भारतीय कारमा भेटिएका मृत बालकहरूको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ – Nepal Press
अपडेट

भारतीय कारमा भेटिएका मृत बालकहरूको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएकाे आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको छ ।

मृतक तुलसीपुर उपमहानगरपालिका-६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।

उनीहरू तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी मृत भेटिएका थिए ।

तीनैजना बालक वैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको थियो । १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय वासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडिभित्र शव भेट्टाएका थिए । त्यसपछि प्रहरीलाई खवर भएको हो ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो ।

मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कारवाही गर्न माग गरेका छन् ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर-६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार प्रहरी अनुसन्धानकालागि गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर