सुवास नेम्वाङ भन्छन्- विमला सूर्य चिन्हधारक सांसद हुन्, एमालेको माइन्यूटमा हस्ताक्षर गरेकी छन् – Nepal Press

सुवास नेम्वाङ भन्छन्- विमला सूर्य चिन्हधारक सांसद हुन्, एमालेको माइन्यूटमा हस्ताक्षर गरेकी छन्

माओवादीको सदस्यता लिएको प्रमाणित भए पद रिक्त गराउने प्रक्रिया थाल्ने

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको विषय कानूनी परीक्षणमा जाने देखिएको छ । तत्कालीन नेकपाबाट २०७६ मंसिरको उपचुनावमा उनी प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

सर्वोच्च अदालतबाट एमाले र माओवादी ब्युँतिएसँगै उपचुनावमा जितेका जनप्रतिनिधिको हैसियत के हुने भन्ने विवादको न्यायिक निरुपण भइसकेको छैन । पार्टी साविकको ठाउँमा पुगेसँगै पूर्वमाओवादीहरू माओवादीतिरै र एमालेहरू एमालेतिरै रहेका थिए ।

नारायणकाजी श्रेष्ठ, विद्या भट्टराईहरूसँगै कमला खत्री पनि उपचुनावबाट निर्वाचित भएकी थिइन् । अहिले श्रेष्ठ माओवादीको प्रवक्ता छन् भने विद्या भट्टराई विमला पनि एमालेकै दलका बैठकमा सहभागी थिइन् ।

संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विमला खत्री सूर्य चिन्हधारी सांसद रहेको र उनले फागुन २३ यता पनि लगातार एमाले संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको कुरा नै प्रमाणित तथ्य हुने प्रतिक्रिया दिए ।

नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले भने, ‘उहाँले सूर्य चिन्हबाट, केपी ओलीको एकल हस्ताक्षरको टिकटबाट चुनाव जित्नुभएको हो । सूर्य चिन्ह धारक एमालेको संसदीय दलको बैठकमा निरन्तर उपस्थित भएर उहाँको हस्ताक्षर छ । यी सबै आधिकारिक कुरा स्थापित छन्, प्रष्टसँगै उहाँ सूर्यचिन्ह धारक सांसद हो ।
नेम्वाङले उपचुनावमा जितेका अन्य जनप्रतिनिधिको हकमा जसले अन्यथा विवाद गर्छ त्यसको निरुपण अदालतले गर्ने भन्दै निरन्तर एमालेका बैठकमा सहभागी भएका सांसदको हकमा भने त्यहि आधिकारिक दस्तावेज नै प्रमाण हुने बताए ।’

नेम्वाङले भने, ‘अन्यथा प्रमाणित भएमा बाहेक यही रूपमा बुझ्नुपर्छ । जसले अन्यथा विवाद गर्छ त्यो विषय अदालतमा गए हुन्छ ।’

विमला खत्रीले माओवादीको सदस्यता लिएको पुष्टि भएमा उनको पद रिक्त गराउन एमालेले प्रक्रिया अघि बढाउने नेम्वाङले बताए ।


प्रतिक्रिया

One thought on “सुवास नेम्वाङ भन्छन्- विमला सूर्य चिन्हधारक सांसद हुन्, एमालेको माइन्यूटमा हस्ताक्षर गरेकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर