प्रहरीको मिलेमतोमा लकडाउनमा पनि खोला उत्खनन् – Nepal Press

प्रहरीको मिलेमतोमा लकडाउनमा पनि खोला उत्खनन्

दाङ । प्रहरीको मिलेमतोमा दाङमा लकडाउनमा पनि नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ ।

लुम्बिनी/जलजला कन्ट्रक्सनले लकडाउनको अवज्ञा गर्दै भमके खोला र पातुखोला दोभानमा नदीजन्य पदार्थको दोहन गरेको हो । दंगिशरण गाउँपालिकाले वैशाख १२ गतेदेखि लागू हुनेगरी २ हजार घनमिटर ग्राभेल उत्खनन् गर्न अनुमति दिएको थियो ।

१७ गतेदेखि लकडाउन भएपछि गाउँपालिकाले उत्खनन् रोक्न निर्माण कम्पनीलाई भनेको थियोे । तर,निर्माण कम्पनीले प्रहरीको संरक्षणमा लकडाउन उलंघनगरी धमाधम ग्राभेल ओसारपसार गरिरहेको छ ।

गाउँपालिका प्रमुख भागिराम चाैधरीले लकडाउनमा काम रोक्न भनेको नेपाल प्रेसलाई बताए । लकडाउन उलंघनगरि ग्राभेल उत्खनन् भइरहेको बारेमा प्रहरी बेखबर भने छैन ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले सिडोओ कार्यालयबाट निर्देशन नआएकाले लकडाउन उलंघन गर्नेलाई कारबाही गर्न नसकिएको बताए । दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले लकडाउनमा खोला उत्खनन् गर्न नपाइने बताए ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पाैडेलले लकडाउनमा खोला उत्खनन् नपाइने भन्दै तत्काल रोक्न निर्देशन दिने बताए ।

प्रहरी र प्रशासनका अधिकारीले लकडाउनमा खोला उत्खनन् रोक्ने बताए पनि पातु र भमके खोला दोभानमा काम धमाधम भइरहेको छ ।

जिप्रकाबाट खटिएका सादा पोशाकका प्रहरीले दिनभरि उत्खनन् स्थलमा ड्युटी गर्ने गरेका छन् । जसकाकारण लकडाउन उलंघनगरी उत्खनन् गर्नेहरूको मनोबल बढेको छ ।

प्रहरीका हाकिमसँगको सेटिङका कारण लकडाउनमा पनि निर्वाध काम भइरहेको एक प्रहरी अधिकारीले नेपाल प्रेसलाई बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर