मुलुकभरका २९ जिल्लामा निषेधाज्ञा, २२ जिल्ला पूर्णरुपमा बन्द, ७ जिल्ला आंशिक – Nepal Press

मुलुकभरका २९ जिल्लामा निषेधाज्ञा, २२ जिल्ला पूर्णरुपमा बन्द, ७ जिल्ला आंशिक

काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयको अहिलेसम्मको विववरण अनुसार शनिबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये २२ जिल्ला पूर्णरुपमा र ७ जिल्ला आंशिक रुपमा बन्द गर्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरिसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सुनसरी र प्यूठान गरेर १५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ भने आज शनिबार राति १२ बजेबाट जाजरकोट र गुल्मी गरेर २ जिल्लामा निषेधाज्ञा जारी हुदैँछ । यस्तै भोलि आइतबार बिहान ६ बजेबाट सल्यान, रुकुम पश्चिम, डडेल्धुरा र आइतबार राति ८ बजेदेखि उदयपुर र राति १२ बजेदेखि झापा गरेर थप ५ जिल्लामा निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

यस्तै बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा जारी भइसकेको छ । बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै दार्चुुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ को बलाँज बजार क्षेत्र, वडा नम्बर २ को देथला बजार क्षेत्र, वडा नम्बर ३ को कर्कले बजार क्षेत्र, वडा नम्बर ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नम्बर ९ को गोकुलेश्वर बजार, कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी भइसकेको छ भने महाकाली नगरपालिकामा भोलि आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी हुदैँछ ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र सुनसरी तथा भातसँग सीमा जोडिएका क्षेत्रमा आज शनिबार राति १२ बजेबाट निषेधाज्ञा जारी हुदैँछ भने गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि आज शनिबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ ।

काभ्रेपलाञ्चोकको अरनिको राजमार्गको साँगादेखि बनेपा बजार–सदरमुकाम धुलिखेल–पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवतीस्म्मको सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको ५ सय मिटर दायाँ–बायाँ क्षेत्र विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २ सय मिटरको क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दायाँ–बायाँ २ सय मिटर क्षेत्रमा भोलि आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ ।

बाजुराको हिमाली गाउँपालिकामा पनि भोलि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ । गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर