श्रमको सम्मान गर्ने वातावरण अझ राम्रो बनाउँछौं : मुख्यमन्त्री पोखरेल – Nepal Press

श्रमको सम्मान गर्ने वातावरण अझ राम्रो बनाउँछौं : मुख्यमन्त्री पोखरेल

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले श्रम शक्तिको सम्मानको वातावरण बन्दै गएको र यो नेपाली समाजका लागि खुशीको विषय भएको बताएका छन् ।

श्रमिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत् उनले श्रम शक्तिको विकास र सम्मानको वातावरणवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव भएको बताए । मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘श्रम शक्तिको सम्मानको वातावरण अझ राम्रो बनाउन हामी दृढ संकल्पित छौं ।’

नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयको दृष्टिले हेर्ने गरिएको र श्रमका कतिपय क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता नदेखिनुको प्रमुख कारक हेयको दृष्टिले हेर्ने सामाजिक मान्यता भएको उनको भनाइ छ । जसबाट वर्षेनी अरबौंको पुँजी रेमिट्यान्सका रुपमा पलायन मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

‘मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२/०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलताबाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिक वर्गको सहभागिता र बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवादउन्मुख राज्य व्यवस्थाको स्थापना गरेको छ, शुभकामना सन्देशमा भनिएको छ ।

संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित रहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

श्रमिक वर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको उनले बताए । ‘स्वदेशमा कार्यरत श्रमिकहरूको बैंकर्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १२ हजार रोजगारदाता र दुई लाख श्रमिक आबद्ध गरिएको छ । यो कार्यक्रमलाई अझ विस्तार गर्दै अघि बढ्नुपर्नेछ, ’ सन्देशमा उल्लेख छ ।

सुरक्षा मादण्ड पालना गर्न आग्रह

मुख्यमन्त्री पोखरेलले नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अपील गरेका छन् ।

कोरोनाविरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढिरहेको र यो यात्रामा नागरिक सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ ।

महामारी सुरु भएपछि स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति बढाइएको उनले बताए । लुम्बिनी प्रदेशमा चारवटा कोरोना विशेष अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार अघि बढाइएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

यी अस्पतालसहित अन्य अस्पतालमा समेत कोरोना संक्रमितको उपचारका लागि क्षमता बढाउने गरी काम भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर