विपक्षी गठबन्धनको आरोप- लुम्बिनी प्रदेश प्रमुख एमाले कार्यकर्ताको भूमिकामा – Nepal Press

विपक्षी गठबन्धनको आरोप- लुम्बिनी प्रदेश प्रमुख एमाले कार्यकर्ताको भूमिकामा

रुपन्देही । शंकर पोखरेललाई पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धन दल प्रदेश प्रमुख धर्मनाथ यादवसँग आक्रोशित भएका छन् ।

आफ्नो पक्षमा स्पष्ट बहुमत भएको अनुरोध गरिरहँदा पनि प्रदेश प्रमुखले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई सपथ खुवाएको भन्दै उनीहरूले आपत्ति जनाए ।

मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा पार्टीका ४१ जना सांसदहरूको हस्ताक्षरसहितको पत्र बुझाएपछि प्रदेश प्रमुख यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कांग्रेस, माओ‌वादीलगायतका विपक्षी गठबन्धनले पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएको जानकारी पाएपछि प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएपनि प्रदेश प्रमुख यादवले बहुमत सांसदको हस्ताक्षरलाई आधार मानेर प्रकृया अगाडि बढाएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

आइतबारको नियुक्तिलाई लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुदिन खानले प्रदेश प्रमुखले विधि पद्दति मिचेर गरेको कानूनी उपहास भएको टिप्पणी गरे ।

‘हामीले सबै विषय प्रष्ट पार्दा पनि प्रदेश प्रमुखले इमान्दारिता देखाउनुभएन, एमालेको कार्यकर्ताजस्तै शंकर पोखरेलले जे भन्यो त्यही गर्नुभयो, यस्तो कामले राजनीतिक बेइमानी देखाएको छ, उहाँले आफू कुन पदमा छु भन्ने कुरा बिर्सनुभयो’, खानको आरोप छ । प्रदेश प्रमुखको यो कामले मुठभेडको राजनीति शुरू भएको र उनले जिकिर गरे ।

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले प्रदेश प्रमुखको कदम संविधानको कानुनकोविपरीत भएको बताए । प्रदेश प्रमुखले एमालेको कार्यकर्ताजस्तो भएर हामीलाई जबर्जस्ती बाहिर निकाल्नुभयो, उनको टिप्पणी छ ।

यता सपथ खुवाउन नदिने भनेर प्रदेश प्रमुख कार्यालयमा धर्नामा बसेका विपक्षी दलका सांसदहरूले सुरक्षा निकायमा जिम्मेवारी व्यक्तिले आफूहरूमाथि असभ्य व्यवहार देखाएको आरोप लगाएका छन् । उनीहरुले जबरजस्ती लछारपछार गरेर प्रहरीले दुर्व्यवहार गरेको भन्दै छानविनको माग गरे ।

कांग्रेस सचेतक निर्मला शर्माले प्रहरीले आफूमाथि गरेको दुर्व्यवहार मुख्यमन्त्रीको निर्देशनमा भएको भन्दै मानअधिकारमाथिको हनन भएको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर