प्रधानमन्त्रीको आग्रह- कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गरौं – Nepal Press

प्रधानमन्त्रीको आग्रह- कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न आग्रह गरे । कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।

अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए ।

सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशिल रहेको पनि बताए ।

नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व रहेको बताउँदै प्रधानमन्त्रीले स्वास्थ्य सुविधाबाट कोही पनि बन्चित हुन नपरोस् भन्नेतर्फ सरकार गम्भिर रहेको पनि उनले बताए ।

संघ र प्रदेशबीच समन्वात्मक ढंगले कोभिडविरुद्ध एकजुट हुन सरकारका मन्त्रीलाई फोकल पर्सन तोकिएको जानकारी दिँदै प्रधानमन्त्रीले महामारीविरुद्ध एकजुट हुन राजनीतिक दलहरुलाई पनि आग्रह गरे ।

महामारी ब्यापकरुपमा फैलिने क्रम सुरु भएसँगै कन्ट्याक्ट ट्रेसिङ र संक्रमित पहिचान बनाउने काम थालिएको उनले जनाए । अत्यावश्यक लिक्विड अक्सिजन गैरकानूनी निर्यात गर्नेलाई कार्वाही गर्ने बताउँदै प्रधानमन्त्रीले देशमा उत्पादित अक्सिजनलाई अन्य क्षेत्रमा प्रयोग गर्न रोक लगाइने बताए ।

जीवनदायिनी औषधीको कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर्ने बताउँदै प्रधानमन्त्रीले जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन गराउन सुरक्षाकर्मीलाई टोल तथा वस्तीमा अनुगमनमा पठाउने प्रधानमन्त्रीले जनाए ।

जनस्वास्थ्य मापदण्ड पालनाको नेतृत्व गृह, सचेतनाको नेतृत्व संचार मन्त्रालय र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिए ।

२० गते रातीदेखि आन्तरिक उडान र २३ गते रातीदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने जानकारी दिँदै उनले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री र खोप उपलब्ध गराएकोमा मित्रराष्ट्रलाई धन्यवाद समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *