कोरियामा एक नेपालीले भेटेको  १३ लाख प्रहरीलाई बुझाए – Nepal Press

कोरियामा एक नेपालीले भेटेको  १३ लाख प्रहरीलाई बुझाए

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका-७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए ।

इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो । रकममध्ये १० लाख १ हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन् ।

सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ-९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ-२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन् । उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्छन् ।

रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया उनले दिए । अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उनले बताए। कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर