१५ लाख साइबर आक्रमण जित्न सफल नागरिक एप – Nepal Press

१५ लाख साइबर आक्रमण जित्न सफल नागरिक एप

सुविधा थपिए, पौने ६ लाखले गरे डाउनलोड

काठमाडौं । १५ लाखभन्दा बढी पटकको साइबर आक्रमणलाई जित्दै पूर्ण सुविधासहितको नागरिक एप सार्वजनिक भएको छ । १२ प्रकारका सेवासहितको एपको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलले सार्वजनिक गरेका हुन् । पूर्ण रुपमा स्थायी लेखा अर्थात प्यान, प्रहरी चारित्रिक प्रमाणपत्र, स्वास्थ्य बिमा बोर्ड, शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, मेरो गुनासो, नागरिकता, राहदानी, मतदाता परिचय पत्र, मालपोत सेवा र बैंकिङ सेवा उपलब्ध छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २ गते नागरिक एपको डेटा भर्जन सार्वजनिक गरेको थियो । डेटा भर्जन सार्वजनिक भएको दिनदेखि नै एप प्रयोगमा आएको थियो । एप चलाउँदा नागरिकले देखेका समस्या र सुझावका आधारमा थप विकास गर्दै पूर्ण एप सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव शोभाकान्त पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

एप डाउनलोड गर्नेको संख्या पौने ६ लाख पुगे पनि ३३ प्रतिशत प्रयोगकर्ताले मात्रै एप प्रयोग गर्न थालेका छन् । तर ६६ प्रतिशत भने प्रमाणीकरण नभएर प्रयोगको पर्खाइमा छन् । आफ्नै नाममा दर्ता भएको मोवाइल नम्बरबाट मात्र एप दर्ता गर्न पाइने भएकाले अधिकांश प्रयोगकर्ताको प्रमाणीकरण हुन नसकेको प्रवक्ता पौडेलले बताए ।

सुरुमा नागरिकता नम्बर दर्ता गर्दा गृह मन्त्रालयको विवरणसँग नमिलेका कारण एप प्रयोग गर्न नपाइने अवस्था थियो । तर अहिले यसलाई सुधार गरेर नागरिकता नम्बर नमिलेमा आफूसँग भएको नागरिककता स्क्यान गरेर अपलोड गरेपछि त्यसलाई प्रणालीले नै सच्याएर एप प्रयोग गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

क्युआर कोडमार्फत् बैंक खाता खोल्न सकिने

अरु सेवामा विवरण दर्ता गरेर हेर्न मिल्ने मात्र भए पनि स्थायी लेखा नम्बर अर्थात प्यान नम्बर भने एपमार्फत नै दर्ता गरेर लिन सकिने व्यवस्था गरिएको छ । यस्तै नेपाल बैंक लिमिटेडमा क्युआर कोड स्क्यान गरेर एपमार्फत नै बैंक खाता खोल्न सकिने भएको छ । एप सार्वजनिक भएको पहिलो दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले एपमार्फत नै खाता खोलेर सुभारम्भ गरेका छन् ।

डेढ लाख नागरिकता अध्यावधिक

प्रयोगकर्तामध्ये सबैभन्दा बढी १ लाख ४५ हजार ८ सय ८६ ले नागरिकता अद्यावधिक गरिसकेका छन् भने दोस्रोमा सबैभन्दा बढी करिव १ लाख अर्थात ९९ हजार ३ सय ९७ प्रयोगकर्ताले प्यान नम्बर, ७१ हजार ९ सय ४१ ले राहदानी, ७१ हजार ९ सय ३३ ले मतदाता परिचय पत्र अद्यावधिक गरिसकेको केन्द्रका सूचना अधिकारीसमेत रहेका सहायक निर्देशक रमेश पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार त्यसपछि भने सबैभन्दा बढी ५२ हजार ७ सय १९ जनाले एपमार्फत नै हेलो सरकारमा गुनासो गरेका छन् । त्यसपछि  सबैभन्दा बढी ४७ हजार ९ सय ८७ जनाले एसएलसी उर्तिण गरेको लब्धाङक पत्र अध्यावधिक गरेका छन् भने ३० हजार ५ सय ६९ प्रयोगकर्ताले प्लस टुको लम्बाङक पत्र अद्यावधिक गरेका छन् ।

केन्द्रको विवरण अनुसार १२ हजार ५ सय ३२ जनाले प्रहरी चारित्रिक प्रमाणपत्रका लागि निवेदन दिएका छन् भने १२ हजार ५१ सञ्चय कोषका, ३ हजार ५ सय १६ सामाजिक सुरक्षा कोषका, स्वास्थ्य विमा बोर्डका २ हजार ६ सय ९, नागरिक लगानी कोषका २ सय, लोक सेवा आयोगका १ सय १४ र सबैभन्दा कम भूमि व्यवस्थापन विभागका ३३ जना प्रयोगकर्ता एपमा आवद्ध भएका छन् ।

‘लाइन होइन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नारामा साथ सरकारले प्रविधिको अधिकतम प्रयोग गरेर आम नागरिकलाइ सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन माघ २ गते नागरिक एपको सार्वजनिक गरेको थियो ।

‘नागरिक एप’का विशेषता

– ‘नागरिक एप’बाट प्यान कार्ड सम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न सकिने
– सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने
– नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिने
– कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणको जानकारी लिन सकिने

– हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था
– सरकारी निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरेको हेर्न सकिने
– समयको बचत हुने तथा सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिने

कसरी गर्ने एप डाउनलोड ?

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा नागरिक एप बेटा डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदातावा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्नेछ ।

एपमा आगामी दिनमा सवारी कर, चालक अनुमतिपत्र लगायतका आम नागरिकसँग सरोकार हुने सेवा थप्दै जाने केन्द्रले जनाएको छ ।

एपमाथि १५ लाख पटक साइबर आक्रमण प्रयास

एपको सुरक्षा र गोपनीयताको विषयमा समेत प्रश्न उठिरहेका बेला नागरिक एपको बेटा सार्वजनिक भएयता १५ लाख पटक साइबर आक्रमणको प्रयास भएको नागरिक एपका साइबर सुरक्षा विश्लेषक मनिष अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनले उक्त आक्रमणलाई रोक्न आफूहरु सफल भएको बताए ।

बेटा सार्वजनिक हुनुअघि नै प्रणालीमा रहेका सबै सुरक्षा अपनाइएकाले संभावित खतरा टरेको अधिकारीको भनाइ छ । एपमा कुनै किसिमको कमजोरी फेला पारे डेभलपर टिमलाई खबर गरिदिन समेत उनले आग्रह गर्दै आएका छन् ।

नागरिकको विवरणमा पहुँच बनाउन खोज्ने, सर्भर डाउन गर्ने उद्देश्यका साथ धेरै रिक्वेस्ट हान्ने, टोकन भेरिफिकेसन बाइपास गर्न खोज्ने, सिम कार्ड र नागरिकता भेरिफिकेसन बाइपास गर्न खोज्ने, टोकन राखेको राख्यै गर्ने लगायतका २ सय कोणबाट एपमाथि आक्रमणको प्रयास भएको छ ।

भीपीएन प्रयोग गरेर आक्रमण प्रयास हुने भएकाले लोकेसन तथा आईपी एड्रेस ट्रेस गर्न भने गाह्रो हुने बताइएको छ । यद्यपि धेरैजसो आक्रमणको प्रयास भने नेपालभित्रैबाट भइरहेको नागरिक एपको साइबर सुरक्षा टोलीको विश्लेषण रहेको जनाइएकाे छ ।

बेटा भर्सन सार्वजनिक हुनुअघि नै सूचना प्रविधि विभाग र नेपालकै उत्कृष्ट दुई निजी साइबर सुरक्षा कम्पनीले नागरिक एपको सुरक्षा परीक्षण गरेका थिए । त्यस हिसाबले अहिलेसम्मका सबै सरकारी प्रणालीको तुलनामा यो नै सबैभन्दा धेरै साइबर सुरक्षा परीक्षण गरिएको दाबी डेभलपर सर्जिव कार्कीले दावी गरे । डेभलपमेन्टकै फेजमा रहेका कारण सुधार गर्नुपर्ने ठाउँ भने अझै बाँकी रहेको साइबर सुरक्षा विश्लेषकको भनाइ छ ।

सुरुमा मा नागरिक एप इन्टरनेटको पहुचमा भएपछि मात्र चल्ने गरेको भए पनि पछि आएर सरकारले नेपाल टेलीकम सँगको सहकार्यपछि नेपाल टेलीकमका नम्बरबाट चलाउदाँ निशुल्क चलाउन मिल्ने व्यवस्था गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर