प्रत्येक जिल्ला अस्पताललाई एक करोड दिने कर्णाली सरकारकाे निर्णय – Nepal Press

प्रत्येक जिल्ला अस्पताललाई एक करोड दिने कर्णाली सरकारकाे निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम नियन्त्रणका लागि सबै जिल्ला अस्पतालमा बजेट उपलब्ध  गराउने निर्णय गरेको छ ।

तीव्र गतिमा फैलिएकाे कोरोना संक्रमण राेकथाम  तथा उपचारका  लागि प्रत्येक जिल्ला अस्पतालमा एक करोड बजेट पठाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको हो ।

वैशाख १७ गते बसेको वैठकले कर्णालीका दश ओटै जिल्ला अस्पताललाई कोरोना विरुद्ध लड्न सक्षम बनाउने भन्दै सो बजेट विनियोजन गरेको छ ।

सरकारले यसका अलावा प्रदेश अस्पताल कालागाउँलाई एक करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक करोड, चौरजहारी अस्पताल रुकुमलाई एक करोड, मेहेलकुना कस्पताल सुर्खेतलाई पचास लाख, दैलेख अस्पताललाई पचास लाख रकम कोभिड १९ सँग सम्वन्धित समस्याहरु समाधान गर्न अति आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपुर्तिजस्ता विषयहरु समाधान गर्न प्रदेश विपद कोषबाट प्रदान गर्ने निर्णय गरेको हो ।

यसका लागि प्रदेश सरकारले प्रदेश विपद कोषमा पचास करोड रुपैंया जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् ।

यसैगरी सरकारले जुम्ला बाहेक असार १५ गते धान दिवस, चैत्र १२ गते जुम्लामा धान दिवस, साउन १ गते साउने संक्राति, भदौ ४ गते प्रदेश स्थापना तथा शहिद दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी, कार्तिक तीन गते असोज शुक्ल पूर्णिमाको अवसरमा विदा दिने निर्णय गरेको छ ।

यस्तै असोज कृष्ण त्रयोदशीका दिन जुम्ला जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको मन्त्री केसीले जानकारी दिईन । उक्त दिन चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला लाग्ने गर्दछ ।

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख राहत

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर