एमालेको निर्णय सकुर्लरमा थपघट, युवा नेताले पाए रणनीतिक जिम्मेवारी – Nepal Press

एमालेको निर्णय सकुर्लरमा थपघट, युवा नेताले पाए रणनीतिक जिम्मेवारी

काठमाडौं । चैत १० गते बसेको नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको निर्णय अन्तरपार्टी निर्देशनका रुपमा आउँदा हेरफेर भएको छ । कतिपय नेताका अशन्तुष्टि र कतिपयलाई जिम्मेवारीको भारीलाई सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले केही युवा नेतालाई रणनीति जिम्मेवारी दिएर निर्णयमा हेरफेर गरेका हुन् ।

एमालेले आसन्न चुनावहरुलाई समेत लक्षित गरेर केही युवा नेतालाई सोही अनुसारका जिम्मेवारी दिएको छ । माधव नेपाल पक्षलाई छाडेर संस्थापन पक्षमा लागेका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर अध्यक्ष ओलीले गुटगत होइन व्यक्तिगत रुपमा आउनेलाई पुर्वाग्रह नराखिने सन्देश दिएको नेताहरु बताउँछन् ।

माधव नेपाल पक्ष छाडेका लालबाबु पण्डितले प्रदेश १ को सहइन्चार्ज तथा काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मोरङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।

युवा पुस्ताका चर्चित नेता शेरवहादुर तामाङले केन्द्रीय कार्यालय सचिव, वागमती प्रदेश सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज जस्ता तीन महत्वपूर्ण र एक्सपोजर भूमिका पाएका छन् ।

त्यस्तै संस्थापन पक्षमा लागेका बिष्णु रिजालले यसअघि साबिक नेकपामा पाइरहेको विदेश विभाग उपप्रमुखको अतिरिक्त दैलेख जिल्ला सह–इन्चार्जको भूमिका समेत पाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका युवा नेता सूर्य थापालाई पत्रकारसँग सम्बन्धित क्षेत्रको जिम्मेवारी दिइएको छ । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहिसकेका थापालाई प्रेस चौतारी र सोसँग सम्बन्धित क्षेत्रको इन्चार्जको जिम्मेवारी दिइएको हो ।

गोकुललाई तीन जिम्मेवारी

पूर्व सञ्चारमन्त्री तथा युवा नेता गोकुल बास्कोटालाई १० गतेको बैठकले काभ्रे जिल्ला इन्चार्जमात्र तोकेको थियो । तर अन्तरपार्टी निर्देशनमा बास्कोटालाई अन्य दुई रणनीतिक जिम्मेवारी समेत थपिएको छ ।

बास्कोटालाई गाउँपालिका महासंघको इन्चार्ज र नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठनको इन्चार्जको समेत भूमिका एमालेले दिएको छ । बास्कोटालाई दिइएका दुवै जिम्मेवारी रणनीतिक महत्वका छन् ।

काठमाडौं र भक्तपुर बाहेक ७५ वटै जिल्लामा गाउँपालिकाको सञ्जाल रहेकाले विकास सम्मेलन समेत गर्ने बास्कोटाको योजनालाई उनले पाएको यो जिम्मेवारीले साथ दिएको छ ।

‘सम्बृद्धिको आधार, सक्षम र सबल स्थानीय सरकार’ भन्दै बास्कोटाले केही समयअघिनै विकास सम्मेलनको अवधारणा अघि सारेका थिए । गाउँपालिका महासंघको अध्यक्ष पनि नेकपा एमालेकै होमनारायण श्रेष्ठ छन् ।

त्यस्तै बास्कोटालाई सेवा निवृत्त सेना तथा प्रहरीको संगठन समेत हेर्ने जिम्मेवारी दिएर आगामी चुनावको तयारी एमालेले गरेको छ । भूतपूर्व सैनिक र प्रहरी देशका गाउँ गाउँमा रहेका छन् र उनीहरुको ठूलो सञ्जाल छ ।

पूर्व सैनिक र प्रहरीको क्षमता तथा सिपलाई पार्टी तथा मुलुक निर्माणको अभियानमा लगाउनेृ भन्दै एमालेले तिनीहरुका अलग संगठन बनाएको छ । त्यस्तै पूर्व माओवादी लडाकुहरु पनि अहिले एमालेमा प्रवेश गरेका छन् । उनीहरुको भने अलग संगठन छ ।

युवा र विद्यार्थी इन्चार्जमा युवा नेता

युथफोर्सको संस्थापक कमाण्डर बनेर तत्कालीन माओवादीको लडाकू दस्ता वाईसीएललाई ‘साइज’मा ल्याएका युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले युवा संघकै इन्चार्जको जिम्मेवारी पाएका छन् ।

युवा संघको नेतृत्वबाट बस्नेत बाहिरिएपछि निरु पाल, राजीव पहारी, रमेश पौडेल, रामप्रसाद सापकोटा र बचनवहादुर सिंह अध्यक्ष भइसके पनि अहिलेसम्म बस्नेतकै बर्चश्व रहेको छ ।

बस्नेतले यसअघि पाएको खेलकुद महासंघ इन्चार्जको जिम्मेवारी भने युवा तथा खेलकुद मन्त्री दावा तामाङले पाएका छन् ।

त्यस्तै अनेरास्ववियूको इन्चार्ज खिमलाल भट्टराई भएका छन् । भट्टराई अनेरास्ववियूका पूर्व अध्यक्ष हुन् । अनेरास्ववियू देशब्यापी सन्जाल भएको ठूलो संगठन भएकाले उनलाई सो जिम्मेवारी दिइएको एमाले स्रोतले जनाएको छ ।

अनेरास्ववियूकै पूर्व अध्यक्ष माधव ढुंगेलले विद्यार्थी विशेष जिल्ला कमिटी र पेशागत महासंघ विशेष जिल्ला कमिटी इन्चार्जका जिम्मेवारी पाएका छन् । काठमाडौंमा पेशागत जिल्ला कमिटी भूगोलपछिको महत्वपूर्ण र धेरै सदस्य भएको कमिटी हो ।

एमालेले युवा नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने सिलसिलामा माओवादी केन्द्र छाडेर प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य पदसमेत गुमाउन तयार भएकी ज्वालाकुमारी साहलाई प्रदेश २ को अध्यक्ष बनाएको छ ।

यसअघि साबिक नेकपामा प्रदेश अध्यक्ष प्रभु साह थिए । युवा नेता ज्वाला साह सात प्रदेशमध्ये एकमात्र महिला अध्यक्ष हुन् । माओवादीतर्फका युवा नेतालाई एमालेमा महत्वपूर्ण स्थान मिल्ने सन्देश अ‍ोलीले दिन खोजेका छन् ।


प्रतिक्रिया

One thought on “एमालेको निर्णय सकुर्लरमा थपघट, युवा नेताले पाए रणनीतिक जिम्मेवारी

  1. खिइएको ओलीगुटमा मान्छे नभएपछि बोकाको मुखमा कुबिन्डो जसरी जिम्मेवारी दिइएको रहेछ। त्यहीपनि एमालेमा रणनीतिक जिम्मेवारी रे। हाहाहा।

Leave a Reply to हरि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर