रुद्रीपूजाको प्रसाद खाँदा सर्लाहीमा २५ बिरामी – Nepal Press

रुद्रीपूजाको प्रसाद खाँदा सर्लाहीमा २५ बिरामी

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा करिब २५ जना बिरामी परेका छन् ।

लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा सोही स्थानका पुरुष, महिला तथा बालबालिका गरी २५ जना बिरामी भएका हुन् ।

स्थानीय जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दिपेन्द्र अधिकारी, सलिना तामाङ पूजा लगाउने घमबहादुर कार्की, उनकी श्रीमती, छोराछोरीसमेत बिरामी परेका हुन् ।

रुद्रीपूजा सकिएपछि सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका उनीहरूमा शुक्रबारदेखि नै पेट दुख्ने, सामान्य ज्वरो आउने समस्या देखिएको थियो ।

आइतबार रातिदेखि उनीहरू धमाधम अस्पताल भर्ना हुन थालेका हुन् । बिरामी भएका उनीहरूमा अत्यधिक झाडापखाला लाग्ने, वान्ता हुने, उच्च ज्वरो, पेट दुख्ने र टाउको दुख्ने समस्या देखिएको छ ।

त्यसमध्ये पनि प्रसादीमा रुख कटहरको तरकारी नखानेहरू बिरामी नपरेका पाइएको स्थानीयवासी मनोजकुमार बरालले बताए । उनको घरमा तीन जना बिरामी परेका छन् ।

जमुना बस्नेतको घरमा दुई, सोही घरमा कोठा भाडामा लिएर बस्ने दुई, दीपेन्द्र अधिकारी उनकी छोरी र छोरा तथा घरभाडामा बस्ने सलिना तामाङसहित चार, पूजा लगाउने घरका चार र भाडामा बस्ने दुई, उमेश देवकोटा, लालप्रसाद शर्मा, त्यसैगरी अरु पाँच÷छ जना छिमेकी बिरामी परेका हुन् ।

बिरामी परेकाहरूको लालबन्दीको मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार शुरु भएको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *