शर्तसहित होटललाई आइशोलेसन बनाउन दिन्छौंः हान – Nepal Press

शर्तसहित होटललाई आइशोलेसन बनाउन दिन्छौंः हान

काठमाडौं । स्वास्थकर्मीसँगै आवश्यक स्वास्थ्य उपकरण भए होटललाई आइशोलेसन बनाउन सकिने होटल एशोसियसन आफ नेपाल(हान)ले बताएको छ । कोरोना संक्रमण दर बढिरहेका बेला हानका उपाध्यक्ष विनायक शाहले सरकारले सबै स्वास्थ्य उपकरण र मापदण्ड पूरा गरी होटललाई आइशोलेसन बनाउन सकिने बताएका हुन् ।

अघिल्लो वर्षबाटै होटललाई आइशोलेसन बनाउने अभ्यास सुरु भएको बताउँदै शाहले होटलका कर्मचारीको सुरक्षामा पनि सरकारले ध्यान दिनुपर्ने तर्क गरे । ‘मेडिकल टिमदेखि अक्सिजन, भेन्टिलेटरलगायत सबै सुविधा हुनु आवश्यक छ’, उनले भने, ‘खानाको मूल्यदेखि कर्मचारीको सुरक्षासम्मको ग्यारेन्टी भए होटललाई आइशोलेसन बनाउन समस्या छैन ।’

गत वर्ष सरकारले होटललाई क्वारेन्टाइन बनाउँदा खानाको मूल्य कम तोकेको उनको भनाइ छ । अघिल्लो वर्ष ७ दिन क्वारेन्टाइनमा बस्नेलाई होटलले दिनको चार पटक खानासहित ११ हजार रुपैयाँ तोकेको थियो । त्यसमा बस्ने कोठाको पनि पैसा जोडिएको थियो । तर, सो मूल्यमा अहिले विरामीलाई खाना खुवाउन नसकिने शाहले बताए । शाहका अनुसार होटललाई आइशोलेसन बनाउनका लागि आफूहरु तयार रहेको र अनौपचारिक रुपमा छलफल पनि भइरहेको छ ।

हानले आइशोलेसन बनाउन इच्छुक होटलबाट आवश्यक विवरण संकलन पनि सुरु गरेको छ । हानले केही होटलले नाम पनि सरकारलाई उपलब्ध गराइसकेको जनाएको छ ।

‘देशमा कोरोना माहामारीका कारण स्वास्थ संकट भइरहेको बेलामा आफूहरु टुलुटुलु हेरेर सक्दैनौं’, शाहले भने, ‘तर, यसका लागि सरकार नै अग्रसर हुनुपर्छ ।’

कोरोना विरामीका लागि अहिले काठमाडौंका अस्पतालमा आइशोलेसन बेड पाउन छाडिसकेको छ । स्वास्थ मन्त्रालयले पनि कोरोनाको अवस्था नियन्त्रण बाहिर गएको बताइरहेको छ । यस्तो समयमा होटललाई आइशोलेसन बनाएको खण्डमा जोखिम कम हुने होटल व्यवसायीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर