिमा स्थानीयले शेयर भरिसक्ने उनको बुझाइ छ । कम्पनीले अहिले नै शेयर निष्काशन गर्न भनेर आदेश दिएकाले पनि आफूहरु वाध्य भएको उनको भनाइ छ ।

उनका अनुसार काठमाडौंमा रहेका स्थानीयका लागि अनलाईनबाट आईपिओ भर्ने व्यवस्था मिलाउनेबारे अझै तयारी भइरहेको छ । तर, भोलि आईपिओ निष्काशन हुने मिति भने नसर्ने उनले स्पष्ट पारे ।

सहनिष्कासन तथा विक्री प्रवन्धक एनआईविएल एस क्यापिटलका अध्यक्ष मेहबहादुर थापाले यो समयमा स्थानीयलाई शेयर निष्काशन गर्दा समस्या हुने बताए । ‘यस्तो अवस्थामा हामीले शेयर निष्काशनको मिति पनि सारौ भनेका छौं, अब के हुन्छ । तर, आफूहरु सह–निष्काशन मात्र भएकाले पूर्ण निर्णय कम्पनी र ग्लोवल आईएमई क्यापिटलको हुने छ,’ उनले भने ।

धितोपत्र बोर्डले भने अहिले महामारीका बीचमा शेयर निष्काशन गर्न हतारा नगरेको भए हुने प्रतिक्रिया दिएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार वैशाख ५ गते मध्यभोटेकोशीलाई शेयर निष्काशनका लागि अनुमति दिइएको हो । धितोपत्र बोर्डले निष्काशन गर्न दिएको दिनदेखि दुई महिनसम्म कम्पनीले शेयर निष्काशन गर्न सक्छ । यसमा पनि केही विपत्तिनै आइलागे धितोपत्र बोर्डले समय लम्व्याउन पनि सक्छ । यसैले अहिले कम्पनीले हतार नगर्नु नै राम्रो हुने उनको तर्क थियो ।

नेपाल सकरकाले निषेधाज्ञा लगाएको ठाउँमा अत्यावश्यक चिजभन्दा बाहिरका सबै कुरा बन्द गर्नु भनेको छ । स्थानीय थापा प्रश्न गर्छन्– प्रहरीले अत्यावश्यक मानेर हाम्लाई शेयर भर्न जान देला त ?

यसरी स्थितिलाई मध्यनजर नगरी आईपीओ जारी गर्दा केही उच्च पहुँच भएका र जान्ने बुझ्नेले मात्र आईपीओ भर्ने र यसको फाइदा उठाउने थापाको भनाइ छ । यसबाट प्रभावित क्षेत्रका नागरिक बञ्चित हुने खतरा भएको थापा बताउँछन् ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओका लागि स्थानीय स्वयम् तोकिएको केन्द्रमा गएर फारम भर्नुपर्छ ।

कम्पनीले काठमाडौंका लागि विभिन्न ठाउँमा ६ वटा विक्री केन्द्र तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *