स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द – Nepal Press

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द

सिरहा । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका-९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई-९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।

उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ । कोभिड-१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । संक्रमितमध्ये ७ जना आइसोलेसनमा, १ जनाको विराटनगर, १ जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा छन् ।

दूध डेरीमाथि कारवाही

बिनाअनुमति दूध डेरी सञ्चालन गरेको भन्दै सिरहाको नरहा गाउँपालिका-३ नयाँ चोहर्वास्थित दूधगङ्गा डेरी उद्योगमाथि कारवाही अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरी दूध, दहीलगायतका सामग्री बजारमा बिक्री गरिरहेको पाइएपछि सञ्चालकमाथि कारवाही प्रक्रिया अघि बढाएको हो ।

अनुगमनका क्रममा खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरेको र खाद्यान्न गुणस्तरीयसमेत नदेखिएकाले कारवाही अघि बढाइएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले बताए ।डेरी सञ्चालकलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताए ।

यस्तै बजार अनुगमनकै क्रममा सिरहाको मिर्चैया नगरपालिकास्थित एक दर्जन किराना पसल तथा मिठाइ पसलबाट म्याद गुज्रिएको खाद्यान्न, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका सुरेश सिंहले जानकारी दिए ।

पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, स्यानिटाइजरलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताए । पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिइएको उनले जानकारी दिए। अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर