जनगणना तत्कालका लागि स्थगित – Nepal Press

जनगणना तत्कालका लागि स्थगित

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औं जनगणना तत्कालका लागि स्थगित भएको छ ।

कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको तथ्थाङ विभागका निर्देशक ढुण्डीराज लामिछानेले नेपाल प्रेसलाई बताए ।

उनले भने,‘ अहिले जनगणनाको तालिम तत्काल स्थगन गर्ने निर्णय भएको छ । जनगणना गर्न सुपरिवेक्षक र गणकलाई दिइने तालिम नै स्थगन गरेपछि जनगणना तत्काल हुँदैन नै ।’ जनगणनाका लागि तथ्यांक विभागले ८ हजार सुपरिवेक्षक मागेको थियो ।

सोही अनुसार छनोट भएका सुपरिवेक्षकहरुको तालिम शुरू गर्ने भनिएको थियो र तर कोरोना भाइरसको कारण तालिम स्थगन गरेको विभागले जनाएको छ । यस्तै जनगणनाका लागि मागिएका ३९ हजार गणकहरूको नतिजा पनि स्थगित गरिएको निर्देशक लामिछानेले बताए ।

सबै पक्षहरूसँग छलफल गरेर जनगणना स्थगित गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

‘अहिले गणकहरूलाई खटाउने अवस्था पनि छैन , सही तथ्याङ्क पनि आउन सक्दैन । मान्छे डराएकाले विवरणहरू संकलन गर्न कठिन अवस्था भएको हुँदा जनगणना हुन सक्दैन,’ उनले भने ।

कोभिड संक्रमणको दर कस्तो हुन्छ त्यसलाई मध्यनजर गरेर जनगणनाको अर्को मिति तय गरिने उनले बताए । ‘अहिलेको अवस्था हेर्दा साउन भन्दा अगाडि जनगणना होला भन्ने मलाई लाग्दैन, कँडेलले भने ।

जेठ २५ देखि असार ८ सम्म देशैभर जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले सबै तयारी पूरा गरेको थियो ।

गणनाका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिसकेको समेत विभागले जनाएको छ । तर, कोभिड-१९ को नयाँ भरियन्टका कारण अनिश्चितकाललाई स्थगित गरिएको हो ।


प्रतिक्रिया

One thought on “जनगणना तत्कालका लागि स्थगित

Leave a Reply to Milan Koirala Cancel reply

Your email address will not be published. Required fields are marked *