काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै – Nepal Press

काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै

काठमाडौं । नयाँ प्रजातिसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि उपत्यकाका अस्पतालमा केही दिनयता चाप बढेको छ ।  जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयूमा शय्या अभाव हुन थालेपछि एयर लिफ्टमार्फत बिरामी बाहिर लैजान थालिएको छ ।

कोरोना महामारीको पहिलो चरणमा गत वर्ष बाहिरी जिल्लाका संक्रमितलाई थप उपचारका लागि रेफर गरेर काठमाडौं ल्याउने गरिन्थ्यो ।

काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमितलाई बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ‘बेड सिफ्ट’ गरिएको छ ।

उपत्यकाका कुनै अस्पतालमा भेन्टिलेटरसहितको बेड नपाएपछि झापा कमल गाउँपालिका-५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको हो ।

स्वास्थ्यमन्त्रालयका अनुसार हिजोमात्रै नेपालमा सात हजार २११ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टामा २७ जनाको मृत्यु भयो ।  काठमाडौं उपत्यकामा मात्र ३ हजार ५९५ जनालाई संक्रमण पुष्टि भएको छ ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौंबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियूको अभाव भएपछि अस्पतालमा तारान्तार फोन आइरहेको छ ।

बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू शैया , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ । उनले भने, ‘तीमध्ये २५ भेन्टिलेटरसहित आईसीयू बेड कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति  छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर