तत्काल थप चार कोभिड अस्पताल चाहियो – डीसीसीएमसी धनुषा – Nepal Press

तत्काल थप चार कोभिड अस्पताल चाहियो – डीसीसीएमसी धनुषा

जनकपुरधाम । कोरोना संक्रमितको संख्या तीब्र गतिले बढिरहेको भन्दै डीसीसीएमसी धनुषाले थप चार कोभिड अस्पताल सञ्चालन गर्न प्रदेश २ सरकारसँग आग्रह गरेको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालले जनकपुर नर्सिङ कलेजको भवनमा ६३ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । तर कोरोनाका विरामीको चाप बढ्दै गएकोले उक्त अस्पतालले मात्र धान्न नसक्ने निष्कर्ष निकाल्दै थप चार ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

उनका अनुसार जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवन, सपहीस्थित सीटीइभीटीको भवन, रमदैयास्थित जानकी मेडिकल कलेज र गंगुलीस्थित आयूर्वेद कलेजमा कोभिड अस्पताल सञ्चालन गर्न उपयुक्त स्थान हो ।

मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवनलाई संक्रामक रोक ऐन २०२० बमोजिम प्रदेश सरकारले कोभिड-१९ को प्रकोप अवधिभरका लागि स्वामित्वमा लिइ आवश्यक पूर्वाधार निर्माण गरी कोभिड अस्पताल सञ्चालनमा ल्याउन प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने निर्णय भएको प्रजिअ बास्तोलाले जानकारी दिए ।

त्यस्तै सपहीस्थित सीटीइभीटी र गंगुलीस्थित आयुर्वेद कलेजको प्रयोगविहिन भवनमा यसअघि प्रदेश सरकारले आइसोलेशन सेन्टर सञ्चालन गरेको थियो । दुवै ठाउँमा बेडसहितको अन्य स्वास्थ्य सामग्री र पूर्वाधारसमेत तयारी अवस्थामा रहेकोले तत्कालै कोभिड अस्पताल सञ्चालनमा ल्याउन उपयुक्त रहेको डीसीसीएमसीको भनाइ छ ।

यस्तै कोरोनाका विरामी बढ्दै गइरहेकाले सरकारी, निजी तथा सामुदायिक अस्पतालहरुलाई अक्सिजनको स्टक बढाउन अनुरोध गर्ने निर्णय पनि डीसीसीएमसीको बैठकले गरेको छ । धनुषाका सबै स्थानीय तहले कम्तिमा २०/२० वटाका दरले अक्सिजनका सिलिण्डर तयारी हालतमा राख्न निर्देशन पनि दिइएको छ ।

कोरोना त्रास बढेपछि निजी व्यक्तिले अक्सिजन सिलिण्डर खरिद गरी घर घरमा जम्मा गरेको जानकारी आएको डीसीसीएमसीले जनाएको छ । अब अक्सिजन आपूर्तिकर्ताले अस्पताल, स्वास्थ्य संस्था र स्थानीय तह आदि संस्थाहरुलाई र डाक्टरको प्रेस्क्रिशनबमोजिम मात्र सिलिण्डर दिन निर्देशन दिइएको छ । साथै अर्को निर्णय नभएसम्म अन्य फ्याक्ट्री तथा ग्यारेजलाई अक्सिजन बिक्री नगर्ने व्यवस्था मिलाउनसमेत उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शले समन्वय गर्ने निर्णय भएको छ ।

अक्सिजनको माग ह्वात्तै बढेको तर आपूर्तिकर्ता तथा स्वास्थ्य संस्थासँग सिलिण्डर अभाव देखिएको डीसीसीएमसीले जनाएको छ । त्यस्तै प्रदेश २ सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

डीसीसीएमसी धनुषाले वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म १० दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गर्दै अटेरी गर्नेलाई कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर