छाँद हालेर रुन समेत नपाइने आर्यघाटका दारुण दृश्यहरु
फाेटाे फिचर
निशान्त सिंह गुरुङ्ग २०७८ वैशाख १८ गते १८:०७
२०७८ वैशाख १८ गते १८:०७

काठमाडौं । पशुपति आर्यघाट सधैंझैं शोकमा डुबिरहेको छ । तर, कोरोना संक्रमित जलाइने विद्युतीय शव दाहगृहको दृश्य भने अघि पछिको तुलनामा एकदमै फरक छ । आफ्नो परिवारजन गुमाउनुको पीडा त छँदैछ, त्यसैमा झन अन्तिम पटक उनीहरूले छुन पनि पाइरहेका छैनन् । कोरोना संक्रमित मृतकको अनुहार त टाढाकै कुरा भयो, शरिरको कुनै पनि भाग नदेखिने गरी ढाकिएको छ ।

नेपाली सेनाको तालिमप्राप्त टोलीले शव व्यवस्थापन गरिरहेको छ । निर्देशन पाउनेबित्तिकै टोली विभिन्न अस्पताल पुग्ने गर्छ । हामी पुग्दा उनीहरू पशुपतिमा शव व्यवस्थापन गरिरहेका छन् । टोलीले अस्पतालमा मृतकको परिवारसँग आवश्यक प्रक्रिया पुर्‍याएर स्वीकृति लिन्छ । त्यसपछि आवश्यक सुरक्षा सावधानी अपनाउँदै टोलीले शववहानमा हालेर पशुपती आर्यघाटमा पुर्‍याउँछ। शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामान निसंक्रमण गर्छन ।

अस्पतालबाट निकालेर मृत शरीरलाई शववाहनमा राख्छन् । त्यसपछि, फेरि त्यसैगरी आफू र वरिपरिका सामानलाई निसंक्रमण गरेर र पशुपतितिर पुर्‍याउँछन् । पशुपति लगेपछि उनीहरू मृतकलाई सलामी दिन कहिल्यै छुटाउँदैनन् । फूलमाला अर्पण गर्न चाहनेलाई सुरक्षित स्थानबाट अवसर दिइन्छ । सलामीपछि शवको दाहसंस्कार हुन्छ । यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको परम्पराअनुसार गराइन्छ । त्यसपछि फेरि निसंक्रमणको सिलसिला चल्छ । उनिहरुले आफूले प्रयोग गरेका सामान डिस्पोछ गर्छन र पुनः प्रयोग गर्न मिल्ने सामानलाई छुट्टै डस्टबिनमा राख्छन् । ती सबै कामपछि उनीहरू सिधै घर वा कार्यालय जान पाउँदैनन् ।

उनीहरू दुई सातासम्म क्वारेन्टाइनमा बस्छन् र शव व्यवस्थापनको जिम्मा अर्को टोलीले पाउँछ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरू फेरि काममा फर्कन पाउँछन् । कोभिड डेस्कबाट खबर कतिबेला आउँछ थाहा हुदैँन । जति बेला पनि पिपिइ सेट, जुत्ता, पञ्जा, गाउन, चश्मा लगायत आवश्यक स्वास्थ्य मापदण्ड पुर्‍याइ टोली तम्तयार हालतमा बसिरहनुपर्छ । खबर आउनेबित्तिक्कै शव बाहनसहित दौडीनुपर्छ ।