रिपोर्ट कुर्दाकुर्दै जान थाल्यो संक्रमितको ज्यान – Nepal Press
कहालीलाग्दो बन्दै कैलालीको स्थिति

रिपोर्ट कुर्दाकुर्दै जान थाल्यो संक्रमितको ज्यान

अस्पतालमा जनशक्तिसँगै अक्सिजन अभाव

कैलाली । कैलाली लम्की चुहा नगरपालिका १० की ३५ वर्षीया महिला स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगिन् । उनको आकस्मिक कक्षमा राखेर उपचार थालियो । कोरोना संक्रमण पुष्टि भयो ।

१८ गते सेती अस्पतालमा भर्ना भएका लम्की चुहाकै ३८ वर्षीय पुरुषको पनि सोमबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमणबाट ग्रस्त उनी कोरोना अस्पतालसम्म पुग्नै पाएनन् ।

यसरी कैलालीमा प्रत्येक दिनजसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ । सोमबार दिउँसोसम्मँ ६ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी २ का ४३ वर्षीय पुरुष, धनगढी ५ की ६० वर्षीया महिलाको पनि कोरोना संक्रमबाट मृत्यु भएको छ ।

त्यस्तै सोमबार नै कञ्चनपुर भिमदत्त नगरपालिका ७ का ६३ वर्षीय पुरुष, गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको मृत्यु भएको हो । ४ जनाको सेती प्रादेशिक अस्पतालमा र २ जनाको निजी अस्पतालमा मृत्यु भएको हो ।

यसअघि धनगढी ४ का ४० वर्षीय पुरुष र धनगढी ३ कि ४५ वर्षीया महिलको पनि उपचारकै क्रममा ज्यान गएको थियो ।

पुरुष सोही दिन कोरोनाको लक्षणसहित अस्पताल आएका थिए भने महिला दुई दिनअघि अस्पताल पुगेकी थिइन् ।

पिसिआर रिपोर्ट आउन ढिला हुँदा २ दिनसम्म उनी अस्पतालको आकस्मिक कक्षमै बस्नुपर्यो । रिपोर्ट आएर कोरोना अस्पताल पुग्न नपाउँदै १६ गते उनको ज्यान गयो ।

अस्पतालमा जनशक्ति, उपकरण र अक्सिजनको अभाव

गत वर्ष कोरोना संक्रमण बढिरहेको बेला प्रदेश सरकारले ५० शय्याको अस्थायी कोरोना अस्पताल तयार गरेको थियो । यस वर्ष सोही अस्पतालमा ५ शय्या थप्नेबाहेक प्रदेश सरकारले अर्को तयारी गरेको छैन ।

५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले सबै शय्या भरिएका छन् । थपलाई राख्ने ठाउँ नहुँदा संक्रमितहरु आकास्मिक कक्षमै ज्यान गुमाउन वाध्य छन् ।

सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ पनि ठाउँ अभाव र कोरोना पुष्टि नहुँदासम्म आकास्मिक कक्षमै राख्नु पर्न बाध्यता रहेको बताउँछन् ।

‘रिपोर्ट नआउँदा सम्म यहाँ राखेर उपचार हुन्छ । संक्रमण पुष्टि भइसकेपछि मात्रै कोरोना अस्पतालमा पठाउने हा’, उनले भने ।

अहिले पनि आकस्मिक कक्षमा कोरोनाका लक्षण देखिएका तर रिपोर्ट नआएका धेरै विरामीको उचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका खटिएका वरिष्ठ फिजिसियन डा. नीराजन दत्त शर्मा कैलालीमा संक्रमणको अवस्था भयावह हुँदै गइरहेको बताउँछन् । संक्रमण र मृत्यु दर बढिरहेकाले स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको उनको बुझाइ छ ।

‘हामीसँग ठाउँ र जनशक्ति दुवैको अभाव छ । त्यसैले जसलाई जहाँ सकिन्छ त्यहीं उपचार गरिरहेका छौँ’ उनले भने ‘बिरामी अस्पतालमा आइसकेपछि फर्काउनुभन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु उपयुक्त हो ।’

आकस्मिक कक्षमा पनि रिपोर्ट नआउँदासम्म उपचार हुने गरेको उनी बताउँछन् ।

विगतदेखि नै जनशक्ति अभाव रहेको अस्पतालमा कोरोनाको उपचार थालिएपछि थप समस्या भएको छ । त्यसै माथि कोरोना संक्रमितको उपचारमा खटिएका केही नर्सहरूमा पनि संक्रमण देखिएपछि समस्या भएको अस्पतालले जनाएको छ ।

त्यस्तै अस्पतालमा अक्सिजनको पनि अभाव छ । आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिन्डर ४७ किलोग्राम गरेर दैनिक ७५ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालले अहिले त्यो परिणाम घटेको जनाएको छ ।

‘अहिले ५५ देखि ६० सिलिन्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिन्डर को आवश्यकता पर्छ’ सूचना अधिकारी श्रेष्ठले भन्छन् ।

कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजनको माग ह्वात्तै बढेको उनको भनाइ छ । ‘हामीले मागका आधारमा उत्पादन गर्न नसके पनि जसोतसो व्यवस्थापन गरिरहेका छौँ’ श्रेष्ठले भने ‘संक्रमित थपिँदै गएमा अक्सिजन आपूर्तिमा असहज हुनसक्छ ।’

गर्मीका कारण लोड धान्न नसक्दा र बिद्युतका कारण अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने गरेको छ ।

अहिले कोरोना अस्पतालमा सिलिन्डर मार्फत अक्सिजनको आपूर्ति भइरहेको छ । सिलिन्डरको पनि अभाव हुन थालेकोसूचना अधिकारी श्रेष्ठले बताए ।

९७ वटा सिलिन्डरले मात्र काम चलाइरहेको अस्पतालले थप ५० वटा खरिदका लागि प्रक्रिया अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर