कैलालीमा निजी अस्पतालले उपचार गर्न थाले, खर्च प्रदेश सरकारले बेहोर्ने – Nepal Press

कैलालीमा निजी अस्पतालले उपचार गर्न थाले, खर्च प्रदेश सरकारले बेहोर्ने

कैलाली । कैलालीमा सामुदायिक तथा निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गर्न थालेका छन् । सरकारी अस्पतालमा संक्रमितको उपचार गर्न समस्या भइरहेको बेला सामुदायिक तथा निजी अस्पतालले पनि संक्रमितको उपचार गर्न थालेपछि संक्रमितको उपचारमा सहज हुने भएको छ ।

कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालसहितका अन्य १० निजी अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयबिच शुक्रवार कोरोना संक्रमितको उपचार गर्ने सहमति भएको हो । ती मध्ये एक सामुदायिक अस्पतालमा र तीन निजी अस्पतालसँग प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्झौता नै गरिसकेको जनाएको छ ।

कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० बेडको कोभिड वार्ड सञ्चालन हुने छ । निजी अस्पताल नवजीवन अस्पताल र पदमा अस्पतालमा १०–१० बेड र कैलाली अस्पतालमा पाँच बेडको कोभिड अस्पताल सञ्चालनका लागि सम्झौता भइसकेको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

‘अहिले सम्म ३ निजी अस्पतालसँग सम्झौता भइसकेको छ । अन्य पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरूसँग पनि सम्झौता हुन्छ उनले भने, ‘निजी अस्पतालले पनि संक्रमितको उपचारमा सहमति जनाएपछि केहि सहज हुने अपेक्षा गरेका छौँ ।’

कैलाली अस्पतालले संक्रमितको उपचार गर्न थालिसकेको छ । ‘अहिले ३ संक्रमितको उपचार भइरहेको छ’ अस्पतालका प्रमुख जनकराज जोशीले भने ‘यहाँका सबै निजी अस्पताल संक्रमित उपचार गर्न सहमत भएका छन् ।’ उनले अत्तरियास्थित पद्मा अस्पतालले पनि संक्रमितको उपचार सुरु गरिसकेको बताए ।

निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष समेत रहेको जोशीले धनगढीका १० अस्पतालले ५ देखि १० शय्यासम्मको कोभिड वार्ड स्थापना गरेर संक्रमितको उपचार गर्ने जानकारी दिए । शुक्रवार पद्मा अस्पताल र धनगढीस्थित नवजीवन अस्पतालले १०–१० तथा १५ देखि २५ शय्यासम्मका अस्पतालले ५–५ शय्याको कोभिड वार्ड सञ्चालन गर्ने सहमति भएको जोशीले बताए ।

उनका अनुसार धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निसर्ग अस्पताल, सिपी हस्पिटल, केजी हस्पिटल, नोभा अस्पताल, सारथी अस्पताल र ओम आशा अस्पतालले ५–५ शय्याको कोभिड वार्ड सञ्चालन गरेर संक्रमितको उपचार गर्नेछन् ।
१० वटा निजी अस्पतालले ६० शय्या बराबरको कोभिड वार्ड सञ्चालन गर्दा अत्तरियाको सुदूरपश्चिम सामुदायिक अस्पतालले भने ४० बेडको वार्ड स्थापना गर्ने सहमति मन्त्रालयसँग भएको छ ।

उपचार खर्च प्रदेश सरकारले बेहोर्ने
सामाजिक विकास मन्त्रालयसँगको सम्झौताअनुसार कोभिड वार्ड स्थापना गर्न लागेका धनगढी र अत्तरियाका निजी अस्पतालमा उपचार गर्ने सङ्क्रमितको खर्च भने सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्नेछ ।

अस्पतालसँग भएको सम्झौताअनुसार सामान्य संक्रमित दैनिक ३ हजार ५ सय रुपैयाँ, अक्सिजन सर्पोटमा राखिने संक्रमितको दैनिक ७ हजार रुपैयाँ, आइसियुमा भर्ना हुने संक्रमितको १० हजार रुपैयाँ र भेन्टिलेटरमा भर्ना हुनेको दैनिक १५ हजार रुपैयाँका प्रदेश सरकारले खर्च बेहोर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

क्याबिन लगायतका अतिरिक्त सेवा लिने संक्रमितले भने तोकिएको बाहेकका शीर्षकको खर्च आफैँले सम्बन्धित अस्पताललाई तिर्नुपर्ने कार्कीले बताए । अहिलेसम्म सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा मात्र संक्रमितको उपचार हुदैँ आएको छ ।

धनगढीमा गत वर्ष स्थापना गरिएको ५५ शय्याको कोभिड अस्थायी अस्पतालमा अहिले ६० जना उपचाररत छन् भने सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड पनि संक्रमित र सम्भावित संक्रमितले भरिएपछि ग्यालरीमा राखेर उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर