‘दीपक मनाङेलाई मन्त्री बनाउनु स्वभाविक, तर सरकार ढाल्छौं नै’ – Nepal Press
नेपाल टक

‘दीपक मनाङेलाई मन्त्री बनाउनु स्वभाविक, तर सरकार ढाल्छौं नै’

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेस छ । ‘कार्यसूची’अनुसार नै चलेको हुन्थ्यो भने बैशाख १५ गते नै अविश्वास प्रस्तावको छिनोफानो लागिसक्थ्यो । तर, अविश्वास प्रस्तावको पक्षमा भएको भनिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन भए । ६० सदस्यीय प्रदेशसभामा ठीक बहुमत अर्थात् ३१ मत आउने गरी अविश्वास प्रस्तावका पक्षधर एक सांसदको अनुपस्थितिले सरकार नढल्ने पक्कापक्की भयो ।

त्यसपछि जनमोर्चा सांसद एवं प्रमुख सचेतकसमेत रहेकी पियारी थापाले ‘बेपत्ता सांसद खोजी गरिपाऊँ’ भन्दै प्रदेश सभा सचिवालयमा निवदेन दिइन् । त्यही निवेदनको आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद नै स्थगन गरिदिए ।

यसरी गण्डकी प्रदेशमा भएको नाटकीय परिवर्तन र अबको बाटोबारे माओवादी केन्द्रका सांसद दीपक कोइरालासँग नेपाल प्रेसकर्मी विकास रोकामगरले गरेको कुराकानी नेपाल टकमा ।

पछिल्ला दिनमा गण्डकी प्रदेशको सत्ताराजनीतिमा निकै रोचक र नाटकीय घटनाक्रम भइरहेको छ । खासमा भएको चाहिँ के हो ?

प्रदेशको पछिल्लो गतिविधि सबैलाई थाहै छ नि ! अविश्वास प्रस्तावको छिनोफानो हुने दिन एकाएक राष्ट्रिय जनमोर्चाका माननीय खिमविक्रम शाही सम्पर्कविहीन हुनुभयो । सोही पार्टीकी सांसदले सांसदको खोजी गर्न आग्रह गर्दै संसद सचिवालयमा निवेदन दिनुभयो, संसद स्थगित भयो ।

अविश्वास प्रस्तावमा पक्षमा उहाँले मतदान गर्ने भएपछि सत्तापक्षले अनेक तिकडम गर्यो । अझै पनि एक दिन मात्रै भए पनि सरकार जोगाउँन उहाँहरु लाग्नु भएको छ । मन्त्री थपेर हुन्छ कि अरु प्रलोभनमा पारेर ! जसरी पनि उहाँहरु एकदुई दिन भए पनि सरकार जोगाउन लाग्नुभएको छ, जुन राजनीतिकसँगै व्यवस्थाकै बर्खिलापमा छ ।

संसद अनिश्चित कालका लागि स्थागित गरिएको छ । अब तपाईंहरुको रणनीति के हुन्छ ?

अहिले अविश्वास प्रस्तावको पक्षमा रहेका चार दल (माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चा)को औपचारिक अनौपचारिक छलफल भइरहेको छ । सम्भवतः १, २ दिनमा संसद खुल्छ । त्यसपछि टुंगोमा पुग्छ ।

मुख्यमन्त्रीले नै आफ्ना सांसदलाई संसदमा आउन नदिएर संसद अवरुद्ध गर्छौ भनिराख्नु भएको छ नि !

चलाउन दिन्छौं, दिँदैनौं भन्ने कुरै हुँदैन नि ! यो सदन त जसरी पनि चलाउनै पर्यो‍ । अस्ति पो सांसद, माननीय खिमविक्रम शाही आकस्मिक सम्पर्कविहीन भएकाले संसद स्थगन भएको थियो । त्यो पनि राष्ट्रिय जनमोर्चाले दिएको निवेदनका आधारमा रोकिएको हो । उहाँ अहिले सम्पर्कमा आइसक्नु भा’छ । उहाँ सम्पर्कमा आइसकेपछि त संसद स्वभाविक रुपमा चल्नुपर्छ ।

यहीं बेला मुख्यमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्दै सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाउनु भयो । यसमा माओवादी केन्द्रको धारणा के छ ?

त्यो त सरकारको कुरा हो । उहाँ स्वतन्त्र माननीय हुनुहुन्थ्यो । उहाँ मन्त्री हुनु भएकोमा नै मेरो व्यक्तिगत रुपमा त कमेन्ट केही पनि छैन । निर्वाचित भएर आइसकेपछि मुख्यमन्त्रीकै अधिकारको कुरा रह्यो ।

निर्वाचित नभएर आएको भए पनि सरकारले ६ महिनाभित्र संसदको सदस्यता प्राप्त गर्ने गरी कुनै पनि नेपाली नागरिकलाई मन्त्री बनाउन पाउने मुख्यमन्त्रीको अधिकार छ । यो अस्वभाविक कुरा होइन ।

तर, यो पनि रातारात मन्त्री नियुक्त गर्नु भनेको सत्ता जोगाउने खेल नै हो । सरकार टिकाउने खेलमा स्वार्थको गोटीमात्रै हुनु भएको हो कि भन्ने हो । सरकारले रातारात मन्त्रालय नै फुटाएर सत्ता जोगाउन यस्तो गर्नु हुन्थेन ।

हामीलाई थाहा छ नि, हामी सरकारमा हुँदा पनि एउटै मन्त्रालयमा धेरै कामहरु थुप्रिएको छ । यसलाई विभाजन गर्नुपर्छ । मन्त्रालय विस्तार गरौं । माननीय ज्यूहरुको क्षमता प्रदर्शन गर्ने अवसर पनि मिल्छ, रिजल्ट ओरियन्टेड काम गरौं भन्दा ‘खर्च बढ्छ, प्रभाव राम्रो जाँदैन’ भनेर मन्त्रिमण्डल विस्तार गर्न नमान्नु भएको मुख्यमन्त्रीले रातारात मन्त्रालय फुटाएर मन्त्री बनाउनु भयो । यो सत्ता टिकाउने स्वार्थको खेलमात्रै हो ।

सत्तारुढ दलले कुनै अमुक दलको स्वार्थ पूर्ति गर्न सभामुखले संसद स्थगित गरेको भनेर आरोप लगाइरहेको छ नि ! सभामुख दलीय स्वार्थतिर ढल्किएकै हो त ?

एउटा सभामुखले सांसद सम्पर्कविहीन भएको उजुरीका आधारमा संसद स्थगित गर्नु भएको हो । त्यो पनि उहाँले हठात् रुपमा बन्द गर्नु भएको पनि होइन । जब एउटा दलले ‘आफ्नो सांसद सम्पर्कविहीन छ, महत्वपूर्ण विषयमा छलफल भइरहेको छ । मतदान प्रक्रिया जानुपर्ने छ । त्यस्तोबेलामा सांसद सम्पर्कविहीन भएपछि खोजी गरिपाऊँ’ भन्ने निवेदनका आधारमा संसद स्थगन गर्नु भएको हो ।

त्यो निवेदन माओवादीले दिएको पनि होइन । जनमोर्चाले आफ्नो सांसद सम्पर्कविहीन भएको भनेको छ । सांसद नै सम्पर्कविहीन भएको अवस्थामा सभा कसरी अगाडि बढाउन सकिन्छ र ? उहाँले त अभिभाकत्व ग्रहण गर्नु भएको हो नि !

यो पनि पढ्नुहोस्

‘अब सभामुखले प्रदेश सभा चलाएर देखाउन्, हरेक दिन एउटा सांसद अनुपस्थित गराउँछु’

गण्डकीको ‘खेलकुद’ स् सरकार नढल्ने संकेतपछि सभामुखले बीचमै फुके सिटी ! 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर