सन्दर्भः प्रेस स्वतन्त्रता दिवस

स्वतन्त्र र निष्पक्ष पत्रकारिताको विपक्षमा !

एकजना पत्रकार साथीले बहुत मेहनत गरेर एउटा खोजी रिपोर्ट पारे, न्यूज २४ टेलिभिजनका लागि । रिपोर्टिङको विषय थियो, सुन्धारास्थित धरहरा क्याफे निर्माणका नाममा भएको मनपरी । (यो धरहरा ढल्नुभन्दाअघिको कुरा हो ।)

काठमाडौं महानगरपालिकाले एउटा ठेकेदार कम्पनीलाई जुन मापदण्ड तोकेर धरहरा वरिपरि सुन्दर बगैंचा बनाउनेसहित मर्मतसम्भार गर्ने जिम्मा दिएको थियो, उक्त कम्पनीले मापदण्डविपरीत काम गरेको विषयमा उनले रिपोर्ट तयार गरेका थिए । न्यूज डेक्समा छलफल गरेरै उनले उक्त रिपोर्ट तयार गरेका हुन् ।

उनले तयार पारेको रिपोर्टको प्रोमो बज्न थाल्यो । ‘प्रतीक्षा गर्नुहोस्’ भनेर । मान्छेहरुले प्रतीक्षा गरिरहेकै थिए । लामो समय प्रतीक्षा गर्दा पनि रिपार्ट बजेन । उल्टै प्रोमो चाहिँ बज्न छाड्यो । कुरा बुझियो, ठेकेदार कम्पनी र न्यूज २४ टेलिभिजनको व्यवस्थापनबीच ‘कुरा मिलेछ’ । एउटा पत्रकारले बहुत मेहनत गरेर तयार पारेको खोजी रिपोर्ट ‘किल’ भयो ।

यो त एउटा उदाहरण मात्रै हो । यस्ता घटना नेपाली पत्रकारिताका लागि कुनै नौलो विषय होइन । प्रोमो र रिपोर्ट नबज्ने मात्रै होइन, रिपोर्टरले दिनभर मेहनत गरेर तयार पारेको रिपार्ट सेड्यूलमा राखेर घर जान्छ । घर गएर टिभी हेर्दा रिपोर्ट आउँदैन । उसले फोन गरेर एमसीआरमा सोध्छ । मेरो रिपोर्ट किन प्ले नगरेको ? एमसीआरबाट जवाफ आउँछ, ‘फलानो सरले प्लेलिस्टबाट हटाउन निर्देशन दिनुभयो ।’ ऊ निराश हुन्छ ।

टिभीको मात्रै कुरा होइन, पत्रिकाको कथा पनि उस्तै हो । अनलाइनमा पोस्ट गरेको न्यूज सम्पादकको चाहनामा कतिबेला हटिसक्छ पत्तो हुँदैन । खासमा त्यो बीचमा सम्पादक, मालिक र समाचारवालाबीच के सहमति हुन्छ ? रिपोर्टरलाई पत्तो हुँदैन ।

एकदिनअघि उछितो काड्ने गरी कुनै कर्पोरेट हाउसको तथ्यहीन समाचार आउँछ । एकदुई दिनपछि त्यहीं कर्पोरेट हाउसको मालिकको अन्तरवार्ता लिन रिपोर्टर जानु पर्छ । यी सबै स्वभाविक भइसकेको कुरा हो । तर, मूल विषय किन यस्तो भइरहेको छ ? समाचारलाई केले बल्झाउँछ ? के ले मार्छ ? त्यो पनि स्पष्ट नै छ ।

हो, यहाँ समाचारले विज्ञापन माग्छ, विज्ञापनले समाचार । यहाँ समाचारलाई विज्ञापनले अठ्याएको छ । त्यसैले अचेल कुनै पनि समाचार स्वतन्त्र हुँदैन । अनि कसरी हुन्छ पत्रकार चाहिँ स्वतन्त्र ? कसरी हुन्छ, पत्रकारिता स्वतन्त्र ?

एउटा पत्रकार न्यूज डेक्सको निर्णयअनुसार फिल्डमा निस्कन्छ । एंगल पनि डेक्सले नै फाइनल गरेको हुन्छ । ‘फलनो समाचार फलानो एगंलमा बनाउने’ । ऊ त्यहीं नै बाधिइसक्यो । अब उसले सत्य तथ्य खोज्दैन । हाकिमले दिएको निर्देशनअनुसार समाचार खोज्छ, बनाउँछ । समाचार ल्यासकेपछि सम्पादकले सम्पादन गर्छ । सम्पादन गर्दा उसको अलिअलि बाँकी बसेको ‘स्वतन्त्रता’माथि थप कैची चल्छ । सम्पादकमाथि मालिकको कैची । अनि कसरी हुन्छ स्वतन्त्र पत्रकारिता ?

हाकिम वा मालिकभन्दा माथि उठौं । समाजमा वर्ग छ । कुनै पनि समाचार कुन वर्गमा पक्षमा हुन्छ ? यो बहसको विषय हो । समाचारमा विचार हुन्छ कि हुँदैन अर्थात् हुनहुन्छ कि हुनुहुँदैन ? यो अर्को विषय हो । पत्रकार भनेको हुलाकी मात्रै हो ? जसले भएको कुरा टिपेर ल्याएर प्रचार गर्ने मात्रै हो ? के, को, कहाँ ? भन्ने प्रश्नको जवाफमा त उसको विचार नझल्केला ।

तर, किन र कसरी भन्नेकुरालाई हेर्ने दृष्टिकोण पत्रकारको हुन्छ कि हुँदैन ? हुनु पर्छ कि पर्दैन ? स्पष्टरुपमा कोही पीडित छ भने समाचार पीडितको पक्षमा हुन पर्छ कि पर्दैन ? जब समाचार पीडितको पक्षमा हुन्छ भने पत्रकारिता स्वतन्त्र हुन्छ ? बहसको विषय हो ।

यहाँ समाचारले विज्ञापन माग्छ, विज्ञापनले समाचार । यहाँ समाचारलाई विज्ञापनले अठ्याएको छ । त्यसैले अचेल कुनै पनि समाचार स्वतन्त्र हुँदैन । अनि कसरी हुन्छ पत्रकार चाहिँ स्वतन्त्र ? कसरी हुन्छ, पत्रकारिता स्वतन्त्र ?

सरकारी सञ्चारमाध्यमले जबरजस्त सरकारको गुलामी गर्छ । प्रतिपक्षीको लगानी भएको सञ्चारमाध्यमले जबरजस्त सरकारको विरोध गर्छ । दुवै सञ्चारमाध्यमलाई एकजना सर्वसाधारणले एकैचोटि पढ्दा, सुन्दा वा हेर्दा के बुझ्ने ? कुन चाहिँ सत्य हो ? कसरी छुट्याउने ?

यहाँ विश्लेषकहरु पनि कित्ताकाट छन् । विचारहरु कित्ताकाट । पत्रकार कित्ताकाट, सम्पादक कित्ताकाट, मालिक कित्ताकाट । अनि हामी ठूलोठूलो स्वरमा भन्छौं, स्वतन्त्र पत्रकारिता । के यो अहिलेकै समाज तथा राजनीतिक व्यवस्थामा सम्भव छ ?

हिजो भएका ठूलाठूला राजनीतिक परिवर्तनमा ‘स्रष्टाहरुसँगै सञ्चारमाध्यमको ठूलो भूमिका छ’ भन्ने गरिन्छ । र, त्यसैमा हामी गर्व गर्छौ । के एउटा स्वतन्त्र पत्रकारले यो गर्वपर्ने विषय हो ? कुनै सञ्चारमाध्यम पञ्चायतविरुद्ध राम्रो थियो होला ।

२०६२/६३को आन्दोलनको विपक्षमा भएका सञ्चारमाध्यमलाई हामीले प्रतिगामी भन्यौं होला । तर, एउटा सञ्चारमाध्यम अग्रगामी वा प्रतिगामी हुन आवश्यक छ कि छैन ? अग्रगामी हुनु ठीक होला, प्रतिगामी हुनु बेठीक होला । अग्रमागी हुनेवित्तिकै पत्रिकारिता स्वतन्त्र भने रहँदैन । र, पत्रिकारिता स्वतन्त्र हुनु पनि हुँदैन । पत्रिकारिता समाजको मार्गदर्शक हो भने सधैं सकारात्मक परिवर्तनको पक्षमा हुनै पर्छ । पीडितको पक्षमा हुनै पर्छ । शासकको विरुद्धमा र शोषितको पक्षमा हुनै पर्छ । त्यसैले पत्रकारिता स्वतन्त्र हुँदैन । हुनुहुँदैन ।

यहाँ विश्लेषकहरु पनि कित्ताकाट छन् । विचारहरु कित्ताकाट । पत्रकार कित्ताकाट, सम्पादक कित्ताकाट, मालिक कित्ताकाट । अनि हामी ठूलोठूलो स्वरमा भन्छौं, स्वतन्त्र पत्रकारिता ।

योसँगै अर्को बहस जरुरी छ । एउटा स्वतन्त्र पत्रकार किन सरोकारवालको निसानामा पर्छ । के उ साच्चिँकै स्वतन्त्र थियो । ऊ कुनै पनि वाद, विचार वा मान्यताबाट विमुख थियो ? उ कसैको पक्षमा थिएन ? ऊ कुनै प्रलोभनमा थिएन त ?

तत्कालीन माओवादी द्वन्द्वका क्रममा राज्य पक्षबाट पनि पत्रकार मारिए, विद्रोही पक्षबाट पनि मारिए । त्यहाँ आस्थाको द्वन्द्व थिएन त ? हामीले लेख्ने समाचार पूर्वाग्राही नभइ कसैले सिधैं मार्ने आँट नगर्नु पर्ने हो । यसको अर्थ हामीले आफ्नो पत्रकारिताको आचरणलाई कतिको शुद्ध बनाएका छौं ? सोच्नुपर्ने बेला आएको छ ।

नेपालमा मात्रै होइन, विश्वभर नै प्रेस स्वतन्त्रता छैन । तर अबको विषय स्वतन्त्रता भनेको के हो ? भन्नेतिर जान जरुरी छ । समाचार लेख्न पत्रकार स्वतन्त्र होला, तर उसलाई कसैको पक्षपोषण वा विरोध गर्ने स्वतन्त्रता हुन्छ कि हुँदैन ? स्वतन्त्रता भनेको छाडापन हो या होइन । पत्रकारिता सधैं न्याय र समानताको पक्षमा हुनु पर्छ, विज्ञापनदाता वा कुनै विचारधारमा राजनीति गर्नेको पक्ष वा विपक्षमा होइन ।

प्रतिक्रिया

One thought on “स्वतन्त्र र निष्पक्ष पत्रकारिताको विपक्षमा !

  1. Bimal ji, interesting ideas. Would like to talk to you. Can we connect to discuss your ideas further?

Leave a Reply

Your email address will not be published. Required fields are marked *