जब हामीले अस्पतालको इमर्जेन्सीमा बिरामी ‘सरेन्डर’ गरेर हिँड्यौं – Nepal Press
ब्लग

जब हामीले अस्पतालको इमर्जेन्सीमा बिरामी ‘सरेन्डर’ गरेर हिँड्यौं

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग मेरो सम्बन्ध पत्रकार र नेताभन्दा अलि फरक र अनौपचारिक छ । पचासको मध्य दशकमा त्रिपाठी संसदको सार्वजनिक लेखा समितिको सभापति हुँदा म संसदीय मामिलाको रिपोर्टिङ गर्न अभ्यस्त हुँदै थिएँ ।

यसबीचमा त्रिपाठीका पार्टी परिवर्तन र मेरा सञ्चारगृह परिवर्तन उस्तै रफ्तारमा चले जस्तै सम्बन्ध पनि ‘दाजु भाइ’ कै तहमा रह्यो । मलाई तिमी भनेर सम्बोधन गर्ने र त्यो सम्बोधनलाई ‘कम्फरटेबल’ लाग्ने सीमित नेतामा पर्छन् त्रिपाठी ।

तीन दिनअघि नेपाल प्रेसमा स्वास्थ्य तथा कूटनीति सम्बन्धी बिटको संयोजन गर्ने मित्र बिष्णु शर्माले ‘यो बेलामा स्वास्थ्य मन्त्रीसँग खोप आपूर्ति,कोभिड संकट व्यवस्थापनमा सरकारको तयारीबारे अन्तर्वार्ता गर्नुपर्यो’ भनेपछि मैले उनकै सामुन्नेबाट मन्त्री त्रिपाठीलाई फोन गरेँ ।

सदाझै उनले अनौपचारिक शैलीमै कुरा गर्दै अन्तर्वार्ता गर्ने सम्बन्धी मेरो आग्रहलाई यसरी जवाफ दिए कि म अवाक् भएँ ।

उनले भने, ‘अब भेटघाट बन्द । तिम्रो फुर्तिफार्ती पनि मैले हेरिरहेको छु । अब फुर्ति नगरी जोगिएर घरमै वा अफिसमा प्रोटोकलसहित बस । यसपालिको भेरियन्ट डेन्जर छ, तिमीलाई भाइ भनेर मैले सल्लाह दिएको ।’

त्यसको ठीक दुई दिनपछि त्रिपाठीको मन्त्रालयले भन्यो, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनु हुन हार्दिक अपील छ ।’

यी दुई आग्रहसँग मेरो आफ्नै संयोग कसरी मिल्यो ? यो ब्लगमा छोटकरीमा जानकारी दिन गइरहेको छु । यदि तपाईंहरूले केही मिनेट लगाएर पढ्नुभयो र सुन्नुभयो भने काठमाडौंमात्र होइन समग्र नेपालको अवस्था अहिले कुन मोडमा पुगेको छ भनेर निचोडमा पुग्न सकिन्छ ।

यो ब्लग लेखुन्जेल पनि अस्पतालमा बेड पाइएको छैन र ती मित्र मलाई तारन्तार फोन गरेर भन्दैछन्- ‘के अब मेरी आमाले उपचार नपाएरै मर्नु पर्ने हो त ? यत्रो धन सम्पत्ति र इष्टमित्र अनि वैभव भनेको मेरो सुखका साथीमात्र हुन् त ?’

शुक्रबार साँझ ६ बजे मलाई एकजना मेरा अनन्य मित्रले फोनमार्फत् आमा सिकिस्त बिरामी भएकाले ह्याम्स अस्पतालमा बेड उपलब्ध गराउन पहुँच पुर्‍याइदिनुपर्यो भनेर आग्रह गरे । मैले उनलाई इमरजेन्सीमा लैजाँदै गर्नुस्,बेडको व्यवस्था म मिलाउँला भन्ने आश्वासन दिएँ ।

मेरो आश्वासनपछि उनीहरूले आमालाई इमरजेन्सीमा लगेछन् । अस्पतालका अध्यक्ष आरएस भण्डारीलाई फोन  गरेर ‘हेलो’ भन्न नपाउँदै उनले उताबाट भने, ‘मामा अस्पतालहरूमा बेड छैनन्,सुरक्षित भएर बस्नु होला है ।’

जुन कामका लागि फोन गरेको थिएँ,त्यो भन्न नपाउँदै अस्पतालका अध्यक्षले यस्तो भनेपछि मात्र काठमाडौं विकराल अवस्थामा पुगिसकेको अनुभूति भयो । नभन्दै उनले मेरो आग्रहमा पनि अस्पतालमा बेड निकाल्न सकेनन् ।

इमरजेन्सीबाट चाँडो आइसियु बेड भएको अस्पतालमा लैजान ताकेता गरिरहेका थिए । म आफैं अस्पताल पुगिसकेको थिएँ । एउटा कुनामा बसेर मेडिसिटीदेखि ग्रीनसिटीसम्म,मनमोहनदेखि महेन्द्रनारायण निधी अस्पतालसम्मका साथीहरूलाई फोन गर्दा ‘सरी बेड त छैन’ भन्ने निरीह जवाफबाहेक केही पाइएन ।

एउटासम्म बेड निकाल्न तयार भएका केही अस्पताल एकाएक पछि हट्न थाले । सरकारी कोभिड अस्पतालमा बेड त के इमजरजेन्सीमा पनि ठाउँ पाउने अवस्था देखिएन । अस्पताल नामका साइनबोर्डमात्र झुण्ड्याएर बसेका मुग्लिङका भोजनालय शैलीले बिरामी तान्ने ठाउँमा समेत हामीले एउटा बेड पाउन सकेनौं ।

काठमाडौं उपत्यकाभित्रका कुनै पनि अस्पतालमा बेड नपाइने भएपछि हामीले झापा र मोरङका अस्पतालमा पनि खोज्यौं । बेड भेटियो भने रातारात अक्सिजनसहितको एम्बुलेन्सबाट वा बिहानै हेलिकोप्टरबाट बिरामी लैजाने साेचमा ।

तर नेपालभरकै अस्पतालमा आइसियु र भेन्टिलेटर मात्र होइन, सामान्य बेडको समेत हाहाकार भइसकेको रहेछ । मेरो मित्र, जो राम्रो व्यापार व्यवसाय गर्छन् र आफ्नो क्षेत्रमा इमानका कारण प्रतिष्ठित छन् । उनी आमाको जीवन जोगाउन जति पनि पैसा खर्च गर्न तयार थिए ।

तर पैसा पनि सामान्य अवस्थामा मात्र काम लाग्ने रहेछ । आज उनीसँग भएको पैसा पाँचतारे होटल सरह सुविधा र शुल्क लिने अस्पतालका लागि पनि प्रयोजनविहीन भयो ।

अस्पताल खोज्दा खोज्दै रााति साढे १२ बज्यो । त्यसपछि त सबैका फोन अफ । काेही त उठाउन पनि छाडे । म हारेको सिपाही जस्तै भएर  साथी र उनका परिवारसँग माफी मागेर घर फर्किएँ । ‘भोलि बिहान फेरि प्रयास गरौंला’ भन्ने फुको आश्वासनसहित म हिँडें ।

अस्पतालको प्रांगणमा एम्बुलेन्स रोकिएका छन् । चार घण्टादेखि बिरामी एम्बुलेन्सभित्र राखेर आफन्तले एउटा बेडको याचना गरिरहेका छन् तर कुनै पनि अस्पतालसँग ‘सरी हामीकहाँ बेड छैन,हेर्न सक्नुहुन्छ’ भन्ने बाहेक कुनै पनि जवाफ छैन ।

इमरजेन्सीबाट स्वास्थ्यकर्मीले बिरामीलाई आइसियु बेड भएको अस्पताल लैजान दबाब दिइरहेका थिए । केहीबेर नोकझोक पनि चल्यो । तर त्यसको कुनै अर्थ थिएन । यसमा न हाम्रो दोष थियो न त ती फ्रन्टलाइनर स्वास्थ्यकर्मीको ।

हामी अस्पताल नपाइ इमरजेन्सीमा कम्तिमा अक्सिजनको सहाराले बाँचरिहेकी आमालाई सडकमा मृत्युवरण गराउनुभन्दा अस्पतालमै ‘सरेण्डर’ गर्ने निष्कर्षमा पुग्यौं । बिरामीलाई छाडेर हामी एक प्रकारले छलिएर हिड्यौं ।

बिहान ६ बजेदेखि फेरि अस्पताल खोज्न थालियो । हिजो बेड दिन सकिएन भन्दै ग्लानीभावका साथ कतिपय अस्पतालका सञ्चालक मित्रहरूले फोन गरेर माफी मागे । तर मैले खोजेको माफी होइन जीवन बचाउने एउटा आइसियु बेड थियो । जुन उनीहरूको पनि बुता बाहिर पुगिसकेको रहेछ ।

केही अस्पतालमा बेड खोज्न जाने क्रममा जे देखियो र भोगियो त्यसले हामीकहाँ अहिले टेलिभिजनमा देखिने भारतका हृदयविदारक दृष्यहरु नजिकै आइसकेको बुझियो । मान्छे आफैंलाई नपरी र आफैंले नभोगी कोभिडबाट डराउने प्राणी होइन भन्ने कुरा हाम्रा आफ्नै गतिविधिले पुष्टि गरिसकेका छन् ।

अस्पतालको प्रांगणमा एम्बुलेन्स रोकिएका छन् । चार घण्टादेखि बिरामी एम्बुलेन्सभित्र राखेर आफन्तले एउटा बेडको याचना गरिरहेका छन् तर कुनै पनि अस्पतालसँग ‘सरी हामीकहाँ बेड छैन,हेर्न सक्नुहुन्छ’ भन्ने बाहेक कुनै पनि जवाफ छैन ।

यो ब्लग लेखुन्जेल पनि अस्पतालमा बेड पाइएको छैन र ती मित्र मलाई तारन्तार फोन गरेर भन्दैछन्- ‘के अब मेरी आमाले उपचार नपाएरै मर्नु पर्ने हो त ? यत्रो धन सम्पत्ति र इष्टमित्र अनि वैभव भनेको मेरो सुखका साथीमात्र हुन् त ?’

मसँग मेरा मित्रलाई दिने जवाफ छैन,६ वर्षअघि भूकम्पले मेरो भत्काएर ७२ वर्षको बुबालाई खुला आकासमुनि सुताउँदा मैले आफूलाई जति निरीह महसुस गरेको थिएँ त्यो भन्दा फरक छैन अहिले । त्यो महाविपत्ति आकस्मिक थियो,यो चाहिँ हाम्रो लापरवाही पनि ।

तपाईंहरू जो जहाँ हुनुहुन्छ सकेसम्म बाहिर ननिस्कनुस् । मलाई पनि लाग्थ्यो लकडाउन समाधान होइन । तर जब म आफैंले अस्पतालहरूका  दृष्य देखेँ र भोगेँ । त्यसपछि यो निष्कर्षमा पुगेको छु कि जो लापरवाही ढंगले बाहिर निस्कन्छ उसले अस्पतालभित्र ठाउँ पनि पाउने अवस्था छैन ।

त्यो भूकम्प र यो महामारीबीच मैले पाएको एउटै समानता के हो भने,त्यसबेला धनी र गरिब सबै घरबाहिर खुला आकासमुनि पालभित्र आइपुगेका थिए,अहिले धनी र गरीब सबै अस्पताल बाहिर आइपुगेका छन् । राज्यसँग पर्याप्त पूर्वाधार नहुँदा व्यक्ति जति धनी भए पनि त्यो धन आफ्नै ज्यान जोगाउन काम लाग्ने रहेनछ भन्ने यो महामारीले बुझाउँदैछ ।

म स्वास्थ्य क्षेत्रको विज्ञ होइन । के गर्दा यो महामारी नियन्त्रण तथा जनजीवनको कम क्षतिमा यो विपत्तिबाट जोगिन सकिन्छ भन्ने मौसमी टिप्स मसँग छैनन् । सामाजिक सञ्जालबाट निन्दा,कुण्ठा र गाली ओकलेर यो विपत्तिलाई जितिन्छ भन्ने भ्रममा पनि छैन ।

तर दुई दिनको आफ्नै अनुभवले यति चाहिँ सरकारलाई सुझाव दिन सक्ने भएको छु,तत्काल स्वास्थ्य संकटकाल घोषणा गरौं । सरकारी, निजी सबै स्वास्थ्य संस्थाहरू राज्यले सञ्चालन गरौं ।

एक दुई दिनमै पार्टी प्यालेस,रंगशाला लगायतका ठूला पुर्वाधारयुक्त ठाउँमा अक्सिजनसहितका आइसोलेसन वार्ड तयार पारिहालौं  ।

देशभित्र कति भेन्टिलेटर छन्,कति आइसियु बेड छन् ? आइसियु बेड थप्न कसरी सकिन्छ ? त्यसको आँकलन गरेर सबै शक्ति लगाएर चीन लगायत देशहरुबाट भेन्टिलेटर ल्याउन नपाल बायुसेवा निगमलाई तयारी हालतमा राखौं ।

एकपटक राज्यको,सरकारको सबै शक्ति यो विपत्तिसँग जुध्न प्रयोग गरौं । तर सरकारले जति गरे पनि नागरिक नै यो विपत्तिबाट जोगिन सावधान हुनुको विकल्प देखिएन । आफू र आफ्नै आफन्तलाई नपरेसम्म कोभिड केही होइन भन्ने अति विश्वास नै सन्निकट संकटको कारक हुनेछ ।

यति भनिसकेपछि अर्ति मात्र दिन्छस् कि आफैंबाट सुरुवात  गर्छस् भन्ने प्रश्न पनि आउन सक्छ । मेरो नेतृत्वको सञ्चारगृहका केही खबरकर्मी दोस्रो भेरियन्टको सिकार भइसकेका छन् । आज हरेक न्युजरुममा संक्रमण पसिसकेको छ ।

सरकारले लकडाउनको बेला सञ्चारकर्मीलाई छुट दिएको छ सडकमा निस्कन । तर हामीलाई थाहा छ,प्रेस भिरेर हिँडेपछि कोरोना भाग्दैन बरु त्यसले पछ्याउँछ । अधिकतम मापदण्डभित्र रहेर हामी खबरकर्ममा संलग्न भएका छौं ।

तपाईंहरू जो जहाँ हुनुहुन्छ सकेसम्म बाहिर ननिस्कनुस् । मलाई पनि लाग्थ्यो लकडाउन समाधान होइन । तर जब म आफैंले अस्पतालहरूका  दृष्य देखेँ र भोगेँ । त्यसपछि यो निष्कर्षमा पुगेको छु कि जो लापरवाही ढंगले बाहिर निस्कन्छ उसले अस्पतालभित्र ठाउँ पनि पाउने अवस्था छैन ।

यो कुरा मैले कसैलाई अत्याउन वा अवस्था भयावह भएको देखाउनलाई लेखिरहेको छैन । देखेको र भोगेको अनि सम्भातिव परिदृष्यबारे विज्ञहरूसँगको कुराकानीपछि लेखेको यो ब्लगमा आचारसंहिताका कारण भवितब्यका कतिपय कुरा त सेल्फ सेन्सरसिपमा परेका छन् ।


प्रतिक्रिया

One thought on “जब हामीले अस्पतालको इमर्जेन्सीमा बिरामी ‘सरेन्डर’ गरेर हिँड्यौं

  1. दाईको यो आलेखबाट धेरैले सिक्नु पर्ने देखिन्छ । यो बेला पैँशा हुने र नहुनेमा केहि भिन्नता छैन । केवोल मानिसको जिवन अस्पतालमा बेड नपाएर मर्नु र बाँच्नुको दोेरमा छ । यो लेख एउटा उदाहरण मात्रै सीमित छैन । त्यसकार घरमै बसौँ आफू सुरक्षित भए मात्र अरु पनि सुरक्षित हुन सक्छन ।

Leave a Reply to keshar Cancel reply

Your email address will not be published. Required fields are marked *